२०८३ कार्तिक १८ गते मंगलवार
२०८३ कार्तिक १८ गते मंगलवार

साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो अपराजित यात्रा कायम राख्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको हो।

पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै लुम्बिनीले तीन खेलबाट पाँच अंक जोडेको छ। जारी प्रतियोगितामा अपराजित रहने लुम्बिनी एकमात्र टोली बनेको छ।

यता, पोखराले लगातार तेस्रो हार बेहोरेको छ। तीन खेलसम्म जितविहीन पोखरा अंकतालिकाको पुछारमा रहेको छ।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ३२ बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए। विकेटकिपर ब्याटर निरोशन डिकवेलाले २८ बलमा दुई चौका र एक छक्काको मद्दतमा अविजित २७ रन जोडे।

रोहित र डिकवेलाबीच तेस्रो विकेटका लागि भएको अविजित ७७ रनको साझेदारीले लुम्बिनीलाई सहज जित दिलायो। त्यसअघि ओपनर डार्शी सर्ट १३ र आसिफ शेख ९ रनमा आउट भएका थिए। पोखराका विपिन खत्रीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सकेको थियो।

पोखराका लागि चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। उनले १७ बलको सामना गर्दै दुई छक्का प्रहार गरे। कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अर्जुन कुमाल खाता नखोली आउट हुँदा सदिरा समराविक्रमा ७, शकिब अल हसन ३ र अर्जुन घर्ती ६ रनमा पभेलियन फर्किए।

पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले प्रभावशाली बलिङ गरे। उनले चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए। तिलक भण्डारीले चार ओभरमा २२ रन दिँदै दुई विकेट हात पारे। शेर मल्ल, अभिषेक गौतम र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए।

पोखराको कमजोर ब्याटिङ र लुम्बिनीको सन्तुलित प्रदर्शन खेलको निर्णायक पक्ष बनेको थियो। यो जितले लुम्बिनीलाई अंकतालिकाको शीर्ष स्थानमा पुर्‍याउँदा पोखराको पहिलो जितको प्रतीक्षा भने लम्बिएको छ।

 नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थितिमा सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले नेकपा एमालेदेखि विभिन्न धारामा विभाजित माओवादी समूहसम्मलाई एकताबद्ध गर्ने जिम्मेवारी सबैको काँधमा रहेको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका कम्युनिस्ट नेताहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन अपिल गरे ।

प्रचण्डले देश असाधारण संकटमा रहेको उल्लेख गर्दै सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह र संकीर्णता त्यागेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने, ‘आज देश असाधारण संकटमा छ । यस्तोबेला सबैले आफ्नो सोचार्ई, बुझाइ, भावनालाई अझ फराकिलो गर्नुपर्ने, सबैखाले आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखेर, देशलाई प्राथमिकतामा राखेर एकताबद्ध हुने आजको आवश्यकता हो ।’

उनले विगतमा पनि कम्युनिस्ट एकताका लागि आफूले विभिन्न प्रयास गरेको स्मरण गरे । शान्ति सम्झौतापछि कम्युनिस्टहरू मिल्नुपर्ने प्रस्ताव आफूले पहिलोपटक अघि सारेको र संविधान जारी भएपछि तत्कालीन नेकपा एमालेसँग एकताका लागि पहल गरेको उनको भनाइ थियो ।

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता र निर्वाचनमा सहकार्यका लागि प्रस्ताव गर्न आफू गएको स्मरण गर्दै उनले त्यसबेला एकता सम्भव बनाउन प्रधानमन्त्री पदसमेत ओलीलाई नै दिने प्रस्ताव गरेको बताए ।

प्रचण्डले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले देशभरका नेता तथा कार्यकर्तामा उत्साह र समाजवादतर्फ अघि बढ्ने विश्वास पैदा गरेको बताए । उक्त एकताबाट झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्ने अवसर मिलेको भए पनि त्यसलाई लामो समय टिकाउन नसकिएको उनको भनाइ थियो ।

उनले उक्त एकता तीन वर्ष पनि टिकाउन नसकेकोप्रति दुःख व्यक्त गरे ।

यसैबीच, प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीकी नवनियुक्त महासचिव उमा भुजेलको राजनीतिक योगदानको प्रशंसा गर्दै उनलाई तीनवटा महत्वपूर्ण फड्को मार्ने नेताका रूपमा चित्रण गरे ।

