२०८३ मंसिर ११ गते बिहीबार
२०८३ मंसिर ११ गते बिहीबार

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौँको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन् ।

मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी हुन् ।

छड्के अनुगमनका क्रममा उनले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन् ।

उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र मापदण्डको पालना गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् ।

टर्कीको मध्य क्षेत्रमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिकको मृत्यु भएको छ ।

टर्कीको एस्किसेहिर प्रान्तमा मंगलवार वायुसेनाको सैन्य हेलिकोप्टर दुर्घटनामा परेको टर्किस सञ्चारमाध्यम एनटीभीले जनाएको छ ।

टर्कीको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एनटीभीले जनाएअनुसार एएस-५३२ मोडेलको उक्त हेलिकोप्टर नियमित प्रशिक्षण उडानका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनापछि हेलिकोप्टरको भग्नावशेष फेला परेको छ भने घटनास्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो ।

दुर्घटनाको कारणबारे थप विवरण सार्वजनिक भएको छैन ।

सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स)नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो।

नयाँ ढाँचा तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।

ऊर्जा मन्त्रालयले तयार गरिरहेको नयाँ ढाँचामा नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युतको अनुपात निर्धारण हुनेछ। यसले आगामी दशकमा मुलुकलाई कस्तो प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ।

हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट रहेको छ। उत्पादनको ठूलो हिस्सा नदी प्रवाही जलविद्युत् आयोजनाबाट प्राप्त भइरहेको छ। यस्तो उत्पादन प्रणाली वर्षायाममा बढी र हिउँदमा कम हुने भएकाले मौसमी असन्तुलन व्यवस्थापन गर्न ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको छ।

यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यलाई आधार बनाएर ऊर्जा मिश्रण निर्धारण गरिएको थियो। तर अहिले सरकारले ३० हजार मेगावाट उत्पादनको लक्ष्य अघि सारेपछि पुरानो अनुपातले दीर्घकालीन ऊर्जा आवश्यकता सम्बोधन गर्न नसक्ने निष्कर्षसहित नयाँ ढाँचा तयार गर्न लागिएको हो।

सन् २०१६ मा जारी राष्ट्रिय ऊर्जा संकट निवारण नीति तथा विद्युत् विकास दशक (२०१६–२०२६) ले पहिलोपटक विभिन्न स्रोतबाट विद्युत् उत्पादनको अनुपात निर्धारण गरेको थियो। त्यसमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनालाई ४० देखि ५० प्रतिशत र अर्धजलाशययुक्त आयोजनालाई १५ देखि २० प्रतिशत हिस्सा दिने लक्ष्य राखिएको थियो।

पछि १५ हजार मेगावाट उत्पादन लक्ष्यअनुसार तयार गरिएको ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाहीको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्तको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको ५ देखि १० प्रतिशत कायम गरिएको थियो। सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो। २०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्‍याएपछि पीपीए प्रक्रियामा त्यसअनुसार परिवर्तन आएको थियो। त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १ हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको विद्युत् खरिद सम्झौता स्वीकृत गरेको थियो।

गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया थप प्रभावित भयो। त्यसपछि नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीएसमेत रोकिएको छ।

प्राधिकरणका अनुसार हालसम्म ४०४ वटा नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट, ५१ वटा अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ। तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन्।

पीपीए नहुँदा आयोजना विकासका लागि आवश्यक वित्तीय व्यवस्थापन प्रभावित हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पीपीएलाई आयोजनाको वित्तीय विश्वसनीयताको प्रमुख आधार मानिन्छ। त्यसैले नयाँ ऊर्जा मिश्रणले पीपीएको बाटो खोल्नुका साथै निजी क्षेत्रको लगानी, निर्माण गतिविधि र रोजगारी विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नयाँ ऊर्जा मिश्रणको अर्को महत्त्वपूर्ण पक्ष वैकल्पिक ऊर्जा स्रोतलाई पनि स्थान दिनु हो। यसअघि नेपालको विद्युत् उत्पादन योजना मुख्यतः जलविद्युतमा केन्द्रित रहँदै आएको थियो भने सौर्य ऊर्जाको हिस्सा विस्तार हुँदै गएको छ। वायु ऊर्जाबाट हुने उत्पादन भने नगण्य छ।

जलविद्युतमा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र विद्युत् माग व्यवस्थापनका लागि भारतबाट आयात गर्नुपर्ने अवस्था कायम छ। यस्तो निर्भरता घटाउन सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जालाई ऊर्जा प्रणालीमा समेट्ने तयारी गरिएको हो। यी स्रोतको सम्भावना र उत्पादन क्षमताबारे ऊर्जा मन्त्रालयले अध्ययन गरिरहेको छ।

नयाँ ऊर्जा मिश्रणले वर्षायाम र हिउँद दुवैमा विद्युत् आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी जलाशययुक्त र पम्प स्टोरेज आयोजनाले ऊर्जा भण्डारण तथा मागअनुसार आपूर्ति व्यवस्थापनमा योगदान दिन सक्छन्। त्यस्तै, सौर्य र वायु ऊर्जाको विकासले उत्पादनका स्रोत र समयगत विविधता बढाउन सक्नेछ।

नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि नेपाल विद्युत् प्राधिकरणले आयोजनाको प्रकृति र आवश्यकताका आधारमा पीपीए प्रक्रिया अघि बढाउन सक्नेछ। यसबाट लगानीको प्रतीक्षामा रहेका हजारौँ मेगावाट क्षमताका आयोजनालाई विकासको बाटो खुल्ने अपेक्षा गरिएको छ।

३० हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै आन्तरिक खपत, प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत् व्यापारलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने चुनौती छ। उत्पादन वृद्धि मात्रै पर्याप्त नहुने भएकाले मौसमी मागअनुसार विद्युत् उपलब्धता सुनिश्चित गर्ने र निर्यात बजार विस्तार गर्ने रणनीति पनि आवश्यक हुनेछ।

नेपालले भारतसँगै बंगलादेशसम्म विद्युत् निर्यातको सम्भावना विस्तार गरिरहेको अवस्थामा सन्तुलित ऊर्जा मिश्रणले निर्यातयोग्य विद्युत् उत्पादन बढाउन सहयोग गर्न सक्छ। यसले विद्युत् व्यापारबाट विदेशी मुद्रा आर्जन गर्ने अवसरसमेत विस्तार गर्नेछ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा, बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ९८ पैसा, बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा र चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०६ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैया २७ पैसा, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार भोलि बिहान उपत्यका र खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका १४ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोलीसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत कार्यालयको सम्पर्कमा नआएपछि प्रहरीले यो सामूहिक सूचना जारी गरेको जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।