२०८३ कार्तिक १३ गते बिहीबार
२०८३ कार्तिक १३ गते बिहीबार

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बस्ने बैठकका लागि सातै प्रदेशका प्रहरी प्रमुख काठमाडौँ आइपुगेका छन्।

आईजीपी कार्कीको अध्यक्षतामा बस्ने बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) र त्यसभन्दा माथिल्लो दर्जाका अधिकारी सहभागी हुनेछन्। प्रहरी संगठनका नीतिगत विषयमा छलफल तथा निर्णय गर्ने समितिको बैठकका औपचारिक एजेन्डा भने सार्वजनिक भएका छैनन्।

यसअघि बुधबार आईजीपी कार्कीले देशभरका प्रहरी कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरेका थिए। बैठकमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातै प्रदेशका प्रहरी कार्यालय, ७७ वटै जिल्ला प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहभागी थिए।

उक्त बैठकमा कार्कीले प्रहरी संगठनभित्र बढ्दो अनुशासनहीनताप्रति असन्तुष्टि जनाउँदै केही प्रहरी अधिकारीहरूको नामसमेत उल्लेख गरेका थिए। उनले प्रहरी अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर हुन निर्देशन दिएका थिए।

यसैबीच, आईजीपी कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको नाम बिचौलिया भनिएका इनाम सापकोटासँगको कथित सम्पर्कका विषयमा जोडिएको छ। यस विषयलाई प्रधानमन्त्री वालेन्द्र शाहले गम्भीर रूपमा लिएको दाबीसमेत सार्वजनिक भएको छ। यद्यपि, कथित सम्पर्कको प्रकृति र त्यससँग सम्बन्धित आरोपको स्वतन्त्र पुष्टि भएको छैन।

बुधबार प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बुढानीलकण्ठमा भएको भनिएको भेटवार्तामा प्रहरी नेतृत्व र रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा छलफल भएको दाबी गरिएको छ। उक्त भेटमा आईजीपी कार्कीलाई हटाउने र सांसद सुनारलाई राजीनामा गराउने विषय उठेको भनिए पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

प्रहरी नेतृत्वसँग सम्बन्धित विभिन्न विषय सार्वजनिक चर्चामा रहेका बेला पीसीसी बैठक बोलाइएको हो।

यसैबीच, बिहीबार मन्त्रिपरिषद्को बैठकसमेत बस्ने बताइएको छ। प्रहरी नेतृत्वका विषयमा भइरहेका चर्चाबीच मन्त्रिपरिषद्ले गर्ने निर्णयलाई पनि चासोका साथ हेरिएको छ।

स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्वास्थ्य साझेदारका रूपमा आगामी तीन वर्षका लागि सहकार्य गर्ने सम्झौता गरेको छ।

यस सहकार्यको मुख्य उद्देश्य क्रिकेट खेलको माध्यमबाट स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको छ।

आफ्नो तीन दशक लामो यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य फार्माल्याबले एनपीएलको मञ्चमार्फत आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी उपयोगी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ।

यस रणनीतिक सहकार्यअन्तर्गत एनपीएलका खेलहरू सञ्चालन भइरहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले विशेष स्वास्थ्य परामर्श कक्ष, स्वास्थ्य परीक्षण स्टल, जनचेतनामूलक गतिविधि तथा विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। मैदानमा आयोजित यी गतिविधिहरूले खेल अवलोकन गर्न आउने दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहन विशेष रूपमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यसै क्रममा, आर्य फार्माल्याबले खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र उच्च खेल भावनालाई थप प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ घोषणा गरेको छ। यसअन्तर्गत प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानित गरिनेछ।

यसका साथै, प्रत्येक खेलमा उपस्थित एक भाग्यशाली दर्शकलाई २० हजार रुपैयाँको ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ समेत प्रदान गरिनेछ। यी आकर्षक कार्यक्रमहरूले खेलाडीहरूको योगदानको उच्च कदर गर्नुका साथै खेल मैदानमा दर्शकहरूको सहभागिता र उत्साहलाई थաप उचाइमा पुर्याउने विश्वास लिइएको छ।

