२०८३ कार्तिक १० गते सोमबार
२०८३ कार्तिक १० गते सोमबार

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै सात टोलीका लोगो अंकित ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक गरेको छ ।

एनपीएलको उत्साहलाई क्रिकेट समर्थकमाझ अझ नजिक पुर्‍याउने उद्देश्यले विशेष संस्करणका क्यान ल्याइएको कम्पनीले जनाएको छ । यी क्यानमा प्रतियोगितामा सहभागी सात टोलीका लोगो राखिएका छन् ।

 

कम्पनीका अनुसार स्पेसल एडिसन क्यानले समर्थकलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र गर्व व्यक्त गर्ने अवसर प्रदान गर्नेछ । क्रिकेट हेर्दा वा साथीभाइसँग टोलीबारे चर्चा गर्दा पनि समर्थकले आफ्नो मनपर्ने टोलीको लोगो अंकित क्यान रोज्न सक्नेछन् ।

स्पेसल एडिसन क्यानहरू नजिकका पसल तथा बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । 

आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो । 

प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ । प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ । 

 यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडकाले बताए । 

दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।  

चल्दै गरेको बोटको इन्जिन बन्द हुँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यु भएको छ भने एकको उपचार भईरहेको छ भने एक जना बेपत्ता छन् । दुर्घटनापछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार सम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गरेका हुन् ।

बडादशैँको समापनका दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना तथा दर्शन गर्ने ऐतिहासिक र सांस्कृतिक परम्परा रहिआएको छ । सोही परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल आइतबार अपराह्न भक्तपुर पुगेका थिए ।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले स्वागत गरेका थिए ।

पूजाअर्चनाका क्रममा मन्दिर परिसरमा परम्परागत नवदुर्गा नाचसहित विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । राष्ट्रपति पौडेलले ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीलगायत नवदुर्गा देवगणका मूर्तिहरूको अवलोकन तथा दर्शन गरेका थिए ।

सो अवसरमा उनले नवदुर्गाका पुजारी, मूल नाइके तथा देवगणहरूलाई परम्परागत दक्षिणासमेत प्रदान गरेका थिए ।

त्यसैगरी, मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई ऐतिहासिक तलेजु भवानीको मन्दिरबाट ल्याइएको जमरा, रातो टीका तथा विशेष प्रसाद प्रदान गरेका थिए ।

भक्तपुरको नवदुर्गा मन्दिर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थल मानिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रप्रमुखबाट गरिने पूजाअर्चनाले यस क्षेत्रको मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएको छ ।

सरकारले मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धानसम्मको योजना अघि सारेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै सार्वजनिक गरेको श्वेतपत्र सार्वजनिक गरेका छन् ।

नेपाल मौसम विज्ञान विभागले श्वेतपत्र जारी गर्दै मौसमको पूर्वानुमानलाई थप विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यसहित आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), उच्च क्षमताको कम्प्युटिङ प्रणाली र हिमाली जलवायु अनुसन्धानलाई प्राथमिकतामा राखेर सुधार योजना अघि सारेको हो । विभागको श्वेतपत्रको मस्यौदामा मौसम राडार सञ्जाल विस्तारदेखि स्थानीय तहसम्म पूर्वसूचना पु¥याउने, हवाई मौसम सेवा व्यवस्थित गर्ने र जलवायु परिवर्तनका प्रभावबारे अध्ययन गर्ने योजनासम्म समेटिएका छन् ।

मस्यौदाअनुसार मौसमसम्बन्धी तथ्यांक संकलन र विश्लेषणलाई आधुनिक बनाउँदै पूर्वानुमानको गुणस्तर सुधार गर्ने, जोखिमयुक्त मौसमजन्य घटनाबारे समयमै जानकारी दिने र मौसम सूचनालाई कृषि, स्वास्थ्य, ऊर्जा, पर्यटन तथा पूर्वाधार विकासजस्ता क्षेत्रमा उपयोगी बनाउने लक्ष्य राखिएको छ ।

विभागको अहिले मौसम अनुगमनका लागि सुर्खेत, पाल्पा र उदयपुरमा तीनवटा मौसम राडार सञ्चालनमा रहेको छ । यी राडारले प्रतिकूल मौसमी घटनाको पहिचान र अनुगमनमा सहयोग पु¥याउँदै आएका छन् । मस्यौदामा विद्यमान राडारबाट पर्याप्त अवलोकन हुन नसकेका उपत्यका तथा अन्य जोखिमयुक्त क्षेत्रमा आवश्यकताअनुसार राडार सञ्जाल विस्तार गर्ने प्रस्ताव छ । विशेषगरी काठमाडौं उपत्यकाको मौसम अनुगमन, तत्कालीन मौसम पूर्वानुमान र हवाई मौसम सेवा सुदृढ गर्न एक्स–ब्याण्ड मौसम राडार स्थापना गर्ने योजना अघि सारिएको छ ।

राडारको विस्तारले वर्षा, मेघगर्जन तथा अन्य प्रतिकूल मौसमी गतिविधिको निगरानीमा सहयोग पुग्ने विभागको अपेक्षा छ ।

