
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा सञ्चालित उक्त ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे नै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीमा परी क्यान्टिनमा काम गर्ने झापाको गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँसहित करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
यसैबीच, सोही ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालको मार्बल तथा टाइल्स गोदाममा समेत सामान्य आगलागी भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगितामा आइसिसी विश्वकप लिग–२ का अन्तिम चार टोली तथा आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठवटा टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको शीर्ष चारमा स्थान हासिल गर्ने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । नेपालसामु लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने अवसर छ ।
यसैबीच, प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला पूर्वनिर्धारित तालिकामा नहुने भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा नेपाल र भारत ‘ए’ बीचको नयाँ खेल तालिका तय गरिने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपिएलका सबै खेलले उक्त मान्यता भएका हुन् ।
आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएपछि एनपिएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछ ।
‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने क्यानका सचिव पारस खड्काले बताउनुभयो । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । यसपालि पनि लिगमा आठवटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ।
विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दशैंको टीका लगाउने क्रम जारी छ ।
आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ ।
दशैंको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ।
हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ । वैष्णव परम्परामा यस एकादशीलाई विशेष महत्त्वका साथ लिइन्छ । यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा–आराधना गर्ने धार्मिक मान्यता छ ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यस एकादशीको व्रत र भगवान् विष्णुको उपासनाले पापबाट मुक्ति प्राप्त हुने विश्वास गरिन्छ । यस दिन व्रत बस्ने, फलाहार गर्ने, पूजा–पाठ गर्ने तथा एकादशी महात्म्यको कथा श्रवण गर्ने चलन छ ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।




