
आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ । आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो ।
नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले २१–२१, आसिफ शेखले २०, रोहितकुमार पौडेलले १८ र करण केसीले अविजित १७ रन जोडे ।
क्यानडाका लागि बलिङतर्फ सुखजिन्दर सिंहले ३, कलिम सना र शील पटेलले २–२ विकेट लिए । त्यसअघि अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो । उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो ।
आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे । नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए ।
यो हारपछि नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा झरेको छ । शीर्ष छमा स्थान बनाउन नेपालले अब अन्तिम खेलमा ओमानविरुद्ध जित्नैपर्ने समीकरण बनेको छ । नेपाल र ओमानबीचको खेल सोमबार हुने तालिका छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै आफू नेतृत्वमा रहँदा चुकेको अवस्थामा सभापतिबाट हटाएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले आफ्नो व्यक्तिगत कमजोरीको भार पार्टीले बोक्न नहुने बताएका हुन् ।
सभापति थापाले आफ्नो व्यक्तिगत, पारिवारिक, आर्थिक जीवन र सम्बन्धका हरेक पक्षमा सचेत तथा जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरे । लाखौँ नेता–कार्यकर्ताको रगत, पसिना र योगदानबाट बनेको पार्टी सार्वजनिक सम्पत्ति भएकाले व्यक्तिका गल्तीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको भनाइ थियो ।
‘कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन,’ थापाले भने, ‘व्यक्तिले गरेका गल्तीको भार व्यक्तिले नै बोक्नुपर्छ, पार्टीले होइन । मेरो कमजोरीको जिम्मेवारी म आफैँ लिन्छु । यो मेरो प्रण हो ।’
मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै थापाले दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य हुनु गम्भीर विषय भएको बताए । रातारात चमत्कार गरेर युवालाई स्वदेश फर्काउन नसकिए पनि नेपालमै स्वाभिमानका साथ बाँच्न सक्ने वातावरण निर्माणका लागि कांग्रेसले इमानदार प्रयास गर्नुपर्ने उनले बताए ।
‘हामी रातारात चमत्कार गरेर उनीहरूलाई फर्काउन सक्दैनौँ, तर स्वाभिमानका साथ नेपालमै बस्न सक्ने वातावरण बनाउन इमानदार प्रयास गर्न सक्छौँ,’ उनले भने, ‘त्यसो गर्न सक्यौँ भने मात्रै नेपाली कांग्रेस हुनुको अर्थ रहन्छ ।’
सभापति थापाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्ने र व्यवस्थापन गर्ने जिम्मेवारी आफूले लिने पनि स्पष्ट पारे । उनले नेता तथा कार्यकर्तालाई निराशा र गुनासामा अल्झिनुभन्दा काममार्फत जनताको विश्वास जित्न आग्रह गरे ।
‘पार्टीभित्रका असन्तुष्ट साथीहरूलाई समेट्ने जिम्मेवारी मलाई छाडिदिनुहोस् । म त्यो जिम्मेवारी पूरा गर्नेछु,’ उनले भने, ‘अब सबै साथीहरू आफ्नो काम र कर्ममार्फत पार्टीका कार्यकर्ता तथा नागरिकमाझ जाऔँ र उनीहरूका समस्यामा काम गरौँ ।’
कांग्रेसलाई सकारात्मक सोच, ऊर्जा र आशाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै थापाले पार्टीका तल्लो तहका कार्यकर्ता तथा आम नागरिकका सुख–दुःखमा प्रत्यक्ष जोडिन आह्वान गरे ।
उनले पार्टीसामु चुनौती धेरै भए पनि अवसरसमेत प्रशस्त रहेको उल्लेख गर्दै निराशालाई चिरेर सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्ने बताए ।
‘अब निराशा होइन, कर्म र परिणामबाट जनताको विश्वास जित्ने समय आएको छ,’ थापाले भने ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए ।
आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो ।
आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार २६४ जनाको नाम हटाएको शुक्रबार विज्ञप्ति निकालेर बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादशैं तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद वा कुनै पनि प्रकारको सुविधा नलिन र नदिन अपिल गरेको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
विज्ञप्तिमा महामन्त्री आचार्यले भनेका छन्, ‘दशैंको आशिष, तिहारको भाइटीका र छठको अगाध आस्थाले बोक्ने साझा सन्देश निःस्वार्थ प्रेम र सद्भाव हो । चाडपर्वमा हुने भेटघाट र खुसी साटासाटको सुन्दरता पनि यही निःस्वार्थपनमा निहित छ । यसै यथार्थलाई मनन गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापनाकालदेखि नै शुभकामना आदानप्रदान गर्ने क्रममा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा लिने–दिने कार्यलाई पूर्णतः निरुत्साहित गर्दै आएको छ । सधैँ झैँ हामी यही मान्यतामा अडिग छौँ र सम्बन्धित सबैमा यसको अनुसरणका लागि हार्दिक अपिल गर्दछौँ ।’
उनले राजनीतिमा नागरिकको सद्भाव र विश्वास नै मुख्य कुरा भएको उल्लेख गर्दै भनेका छन्, ‘चाडपर्वमा हामी जसरी परिवार र आफन्तबाट केवल आशीर्वादको अपेक्षा गर्छौँ, त्यसरी नै राजनीतिमा पनि हाम्रा लागि नागरिक र अन्य सबैको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो ।’