विभागकाअनुसार मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने अर्को महत्वपूर्ण योजना उच्च क्षमताको कम्प्युटिङ प्रणाली (एचपीसी) र उच्च विभेदनयुक्त संख्यात्मक मौसम पूर्वानुमान मोडेलको विकास तथा सञ्चालन हो । नेपालको भौगोलिक विविधता र स्थानअनुसार फरक पर्ने मौसमी अवस्थालाई ध्यानमा राखेर पूर्वानुमानलाई अझ सूक्ष्म बनाउने लक्ष्य मस्यौदामा राखिएको छ ।

यसका लागि मौसम अवलोकन केन्द्र, राडार, उपग्रह, संख्यात्मक मौसम पूर्वानुमान मोडेल तथा सम्भाव्यतामा आधारित पूर्वानुमानबाट प्राप्त तथ्यांकलाई एकीकृत रूपमा प्रयोग गर्ने योजना छ । ती तथ्यांकको विश्लेषणमा कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङ प्रविधि उपयोग गर्ने प्रश्ताव पनि मस्यौदामा समेटिएको छ ।

एकीकृत डिजिटल प्रणालीमार्फत जोखिमको सम्भाव्यता विश्लेषण, स्वचालित शतर्कता संकेत, मौसम बुलेटिन तथा चेतावनीको प्रारम्भिक मस्यौदा तयार गर्न सकिने व्यवस्था विकास गर्ने लक्ष्य विभागको छ । तर प्रणालीले तयार पारेका सूचना मौसम पूर्वानुमानकर्ताले परीक्षण र स्वीकृति गरेपछि मात्रै वेबसाइट, मोबाइल एप, एपीआई तथा अन्य सञ्चारमाध्यमबाट प्रवाह गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसले तथ्यांक विश्लेषणको गति बढाउन र सूचना प्रकाशनमा लाग्ने समय घटाउन सहयोग पु¥याउन सक्ने विभागको अपेक्षा छ ।

श्वेतपत्रमा स्थानीय आवश्यकताअनुसार मौसम पूर्वानुमानको क्षमता बढाउने र तीनदेखि सात दिनसम्मको पूर्वानुमानलाई थप विश्वसनीय बनाउने लक्ष्य राखिएको छ । स्थानीय स्तरमा वर्षा, तापक्रम तथा अन्य मौसमी अवस्थाको जानकारी उपलब्ध गराउनसके किसानलाई बाली लगाउने, सिंचाई गर्ने र बाली भित्र्याउने समय निर्धारण गर्न सहज हुने अपेक्षा गरिएको छ भने निर्माण आयोजना, सडक यातायात, पर्यटन तथा विपद् व्यवस्थापनमा पनि मौसम सूचनाको उपयोग बढ्न सक्नेछ ।

मस्यौदामा छोटो अवधिको पूर्वानुमानसँगै साप्ताहिकदेखि मौसमी अवधिसम्मको पूर्वानुमान विकास गर्ने योजना पनि छ । यसअन्तर्गत मनसुन, हिउँद, वर्षा, तापक्रम तथा खडेरीजस्ता अवस्थाबारे अग्रिम जानकारी दिने प्रणाली सुदृढ गर्ने प्रश्ताव गरिएको छ । यस्ता पूर्वानुमानले कृषि योजना, जलस्रोत व्यवस्थापन र जोखिम न्युनिकरणका निर्णयमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ । स्वेत्तपत्र अनुसार विश्वसनीय मौसम पूर्वानुमानका लागि सतहको मौसम मापन मात्र पर्याप्त हुँदैन । माथिल्लो वायुमण्डलको तापक्रम, चाप, आद्र्रता र हावाको अवस्थासम्बन्धी तथ्यांक पनि आवश्यक हुन्छ । यही आवश्यकतालाई ध्यानमा राख्दै मस्यौदामा थप प्रदेशमा छवटा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने प्रश्ताव छ ।

हालको माथिल्लो वायुमण्डलीय अवलोकन क्षमतालाई विस्तार गर्नसके मौसम प्रणालीको विकास र त्यसको सम्भावित प्रभाव विश्लेषण गर्न थप आधार प्राप्त हुनेछ । यस्तो तथ्यांक संख्यात्मक मौसम पूर्वानुमान मोडेलको गुणस्तर सुधार गर्नसमेत उपयोगी हुने विभागले स्वेत्तपत्रमा उल्लेख गरेको छ ।

यससँगै विभागले मौसमसम्बन्धी तथ्यांकको संकलन, प्रशोधन, भण्डारण र आदानप्रदानलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ भने खुला डिजिटल तथ्यांक तथा एपीआईमार्फत आवश्यक सूचना उपलब्ध गराउने व्यवस्थाले अनुसन्धानकर्ता, सरकारी निकाय र अन्य सरोकारवालालाई मौसमसम्बन्धी जानकारी प्रयोग गर्न सहज बनाउन सक्ने विभागको अपेक्षा छ ।

