
नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त गरेको बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत तामाङ बम्पर उपहारका लागि छनोट भएकी हुन्। उनले दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेकी थिइन्। उक्त खरिदको बिल नम्बरबाट प्राप्त कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक उपहारका विजेता घोषणा गरेका थिए। विजेता घोषणा भएपछि कलाकारद्वयले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी दिएका थिए।
विभागका अनुसार बम्पर उपहारबाहेक असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेतासमेत छनोट भएका छन्।
प्रत्येक दिन एक जनाका दरले छनोट भएका उनीहरूले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। दैनिक उपहारको घोषित राशि एक लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ।
दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुला गरिएको छ।
नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट शनिबार बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका सञ्चालनमा ल्याएको हो।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले नाका खुल्ने प्रतीक्षामा लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको जानकारी दिए। उनका अनुसार चीनको सिचाङस्थित न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा छन्।
चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। अस्थायी रूपमा नाका खुलेपछि चाडपर्वका लागि आवश्यक सामग्री भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ।
बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।
घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ ।
हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको छ । गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ ।
दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् ।
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको विकासमा संस्थागत सहयोग पुर्याउनु रहेको बताएका छन् ।
अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ ।
यसअघि क्लबस्तरमा केन्द्रित रहेको सहभागिता यसपटक भने राष्ट्रियस्तरमा व्यावसायिक साझेदारका रूपमा विस्तार गरिएको उनले बताए । दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ ।
उनले भने, ‘नेपाल टेलिकमले यसअघि पनि नेपाल क्रिकेट संघ र यसले आयोजना गर्ने विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । यसपटक भने राष्ट्रियस्तरमा दूरसञ्चार सेवा प्रदायकका रूपमा व्यावसायिक साझेदार बनेर एनपीएलमा सहभागी हुन लागेका छौँ। यसको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेटको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सहयोग गर्नु हो ।’
उनले एनपीएलको प्रायोजनलाई व्यावसायिक प्रवद्र्धनमा मात्र सीमित नभई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोडेर हेरिएको बताए ।
नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उन्नत बनाउन सहयोग पुर्याउने उद्देश्यले प्रायोजन गरिएको उनले स्पष्ट पारे।
अधिकारीले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता प्राप्त भएको विषयमा नेपाल क्रिकेट संघलाई बधाईसमेत दिए । उनले यसलाई नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण उपलब्धि तथा कोसेढुङ्गाका रूपमा व्याख्या गरे ।
उनले भने, ‘यो प्रायोजनलाई व्यावसायिक प्रवद्र्धनमा मात्र सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का रूपमा पनि हेरेका छौँ । नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा थप उन्नति गर्न एनपीएलमार्फत सहयोग पुग्ने विश्वास लिएका छौँ । एनपीएलले आईसीसीबाट औपचारिक मान्यता प्राप्त गर्नु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि र कोसेढुङ्गा हो । यसका लागि नेपाल क्रिकेट संघलाई बधाई दिँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दछु ।’
आगामी दिनमा एनपीएल अघिल्ला दुई सिजनभन्दा अझ व्यापक, परिष्कृत र दर्शकमाझ लोकप्रिय हुने विश्वास व्यक्त गर्दै अधिकारीले प्रतियोगिताले नेपालसहित अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा समेत विशिष्ट प्रभाव पार्ने अपेक्षा गरे । उनले एनपीएलको सफलताका लागि नेपाल क्रिकेट संघलाई शुभकामना दिँदै प्रायोजनका लागि नेपाल टेलिकमलाई छनोट गरेकोमा धन्यवाद व्यक्त गरे ।
एनपीएलमार्फत कम्पनीको व्यावसायिक प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने अवसर प्राप्त भएको उल्लेख गर्दै अधिकारीले यस सहकार्यले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटासुमो गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन् ।
आइतबार बिहान करिब २ः३० बजे को.१ ज २९७६ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार दुर्घटनास्थलबाट तीन महिलाको शव फेला परेको छ । मृतक महिलाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ओखलढुंगाका २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक घाइते भएका छन् । घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ ।
चालकको भनाइअनुसार दुर्घटनापछि थप तीन जना बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले बेपत्ताहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । काठमाडौं परिसरको प्रहरी टोलीले उनलाई आइतबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले भट्ट पक्राउ गरेको जानकारी दिए । उनका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले भट्टमाथि थप अनुसन्धानको प्रक्रियाबारे प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।