आर्य फार्माल्याबले आफ्नो स्थापनाको ३० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा सुरु भएको यस सहकार्यलाई संस्थागत यात्राको एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएको छ।

क्रिकेट जस्तो अत्यधिक लोकप्रिय खेलसँग स्वास्थ्य सचेतनालाई जोड्न पाउँदा यसले बृहत् जनस्तरसम्म स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न सकिने दृढ विश्वास कम्पनीले व्यक्त गरेको छ।

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएकाले आज अरुले सपथ लिन लागेका हुन् ।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिने र नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै आजै पदबहालीसमेत गराइने जानकारी दिएका छन् ।

गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। महाधिवेशन अन्तर्गत उदघाटन र बन्दसत्र खुल्ला मंचमा भएको थियो भने मतदान खुल्ला मंच र राष्ट्रिय सभागृहमा भएको थियो ।

महाधिवेशनको मतदान गत असोज २३ गते भएको थियो भने त्यहीदिन राति सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो । सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो ।
अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो ।१४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको सदस्य सचिव कटुवालले जानकारी दिए ।

यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए । कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो । महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वाधिक ९४ प्रतिशत मतसहित निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ। त्यस्तै महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) सहित समावेशी र प्राज्ञिक चरित्रको बलियो कार्यसमिति चयन भएको छ।

शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ। पहिलो बैठकले ऐतिहासिक महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद ज्ञापनलगायतका विषयमा निर्णय गर्ने जनाइएको छ। वैठकमा पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनहरुका बारेमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ ।

गत असोज ३१ गते राति २:०० बजेतिर पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका लागि कारागारमा लगिएको भर्‍याङ चढेर भागेका थिए ।

कारागारबाट फरार जलारीलाई प्रहरीले कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले कैदी जलारी योजनाबद्ध रूपमा भागेको बताए। “बिजुली मर्मतका लागि राखिएको भर्‍याङ चढेर भागेको पाइएको छ, एक महिनादेखि कारागारबाट भाग्ने योजना बनाएको अनुसन्धानका क्रममा जलारीले बताएका छन्”, उनले भने।

जलारीले कारागारभित्र पसलसमेत चलाएर बस्ने गरेको प्रहरी उपरीक्षक कार्कीले बताए। कारागारको सुरक्षार्थ खटिएको प्रहरी र कैदीका नाइकेको प्रयाप्त ध्यान नपुग्दा जलारी भाग्न सफल भएको उनको भनाइ छ ।

“भोलि पनि बिजुली मर्मत गर्नुपर्छ भनेर उनले भर्‍याङ आफ्नै पसल भएको ठाउँमा राखेको र मध्यरातमा भागेको पाइएको छ”, प्रहरी उपरीक्षक कार्कीले भने, “उनले नाइके र अरु कैदीलाई पनि झुक्काएर भागेको देखिन्छ ।”

कारागारबाट यसरी कैदी भागेका घटना बिरलै हुने गरेको भन्दै उहाँले कारागारको सुरक्षा संवेदनशीलतामा विशेष रूपले ध्यान यस घटनाले सम्बद्ध पक्षलाई झकझक्याएको बताए।

कारागारका जेलर घनश्याम गौतमले भोलिपल्ट बिहान मात्र कैदी गणनाका क्रममा जलारी भागेको थाहा भएको बताए। कैदी भागेको घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न र चासो व्यक्त हुनु स्वभाविक भएको उनको भनाइ छ ।

भागेका कैदी जलारी प्रहरीको सक्रियतामा दुई दिनमै नियन्त्रणमा आएको जेलर गौतमले बताए। गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जलारीलाई पक्राउ गरेको थियो । उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए। “ज्यान र डाँका मुद्दामा २५ वर्ष कैद सजाय पहिलेकै छ, पछिल्लो मुद्दामा थप पाँच वर्ष जेल सजाय हुन सक्छ”, उनले भने।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा बाँकी हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहको छ । मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बादल लाग्नेछ । बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षार/हिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा काठमाडौँको यो पहिलो खेल हो । जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।

यसैगरी आजै साँझ ५ बजे कर्णाली र विराटनगर बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर किंग्स पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।