मौसमको प्रभाव हवाई उडान सुरक्षासँग पनि प्रत्यक्ष जोडिएकाले यसैलाई व्यवस्थित गर्न विभागअन्तर्गत हवाई मौसम निर्देशनालयको व्यवस्था गर्ने प्रस्ताव मस्यौदामा छ । निर्देशनालयमार्फत विमानस्थल मौसम सेवा, उडान मार्गको मौसम पूर्वानुमान, सेवा गुणस्तर व्यवस्थापन र सम्बन्धित निकायसँगको समन्वयलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको छ ।

मस्यौदामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) र विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) का लागू हुने मापदण्डअनुसार सेवा स्तरोन्नति गर्ने तथा गुणस्तर व्यवस्थापन प्रणाली लागू गर्ने विषय पनि समेटिएको छ । यसले हवाई मौसम सेवाको विश्वसनीयता, निरन्तरता र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सञ्चालनलाई प्राथमिकता दिनेछ । नेपालको हिमाली भूगोल, तापक्रमको परिवर्तन, हिमपात, वर्षा र चरम मौसमी घटनाको अध्ययनका लागि छुट्टै अनुसन्धान क्षमताको विकास गर्ने योजना पनि मस्यौदामा छ । मौसम तथा जलवायु अनुसन्धान केन्द्र स्थापना गरी हिमाली जलवायु, जलवायु परिवर्तन र चरम मौसमी घटनाको अध्ययनलाई व्यवस्थित गर्ने प्रस्ताव गरिएको छ ।

विभागकाअनुसार नेपालको भौगोलिक विविधताका कारण जलवायु परिवर्तनको प्रभाव सबै क्षेत्रमा समान हुँदैन । त्यसैले स्थानीय तथ्यांकमा आधारित अनुसन्धानले जोखिम पहिचान, अनुकूलन योजना र दीर्घकालीन नीति निर्माणमा सहयोग पु¥याउनेछ । यससँगै राष्ट्रिय जलवायु सेवा रूपरेखा (एनएफसीएस) विकास गरी कृषि, स्वास्थ्य, ऊर्जा, पर्यटन, जलस्रोत र पूर्वाधारजस्ता क्षेत्रमा जलवायु सूचनाको उपयोग बढाउने लक्ष्य छ । मस्यौदामा बहुप्रकोप पूर्वसूचना प्रणाली सुदृढ गर्ने, प्रभावमा आधारित पूर्वानुमान विकास गर्ने र स्थानीय तहसम्म चेतावनी तथा सूचना पु¥याउने विषयलाई प्राथमिकता दिइएको छ । वेबसाइट, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन, मोबाइल तथा अन्य सञ्चारमाध्यम प्रयोग गरी सूचना प्रवाह गर्ने योजना छ ।

चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना

यस्तै, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको स्वेत्तपत्रमा विपद् जोखिम न्यूनीकरण तथा बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारिएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भई हिमनदी पग्लिने, हिमपहिरो जाने र हिमताल विस्फोटको जोखिम बढ्दै गएपछि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले उक्त योजना बनाएको हो ।

केन्द्रको श्वेतपत्रमा अत्याधिक जोखिममा रहेका मनाङको ठुलागी, संखुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको पानीको सतह घटाउन ‘ग्लोफ सञ्जीवनी आयोजना’ अघि सारिएको छ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस आयोजनाको कुल बजेट करिव ४९.९ मिलियन अमेरिकी डलर रहेको छ ।

यसअघि दोलखाको रोल्वादिङ उपत्यकामा रहेको छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह सफलताका साथ घटाइसकिएको अनुभवलाई आधार मानी यी नयाँ हिमतालहरूमा पनि जोखिम न्युनिकरणका उपाय अपनाइनेछ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले ‘प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजना’ (२०२२–२०२८) अन्तर्गत ७.५४ मिलियन डलरको लागतमा ६ वटा नदी बेसिनहरूमा बाढी पूर्वसूचना प्रणाली जडान गरिरहेको छ । साथै, केन्द्रले जेठ १ देखि असोज मसान्तसम्म २४ सै घण्टा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा सञ्चालन गर्ने योजना बनाएको छ भने चालु आर्थिक वर्षमा कर्णाली र नारायणी नदी बेसिनका लागि नयाँ बाढी पूर्वसूचना मोडल विकास गर्ने र बागमती सुधार आयोजना अन्तर्गत २ करोड ६१ लाख रुपैयाँको लागतमा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली निर्माण गर्ने योजना रहेको छ ।

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत कार्तिक २ गते सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

 

यस्तै, चाँदीको मूल्य तोलामा २३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको छ । कार्तिक २ गते सोमबार चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् ।

माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

उनका श्रीमान् ३५ वर्षीय उमेश यादव भने घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा छन् । छोराको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शङ्कास्पद देखिएको बताए । श्रीमान उमेशले श्रीमती रिनाको हत्या गरि आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनले घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिँदै छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व कोजाग्रत पूर्णिमाका दिन समापन हुने गर्दछ । यस दिन घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गर्ने र माता दुर्गाका मुख्य तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।

 

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।

भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।