
जिल्ला प्रहरी परिसर काठमाडौँले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरेको विशेष अभियानका क्रममा २४ घण्टाभित्र ९२ जनालाई पक्राउ गरेको छ।
परिसरले काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अपरेसन’ का क्रममा शंकास्पद गतिविधिमा संलग्न तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ८४ पुरुष र आठ महिला रहेका छन्।
प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न, सम्भावित आपराधिक गतिविधि रोक्न तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा निगरानी र प्रहरी परिचालनलाई तीव्र बनाइएको थियो। आपराधिक गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरूको पहिचान तथा निगरानीलाई प्राथमिकता दिइएको प्रहरीको भनाइ छ।
काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा १ लाख ६०६ जना महानगरवासीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको छ । महानगरले स्थानीयस्तरमै न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले २०७९ चैत २ गतेदेखि निःशुल्क कानुनी सेवा सुरु गरेको हो ।
महानगरका अनुसार विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा कानुन विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गरी महानगरवासीलाई कानुनी सेवा उपलब्ध गराइएको हो ।
हालसम्म नेपाल ल क्याम्पस, नेसनल ल कलेज, काठमाडौं स्कुल अफ ल, चक्रवर्ती ल कलेज, पृथ्वीनारायण क्याम्पस पोखरा, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका कानुनका विद्यार्थी गरी ७ वटा शिक्षण संस्थाका ३१३ जना इन्टर्न विद्यार्थी सेवामा परिचालित भएका छन् ।
महानगरका अनुसार निःशुल्क कानुनी सेवा लिनेमा ११ हजार ४६३ जना ज्येष्ठ नागरिक, ४५६ जना अपाङ्गता भएका व्यक्ति, १७५ जना बालबालिका र ४२ हजार १८८ जना महिला रहेका छन् ।
महानगरले स्थानीय न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै विवादको शीघ्र निरुपण, मेलमिलापमार्फत विवाद समाधान र महानगरवासीलाई न्यायमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
महानगरले प्रत्येक वडा कार्यालयमा वडा महिला सञ्जाल गठन तथा सक्रियता, प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना तथा सञ्चालन, आधारभूत तथा विशेष मेलमिलाप तालिम र वडा कार्यालय तथा केन्द्रमार्फत निःशुल्क कानुनी सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।
महानगरले स्थानीय न्यायिक व्यवस्था कार्यान्वयनका लागि विवाद निरुपण कार्यविधि ऐन, वडा महिला सञ्जाल सञ्चालन कार्यविधि, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका तथा कानुनी सहायता सम्बन्धी कार्यविधिलगायत कानुनी व्यवस्था जारी गरेको छ ।
निःशुल्क कानुनी सेवा सञ्चालनका लागि महानगरले २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सम्झौता गरी इन्टर्न विद्यार्थीलाई सेवामा परिचालन गरेको थियो । हालसम्मको तथ्यांकअनुसार महानगरले औसतमा दैनिक ११५ जना र मासिक ३ हजार ४५७ जनालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउँदै आएको छ ।
महानगरका अनुसार केन्द्र र सबै वडामा न्यायिक सहजकर्ता खटाइएको छ । न्यायिक सहजकर्ताले सेवाग्राहीले उपलब्ध गराएका कागजात, प्रमाण र तथ्यगत विवरणको अध्ययन तथा मूल्यांकन गरी आवश्यक कानुनी लिखत तयार गर्न सहयोग गर्ने गरेका छन् ।
सेवाग्राहीका तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तरपत्र, लिखित जवाफ तथा मिलापत्रको मस्यौदा तयार गर्ने र कानुनी व्यवस्था तथा प्रक्रियाबारे मौखिक जानकारी दिने कामसमेत न्यायिक सहजकर्ताले गर्दै आएका छन् ।
कानुनी लिखतमा प्रयोग हुने शब्द, भाषा, वाक्य र व्यहोरालाई शिष्ट, सभ्य, मर्यादित तथा प्रचलित कानुनअनुसार तयार गर्नु न्यायिक सहजकर्ताको मुख्य जिम्मेवारी रहेको महानगरले जनाएको छ ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ ।
जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै सभामुखसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
काफ्लेले मंगलबार दायर गरेको फिरादपत्रमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाएकी छन् ।
काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप तथा पदाधिकारीको नाम प्रयोग गरी पत्र तयार पारिएको र त्यसकै आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गरेकी छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा संसदीय दलको निर्देशन उल्लंघन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो । सोही क्रममा प्रदेशसभा सचिवालयले भदौ २४ गते उनको पद रिक्त भएको सूचना जारी गरेको थियो ।
तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । काफ्लेले विवादित पत्रको आधिकारिकता छानबिन गरी कीर्ते तथा जालसाजीमा संलग्नलाई कानुनी कारबाही गर्न र उक्त लिखत अमान्य घोषित गर्न माग गरेकी छन् ।