भुजेलले सशस्त्र विद्रोहका क्रममा प्रहरी चौकी कब्जा गर्न र गोरखा जेल ब्रेकको नेतृत्व गर्न खेलेको भूमिकाको स्मरण गर्दै उनले अहिले विभिन्न क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न सफल भएको बताए ।

प्रचण्डले भुजेलले प्रहरी चौकी कब्जा र गोरखा जेल ब्रेकको नेतृत्व गरेर आफ्नो साहस र क्षमता प्रमाणित गरेको उल्लेख गरे । पछिल्लो समय विभिन्न क्रान्तिकारी युवा नेताहरूलाई एकताबद्ध गर्दै पार्टी एकतामा भूमिका खेलेको उनको भनाइ थियो ।

प्रचण्डले एकताको अभियानलाई अझ अघि बढाउँदै देशमा कम्युनिस्ट शक्तिहरूको नेतृत्व स्थापित गर्नुपर्ने बताए । उनले भने, ‘हामी जित्छौँ, हामीले नै जित्नुपर्छ देशमा, अरूले जितेर हुँदैन।’

यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान, २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती र २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ ।

त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा, २४ गते मंगलबार गोवद्र्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।

कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) मनाइने समितिले जनाएको छ ।

सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एडिबीबाट प्राप्त हुने उक्त ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ ।

त्यस्तै, नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले तुर्किएको आन्ताल्यामा कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म तथा जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुङ्गो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न पनि बैठकले स्वीकृति दिएको छ ।

यसैगरी, प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्न मंगलबार काठमाडौँ आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालको परराष्ट्र मन्त्रालय तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण सुरु हुनुभन्दा एक दिनअघि दलेला काठमाडौँ आइपुगेका हुन्। मिश्री बुधबारदेखि दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्। भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विभिन्न विषयमा छलफल हुने कार्यक्रम छ।

भारत सरकारले गत असोज ३० गते दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो। उनी यसअघि भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले सन् २०२५ सेप्टेम्बर १ देखि आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूत थिए।

दलेलासँग नेपालसम्बन्धी कूटनीतिक मामिलामा काम गरेको अनुभवसमेत छ। उनले भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटानसँगको सम्बन्ध हेर्ने उत्तरी महाशाखामा निर्देशक तथा सहसचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

यसका अतिरिक्त उनले अमेरिका, बंगलादेश, इजरायललगायत मुलुकमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। व्यापार तथा आर्थिक कूटनीतिमा समेत अनुभव रहेका दलेलाले आर्थिक सम्बन्ध सचिवका रूपमा भारतको अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा विकास साझेदारीसम्बन्धी विषय हेर्दै आएका थिए।

सचिवस्तरका अनुभवी कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गर्ने भारत सरकारको निर्णयलाई दुई देशबीचको कूटनीतिक सम्बन्धका सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ।

दलेलाले निवर्तमान भारतीय राजदूत नवीन श्रीवास्तवको स्थान लिनेछन्। श्रीवास्तवले सन् २०२२ जुनदेखि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए।

भारतका नवनियुक्त राजदूतको आगमन र विदेश सचिवको भ्रमणसँगै दुई देशबीच उच्चस्तरीय कूटनीतिक संवादको क्रम अघि बढ्ने भएको छ।

आन्द्रे रसेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ। ब्याटिङमा अविजित अर्धशतक बनाएका रसेलले बलिङमा चार विकेट लिँदै विराटनगरलाई रोमाञ्चक जित दिलाएका हुन्।

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७२ रनमा सीमित भयो। अन्तिम बलमा जनकपुरका सेफ हसनलाई आउट गर्दै रसेलले विराटनगरको जित सुनिश्चित गरे।

यो जितसँगै सुरुवाती दुई खेलमा पराजय बेहोरेको विराटनगरले लगातार दोस्रो जित निकालेको छ। चार खेलबाट चार अंक जोडेको विराटनगरले प्रतियोगितामा आफ्नो स्थिति सुधार गरेको छ। समान चार खेल खेलेको जनकपुरको पनि चार अंक छ।

जनकपुरका लागि बंगलादेशी ब्याटर सेफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनले ४८ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेका थिए। अन्तिम बलमा रसेलको बलमा बसिर अहमदबाट क्याच आउट भएपछि जनकपुरको जितको सम्भावना समाप्त भएको थियो।

जनकपुरको सुरुवात भने कमजोर रह्यो। टोलीले ३० रन बनाउँदासम्म तीन विकेट गुमाइसकेको थियो। त्यसपछि हसन र विशाल सुशलिङले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।

