२०८३ कार्तिक २० गते बिहीबार
२०८३ कार्तिक २० गते बिहीबार

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै आवश्यक कानूनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताएका हुन् ।

उनले यसपटकको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई बोलाएर ठूला परियोजनाको सूची प्रस्तुत गर्ने र लगानीको प्रतिबद्धता जुटाउनेमा मात्रै केन्द्रित नहुने स्पष्ट पारे ।

सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि गरेका कानूनी सुधार, लगानीको सुरक्षा, श्रमिकको संरक्षण र बजारको सुनिश्चितताबारे जानकारी गराउने सम्मेलनको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । मन्त्री लम्सालले लगानीकर्ताले नेपालमा ढुक्कसँग लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सरकारले स्वीकृति दिइसकेको परियोजना कसैले रोक्न नसक्ने गरी लगानीको सुरक्षा सुनिश्चित गर्ने गरी कानूनी व्यवस्था गर्न लागिएको उनले उल्लेख गरे। उनकाअनुसार लगानीसम्बन्धी ५९ वटा ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ । ती ऐन संशोधनसँगै आवश्यक नियमावली, कार्यविधि, मापदण्ड र निर्देशिका पनि लगानी सम्मेलनअघि नै तयार गर्ने सरकारको लक्ष्य छ ।

मस्यौदा प्रधानमन्त्री कार्यालयमा बुझाइसकिएको र त्यहाँबाट सम्बन्धित मन्त्रालय हुँदै कानून मन्त्रालयमार्फत संशोधनको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । तिहारलगत्तै कानून संशोधनको औपचारिक प्रक्रिया सुरु गरी राजपत्रमा प्रकाशन गर्ने चरणमा पुग्ने उनको भनाइ छ ।

उनले भने, ‘सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको मुख्य उद्देश्य विदेशी लगानीकर्तालाई ठूला परियोजना देखाएर लगानीको प्रतिबद्धता जुटाउनु मात्र नभई नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न गरिएका कानुनी तथा नीतिगत सुधारहरू प्रदर्शन गर्नु हो । सरकारले सुशासन, अधिकार विकेन्द्रीकरण र लगानीको सुरक्षा सुनिश्चित गर्न विभिन्न नीतिगत सुधार अघि बढाएको छ । लगानीकर्ताको लगानी, श्रमिकको अधिकार र बजारको सुनिश्चितताका लागि आवश्यक कानून संशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । हाल ५९ वटा ऐन संशोधनका लागि मस्यौदा तयार भइसकेको छ । साथै, आवश्यक नियमावली, कार्यविधि तथा निर्देशिकाहरू पनि लगानी सम्मेलनअघि तयार गर्ने लक्ष्य राखिएको छ । सरकारले सार्वजनिक खरिदमा नेपाली उत्पादन, स्वदेशी उद्यमी तथा व्यवसायीलाई प्राथमिकता दिने निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याइसकेको छ । आगामी दिनमा सरकारी तथा निजी क्षेत्रका निर्माणमा समेत स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।’

उनले सार्वजनिक खरिदमा नेपाली उत्पादन, नेपाली उद्यमी तथा उद्योगीलाई प्राथमिकता दिने गरी सरकारले निर्देशिका जारी गरिसकेको पनि बताए । नेपाली उत्पादन उपलब्ध हुँदासम्म सार्वजनिक खरिदमा विदेशी उत्पादन प्रयोग नगर्ने नीति कार्यान्वयनको चरणमा पुगिसकेको उनले जानकारी दिए ।

संसद् खुलेपछि सरकारी तथा निजी क्षेत्रबाट निर्माण हुने भौतिक संरचनामा समेत नेपाली उत्पादनलाई प्राथमिकता दिने कानूनी व्यवस्था लागू गर्ने सरकारको तयारी रहेको उनले बताए ।

यसले स्वदेशी उद्योग, उद्यमशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्नुका साथै परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने उनको विश्वास छ । मन्त्री लम्सालले सरकारले शुरुदेखि नै सुशासन र अधिकार विकेन्द्रीकरणलाई प्राथमिकता दिएको उल्लेख गरे।

अर्थ मन्त्रालयको मातहतमा केन्द्रित रहने गरेका आर्थिक तथा परियोजना कार्यान्वयनसम्बन्धी अधिकार विकेन्द्रीकरण गरी सम्बन्धित मन्त्रालय तथा विभागलाई जिम्मेवारी दिइएको उनले बताए।

उनले लगानीमैत्री कानून निर्माणको अभियानमा अर्थ मन्त्रालय र कानुन मन्त्रालयको भूमिका महत्वपूर्ण रहेको भन्दै दुवै मन्त्रालयको प्रशंसा गरे । कानूनमन्त्रीले एक वर्षभित्र १६८ वटा कानुन परिवर्तन गर्ने र एकमुष्ट ५९ वटा ऐन संशोधन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त लक्ष्य पूरा भए देशको इतिहासमा महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ । मन्त्री लम्सालले लगानी सम्मेलनलाई सफल बनाउन संसद् र राष्ट्रिय सभाबाट समेत सकारात्मक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदमा स्पष्ट बहुमत रहेको र राष्ट्रिय सभाका नेतृत्वसँग पनि कानुनी सुधारका विषयमा सकारात्मक संवाद भइरहेको उनले बताएका छन् ।