जनता समाजवादी पार्टी नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले भदौ १ मा पार्टीका लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई पार्टीको निर्णयअनुसार प्रदेश सरकारसम्बन्धी विश्वासको मतको प्रक्रियामा पार्टीको निर्देशन पालना गर्न जानकारी गराएको थियो।
सन्तोष पाण्डे, भण्डारीलाल अहिर,आदेश अग्रवाल र हेमा बेल्वासे केसी ले पार्टीको निर्देशन उल्लंघन गरी मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिएपछि पार्टीले चारै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको थियो । सोको जानकारी प्रदेश सभा सचिवालयलाई गराइएको थियो ।
ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेको छ। बडादसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कमभएका र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा प्रकाश यादवले भने, ‘रक्तसञ्चार केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पिआरबीसी र (पिआरपी) को मौज्दात सकिएको छ। यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनका लागि कठिनाइ भएको छ।’ उनले रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेका छन्।
चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा भएको बिदाका कारण रक्तदानका कार्यक्रममा कमी आएकाले रगतको सहज व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीले स्वयंसेवी रक्तदाता तथा सङ्घसंस्थालाई रक्तदानका लागि आह्वान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको महामन्त्री ऋषि खनालले जानकारी दिए। बिरामीका लागि रगत आवश्यक भएमा वा रक्तदानका लागि केन्द्रीय रक्तसञ्चार सेवाको फोन नं ०१५३८८४८५, ०१५३८८४८६ वा नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ।
साथै आफ्नो मोबाइलको प्लेस्टोरमा गएर (एनआरसीएस बिटीएस)मा गएर पनि रक्तसञ्चारका बारेमा जानकारी लिनका लागि नेपाल रेडक्रस सोसाइटीले अनुरोध गरेको छ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेल गुमाएको थियो । आजको खेलमा पोखरा इतिहास बदल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पोखरालाई हराएर आफ्नो यात्रा अघि बढाउने योजनामा छ ।
सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दिपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।
यस्तै विदेशी खेलाडीहरुमाशेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।
यसैगरी, पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले सम्काल्ने छन् । अन्य खेलाडीहरुमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य छन् ।
यस्तै, शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन् ।
आठ टोली सहभागि प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तहरूको साथमा चलिरहेको वादविवाद सुल्झिनेछ। समाजमा नयाँ जिम्मेवारी मिल्नेछ। कलाको क्षेत्रमा विशेष सफलता प्राप्त होला। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साझेदारी व्यापारमा नयाँ योजनाको सुरुवात गर्न सक्नुहुनेछ। आफ्नो कुरालाई खुलेर राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सोचेजस्तो सहायता नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कार्यक्षेत्रमा रुचिगत कार्यमा मन लाग्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूसँग मनमुटाव हुन सक्ला। महत्वपूर्ण योजनाहरू हातबाट निस्किन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचेभन्दा राम्रो सफलता हात लाग्नाले उत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नकरात्मक मानसिकताले विपरीत प्रभाव पर्नेछ। अरुको लागि श्रम र धन खर्च गर्नुपर्ला। उद्योग र व्यापारमा सोचविचार गरेर लगानी लगाउनुहोस्। आफन्तहरूबाट धोखा मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसाय आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस्। युवाहरूको लागि करियर बनाउन नयाँ अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। उद्योग व्यापारबाट विशेष फाइदा मिल्नेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्धहरूले गर्दा विशेष लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा अनुभवको कमीले लिएका निर्णयहरूमा प्रश्न चिन्ह लाग्न सक्ला। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर रहेको छ। पशुधन वा कृषिबाट लाभ पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सरकारी नोकरीमा पदको प्रभावले लाभ मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं गरौं। प्रतिस्पर्धी विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
समयमा निर्णय नलिनाले नोक्सानको आशंका रहनेछ। स्वास्थ्यमा खानपिन र आहारविहारको विशेष ध्यान राख्नुहोला। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। विद्यार्थी वर्गहरूले समयको सदुपयोग गर्नुहोला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सामाजिक सञ्जाल वा चिकित्स्याको क्षेत्रमा समय उत्तम रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।