यस संस्करणमा पहिलो खेल खेलेका विशालले ३० बलमा दुई चौका र तीन छक्कासहित ४३ रन जोडे। उनी आउट भएपछि क्रिजमा आएका जिमी निशमले हसनसँग पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरे।

निशमले १५ बलमा २९ रन बनाउँदै जनकपुरलाई जितनजिक पुर्‍याएका थिए। तर, १९औँ ओभरको अन्तिम बलमा रुपेश सिंहले निशमलाई आउट गरेपछि खेल विराटनगरको पक्षमा मोडियो।

बलिङतर्फ विराटनगरका रसेलले चार ओभरमा ४५ रन खर्चेर चार विकेट लिए। एन्जेलो म्याथ्युजले दुई र रुपेश सिंहले एक विकेट हात पारे।

तीन अर्धशतकको मद्दतमा विराटनगरको १७४ रन

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए। उनले ४५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। ओपनर लोकेश बमले ४० बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५० रन जोडे।

टोलीको स्कोर दुई रन हुँदा ओपनर शेहान जयसूर्या आउट भएपछि इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। उक्त साझेदारीले विराटनगरलाई सुरुवाती दबाबबाट बाहिर निकालेको थियो।

त्यसपछि क्रिजमा आएका रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए। उनले दुई चौका र पाँच छक्का प्रहार गरे। शुभम रन्जाने सात रनमा अविजित रहे।

जनकपुरका लागि अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए।

प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको विराटनगरले अन्तिम ओभरसम्म पुगेको खेलमा रसेलको प्रभावशाली बलिङका कारण दुई रनको जित हात पार्‍यो।

ब्याटिङ र बलिङ दुवैमा निर्णायक योगदान दिएका रसेल खेलको उत्कृष्ट खेलाडी घोषित भए।

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

मंगलबार दुई पार्टीबीच कम्युनिस्ट आन्दोलनको एकीकरण प्रक्रिया अगाडि बढाउन १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ ।

सहमति अनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने छ । पार्टीको तात्कालिक कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने उल्लेख छ ।

दुई पार्टीबीचको सहमतिमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने जनाइएको छ । समय र परिस्थितिअनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने तथा सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा उपयोग गरिने सहमति भएको छ ।

एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । त्यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा संगठनात्मक समायोजन गरिनेछ ।

त्यस्तै, सबै तहका पार्टी समिति र जनसंगठनमा सहमतिका आधारमा एकता तथा समायोजन गरिने सहमति भएको छ । यस्तो समायोजनको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने सहमति पत्रमा उल्लेख छ ।

दुई पार्टीबीचको यो सहमतिले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि साझा राजनीतिक तथा संगठनात्मक आधार तयार गर्ने लक्ष्य राखेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मोरङको विराटनगरस्थित रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी बिक्री गरेको प्रकरणमा अख्तियारले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारले उक्त प्रकरणमा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको जनाएको छ। प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाअनुसार कैद, बिगो बराबर जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ।

अख्तियारका अनुसार रिजाल क्यानिङ एण्ड कम्पनीले फलफूल उद्योग सञ्चालन गर्ने सर्तमा २०३२ सालमा सुनसरी र मोरङमा हदबन्दीभन्दा बढी जग्गा राख्न छुट पाएको थियो। तर कम्पनीले उद्योग सञ्चालनका लागि प्राप्त गरेको जग्गा सर्तविपरीत प्रयोग गरेको र पछि जग्गा सट्टापट्टा गर्ने प्रक्रिया अघि बढाएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

कम्पनीले विराटनगर उपमहानगरपालिका–३ मा रहेको कित्ता नम्बर ४८ र ७१ को जग्गा सट्टापट्टा गर्ने प्रक्रिया अघि बढाएको थियो। उक्त जग्गा यसअघि नै सरकारीकरण तथा जफत गर्ने निर्णय भइसकेको भए पनि विभिन्न सरकारी निकायका कर्मचारी तथा पदाधिकारीको मिलेमतोमा रोक्का फुकुवा गरिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार २०४८ चैत २३ गते तत्कालीन सरकारले रिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको सम्पूर्ण जग्गा जफत गर्ने निर्णय गरेको थियो। त्यसपछि पनि कम्पनीको नाममा रहेको जग्गा फुकुवा गरी सट्टापट्टा गर्ने प्रक्रिया अघि बढाइएको अख्तियारको अनुसन्धानमा उल्लेख छ।