सरकारले लगानीको वातावरण सुधार गर्न कानून परिवर्तनलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले यस अभियानमा सहयोग गर्ने सबै सरकारी निकाय तथा कर्मचारीप्रति आभार व्यक्त गरे ।

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ ।

दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौँ आएका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन् । प्रधानमन्त्री साहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतीय विदेश सचिवको यो भ्रमणलाई कूटनीतिक वृत्तमा महत्त्वपूर्ण मानिएको छ । दुई देशबीचका बाँकी विषयमा समझदारी निर्माण गर्न र उच्च तहमा निरन्तर संवाद कायम राख्न यस्ता भ्रमणले पुलको काम गर्ने विज्ञहरूको बुझाइ छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । 

उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । बालेन सरकारले तर्साएर सत्ता चलाउन खोजिरहेको भन्दै नबिराउनु नडराउनु भनेझैँ आफू काठमाडौँ बाहिर रहेको र काठमाडौँ फर्कदै गरेको बताए । 

उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान मात्रै सरकारले दिन खोजेको भय र भ्रमले विचलित नहुने बताएका छन् । उनले आफूलाई प्रहरी लगाएर खोज्न नपर्ने भन्दै आउँदै गरेको बताए । 

सहमहामन्त्री शिवाकोटीले लेखेका छन्, ुसरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु।ु 

शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् । साइबर ब्युरोले नेता शिवाकोटीलाई पत्रकार रोशन खड्काको उजुरीका कारण बोलाइएको ब्युरो स्रोतले बताएको छ ।  

उनले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढंगले जवाफ देओस् भनी लेखेका थिए । उनले बिचौली भनिएका प्रहरीको हिरासतमा रहेका इनम सापकोटाको प्रहरीलाई दिएको भनिएको बयानको अडियो रेकर्डकाबारेमासमेत पनि प्रतिक्रिया दिएका थिए ।

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ ।

बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ । खरिद-बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुनेछ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित)एक/एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ ।

राष्ट्र बैंकले असर्फी तथा मेडालियन खरिदका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने जनाएको छ ।

असर्फी तथा मेडालियन खरिदको लागि नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहानको करिब ११:०० बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारणपश्चात् मात्र बिक्री हुने सूचनामार्फत जनाएको छ ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजे हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रनेछन्।

लुम्बिनी जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ भने जनकपुर पछिल्लो हारको निराशा बिर्सेर पुनरागमन गर्ने योजनामा छ।

साँझ ५ हुने दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्ग्सको सामना गर्नेछ। 

काठमाडौं र विराटनगर पनि जित हासिल गर्दै आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछन्।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
इच्छाअनुसार समयको सदुपयोग गर्न सक्नु हुनेछ। धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

एउटा कार्य समाप्त गरेर अर्को कार्य प्रारम्भ गर्नुहोला। व्यापार व्यवसायमा ठूलो निर्णय लिनुभन्दा अघि विशिष्ट व्यक्तिको सल्लाह लिनुहोस्। कुनै कुरामा अनुपेक्षित खर्च हुन सक्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ कार्य गर्दा मन दोधारमा हुन सक्छ तसर्थ जानकारको सल्लाह लिएर अगाडि बढ्नुहोस्। आर्थिक पक्ष मजबुत रहनेछ साथै कुनै कुरालाई लिएर मनमा चिन्ता रहनेछ। प्रतिस्पर्धात्मक कार्यमा सफलता पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामाजिक दायित्व सम्पादन गर्नमा धन खर्च गर्नुपर्ला। प्रशासनिक क्षेत्रबाट लाभ मिल्न सक्छ। विद्यार्थीहरूलाई नयाँ ज्ञानको अवसर मिल्नेछ। व्यापार व्यवसायमा अनुभवको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाम्पत्य वा प्रेम जीवन सुखमय रहनेछ। कार्यक्षेत्रमा प्रतिनिधि जनको सहयोग प्राप्त हुनेछ। अधिकार प्राप्तिको लागि गरिएका प्रतिस्पर्धामा विजय मिल्नेछ। खानपानको गडबडीले स्वास्थ्य बिग्रिन सक्छ। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ८ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आकस्मिक विवाद हुने सम्भावना छ। छरछिमेकीसँग बोल्दा बोलीचालीमा सहजता अपनाउनुहोस्। कार्यक्षेत्रमा आफन्तहरूको साथ सहयोग मिल्नेछ। कार्यक्षेत्रमा श्रमको अनुसार मूल्यांकन मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिनले उत्साहमा कमी लिएर आउनेछ। परिवारको मनमुटाव सुल्झ्याउन समय बित्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समय पर्खिनुहोला। सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आयका नयाँ स्रोतहरू बन्नेछन्। योजना बनाएर कार्य गर्नुहोस सफलता मिल्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कार्यक्षेत्रमा कुनै प्रकारको जोखिम लिनबाट बच्नुहोस्। स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ। रोकिएका कार्यहरू अगाडि बढ्नेछन्। नोकरी वा पेशामा कार्यको जस पाउनुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सरकारी नोकरीमा परीक्षा को शुभ सुचना मिल्ला। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कार्यक्षेत्रमा आलस्यबाट बच्नुहोस्। वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। चिताएको कार्य सम्पादित गर्न बाधा आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफ्नो कुराले अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। व्यापारमा नयाँ अनुबन्धहरू सफलतापूर्वक सम्पादित हुनेछन्। जीवनसाथीसँग रमाइलो सम्बन्ध रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।