रास्वपाले मर्यादित, सुसंस्कृत र भरोषायोग्य राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो अडानमा स्पष्ट रहँदा अरूले तपाईंको कुरा बुझ्नेछन्। कसैलाई पैसा सापटी दिनुअघि फिर्ता पाउने समयबारे कुरा मिलाउनुहोला। हतारमा बोलेको शब्दले विवाद बढाउन नदिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामान किन्दा अरूको रोजाइभन्दा आफ्नै आवश्यकतालाई हेर्नुहोला। पढाइ वा सीप सिक्ने काममा अलि बढी अभ्यास गर्नुपर्ने देखिन्छ। खानाको समय नमिल्दा असहज महसुस हुन सक्छ, त्यसैले नियमित खानुहोस्। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कुनै विषयमा आफ्नो कुरा राख्ने मौका मिल्दा डर नमानी स्पष्ट बोल्नुहोला। साथीको समस्यामा सुझाव दिनुअघि उसको कुरा पूरा सुन्नुहोस्। दिनभरको व्यस्तताबीच आफूलाई मन पर्ने कामका लागि पनि केही समय छुट्याउनुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा आवश्यक सामानको सूची बनाएर किनमेल गर्दा खर्च नियन्त्रणमा रहनेछ। आफन्तसँगको कुराकानीमा पुरानो विषय उठे पनि रिसाएर जवाफ नदिनुहोला। आफ्नो काम अरूको भरमा छोड्दा ढिलाइ हुन सक्छ त्यसैले आवश्यक कुरा आफैँ गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूले जिम्मा दिएको काम पूरा गरेर आफ्नो भरोसा कायम राख्न सकिनेछ। कुनै कार्यक्रममा सहभागी हुने अवसर आए आफ्नो रुचि र समय दुवै विचार गर्नुहोला। प्रशंसा सुन्दा नम्र रहनु र गल्ती हुँदा स्वीकार्नु राम्रो हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बिग्रिएको हिसाब वा छुटेको विवरण मिलाउने काममा ध्यान जानेछ। सानो गल्तीका कारण आफैँलाई दोष दिइरहनुभन्दा त्यसलाई सच्याउने उपाय खोज्नु उचित हुन्छ। लामो समय एउटै ठाउँमा बसेर काम नगर्नुहोस्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ८ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो सामान अरूलाई दिँदा फर्काउने समय पहिल्यै बताउनुहोला। घरको सजावट वा पहिरनमा परिवर्तन गर्ने सोच आए खर्चको सीमा नाघ्न नदिनुहोस्। कसैसँग मनमुटाव भए अरूको कुरा सुनेर धारणा बनाउनुभन्दा सीधै सोध्नु राम्रो हुन्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कुनै प्रस्ताव स्वीकार गर्नुअघि त्यसबाट आउने फाइदा र अप्ठ्यारो दुवै बुझ्नुहोला। घरको सुरक्षामा ध्यान दिँदा ढोका, चाबी र आवश्यक सामान जाँच्नु उपयोगी हुनेछ। काममा आफ्नो अधिकार र जिम्मेवारी स्पष्ट राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ ठाउँ जाने वा कुनै कार्यक्रम हेर्ने अवसर मिल्न सक्छ। यात्रामा निस्कनुअघि बाटो र फर्कने समय तय गर्नुहोला। पढाइमा अल्झिएको विषय दोहोर्याएर अभ्यास गर्दा बुझाइ बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
घरको खर्च र व्यक्तिगत आवश्यकताबीच मिलाउनुपर्ने अवस्था आउन सक्छ। अरूले दिएको जिम्मेवारी स्वीकार्नुअघि त्यसका लागि पर्याप्त समय छ कि छैन विचार गर्नुहोला। ढाड वा खुट्टा दुख्ने गरी लगातार काम नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
समूहमा काम गर्दा सबैको कुरा सुनेपछि आफ्नो निर्णय सुनाउनुहोला। सार्वजनिक काममा सहभागी हुँदा आफ्नो जिम्मेवारी पूरा गर्नु नै मुख्य हुनेछ। फुर्सदमा नयाँ कुरा पढ्ने वा सिक्ने बानीले उपयोगी ज्ञान थप्नेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घरमा थन्किएका कागजपत्र र आवश्यक सामान मिलाएर राख्ने काम पूरा हुनेछ। कसैलाई सहयोग गर्दा आफूलाई अप्ठ्यारो पर्ने गरी वचन नदिनुहोला। किनमेलमा सस्तो मूल्य मात्र नहेरी सामानको गुणस्तर पनि जाँच्नुहोस्। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ४ रहेको छ।
ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपाल र क्यानडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो । क्यानडा शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा छ ।
नेपाल पनि लगातार तेस्रो जित निकालेर शीर्ष छमा स्थान सुरक्षित गर्ने योजनामा छ । नेपालले जित निकालेमा एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिपूर्वक फूलपाती भित्र्याइँदैछ । घटस्थापनादेखि दुर्गा स्थापना गरिएको दशैंघर तथा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका वनस्पति (नवपत्रिका) भित्र्याउने धार्मिक परम्परा छ ।
धार्मिक मान्यताअनुसार यी नौ वनस्पति नवदुर्गाका सहायक देवीहरूका प्रतीक हुन् । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी शास्त्रीय विधिपूर्वक शक्तिको आराधना गरिन्छ ।
यसैबीच, ऐतिहासिक हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइँदैछ । गोरखाबाट धादिङको जीवनपुरसम्म मगर समुदायका पुजारीहरूले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म ब्राह्मणहरूले बोकेर ल्याउने परम्परा रहिआएको छ। जमलबाट भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गुर्जुको पल्टन, निजामती सेवाका उच्च अधिकारी तथा सांस्कृतिक बाजागाजा र लावालस्करसहित भव्य शोभायात्राका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याइन्छ ।