भूमिसुधार कार्यालय मोरङले २०६३ भदौ १२ गते उक्त जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि विभिन्न सरकारी निकायबाट सिफारिस तथा निर्णय गराउँदै २०६६ कात्तिक १५ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जग्गा सट्टापट्टाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाएको थियो।

तत्कालीन प्रधानमन्त्री तथा मुख्यसचिवको संलग्नतामा प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको र मन्त्रिपरिषद्ले २०६६ मंसिर १६ गते सामाजिक समितिमा पठाउने निर्णय गरेको अख्तियारले जनाएको छ। त्यसपछि तत्कालीन मन्त्री तथा मन्त्रिपरिषद्को सामाजिक समितिका संयोजक डा. मिनेन्द्र रिजालले २०६६ पुस १६ गते जग्गा सट्टापट्टा गर्न दिने निर्णय गरेको आयोगको आरोप छ।

अख्तियारका अनुसार विराटनगरको बढी मूल्य पर्ने जग्गा बिक्री गरेर त्यसको सट्टामा कम मूल्य पर्ने जग्गा खरिद गरिएको थियो। कम्पनीले मोरङको तत्कालीन बनिगामा गाविसमा १२ लाख ८५ हजार रुपैयाँमा जग्गा खरिद गरेको थियो भने विराटनगरको जग्गा आठ करोड ३८ लाख ६२ हजार पाँच सय रुपैयाँमा बिक्री गरेको देखिएको आयोगले जनाएको छ।

सट्टापट्टा गरिएको बनिगामाको जग्गामा केही भागमा खाल्डो, केही भागमा कच्ची बाटो र बाँकी भागमा खोला बगिरहेको तथा कम्पनीले हालसम्म भोगचलन नगरेको अख्तियारको अनुसन्धानमा उल्लेख छ। यसबाट फलफूल उद्योग सञ्चालन गर्ने उद्देश्यभन्दा पनि विराटनगरको महँगो जग्गा बिक्री गरी सस्तो जग्गा प्राप्त गर्ने नियत रहेको आयोगको निष्कर्ष छ।

अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध समान ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरेको छ। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐनको दफा १७ अनुसार कसुर कायम गरी बिगो बराबर जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरिएको छ। नेपाल र रिजाललाई भ्रष्टाचार निवारण ऐनको दफा २४ अनुसार थप सजायको मागसमेत गरिएको छ।

यसैगरी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, विभिन्न मन्त्रालयका तत्कालीन कर्मचारी, भूमिसुधार तथा व्यवस्थापन विभागका अधिकारी, मालपोत कार्यालय मोरङका कर्मचारी, कृषि कार्यालयका अधिकारी र स्थानीय तहका तत्कालीन कर्मचारीलाई पनि प्रतिवादी बनाइएको छ।

रिजाल क्यानिङ एण्ड कम्पनीका सञ्चालकहरू कुलचन्द्र प्रसाद रिजाल, राजेन्द्र प्रसाद रिजाल, जनक प्रसाद रिजाल, देवेन्द्र प्रसाद रिजाल, बद्री प्रसाद रिजाल र पशुपति प्रसाद रिजाललाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूमाथि मुख्य कसुरदारलाई सहयोग गरी भ्रष्टाचारमा मतियार बनेको आरोप लगाइएको छ।

त्यस्तै, जग्गा सट्टापट्टाको प्रक्रियामा संलग्न विभिन्न विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा सञ्चालकहरूलाई पनि मतियारका रूपमा प्रतिवादी बनाइएको छ।

अख्तियारले उक्त जग्गा हाल विभिन्न व्यक्ति तथा संस्थाको नाममा हस्तान्तरण भइसकेको जनाएको छ। आयोगले ४० भन्दा बढी व्यक्ति तथा संस्थाको नाममा कायम रहेको जग्गा भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार जफत गर्न मागदाबी गरेको छ।

प्रधानमन्त्री बालेन शाहले झण्डै १८ दिनपछि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

 

मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी शाहले बैठक बोलाएका हुन् ।

बैठकमा केही अध्यादेशलगायतका विषयमा छलफल हुने तयारी रहेको स्रोतले जनाएको छ ।

सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए। अभिभावकहरूले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उनले आग्रह गरे।

थापाकाअनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिँदै हुनुहुन्छ । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई नि:शुल्क खुवाउने गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।