२०८३ मंसिर १४ गते आईतवार
२०८३ मंसिर १४ गते आईतवार

नेपाली काँग्रेसले पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको नाम र चिन्हको दुरुपयोग गर्न विरुद्ध कानूनी उपचार गर्ने बताएका छन् ।

पार्टीको नाम, लेटरप्याड, झण्डा तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानूनी कारबाही अघि बढाउने निर्णय काँग्रेसको केन्द्रिय समितिले गरेको उनले जानकारी दिए ।

काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिक नाम, लेटरप्याड, ब्यानर, झण्डा, छाप तथा चुनाव चिह्न रुखको दुरुपयोग गरिरहेको उनको आरोप छ । उनले केही व्यक्ति तथा समूहले पार्टीको महाधिवेशनका नाममा गरेका गतिविधिले पार्टी सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको बताए ।

काँग्रेसको असोजमा भएको १५ औँ नियमित महाधिवेशनले निर्वाचित गरेको गगनकुमार थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रिय कार्यसमिति नै वैधानिक रहेकोले भ्रममा नपर्न उनले आग्रह गरे ।

उनले निर्वाचन आयोगलगायत सम्बन्धित अधिकारप्राप्त निकायलाई पार्टीको वैधानिक पहिचान संरक्षण गर्न र आधिकारिक प्रतीकको दुरुपयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको पनि जानकारी दिए ।

उनले भने, ‘केही व्यक्ति तथा समूहले नेपाली काँग्रेसको नाम, लेटरप्याड, ब्यानर, पार्टी झन्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आएकोप्रति केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पु¥याउनुका साथै आम नागरिक तथा नेपाली काँग्रेसप्रति आस्थावान सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ । अतः नेपाली काँग्रेसको नाम, लेटरप्याड, झन्डा, चुनाव चिह्न, छाप तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न, नगराउन तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा प्रस्तुत वा प्रचारप्रसार नगर्न केन्द्रिय कार्यसमिति सम्बन्धित सबैलाई आग्रह गर्दछ। साथै यस्तो भ्रमपूर्ण कार्यमा विश्वास नगर्न, त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुक सबैमा हार्दिक अपिल गर्दछौँ । यस आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढङ्गले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुन बमोजिम आवश्यक कारबाही एवं कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।’

उनले केन्द्रिय समितिको बैठकले ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ परिमार्जनसहित पारित भएको जानकारी दिए । काँग्रेसका कार्यक्रम लामो हुने, धेरै व्यक्तिलाई आसन ग्रहण गराउने र वक्ताको संख्या अत्यधिक हुने गरेकोले त्यसलाई व्यवस्थित गर्न कार्यविधि ल्याएको उनले बताए ।

गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्। उनले आगामी मंसिर १७ गते विवाह गर्न लागेको सार्वजनिक गर्दै विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका हुन्।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। उनले आफ्नो विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे।

‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु। आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु।’

गुरुङले विवाहका लागि गोरखा रोज्नुको कारण आफ्नो पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्य रहेको बताए। आफूले अहिले आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्न पनि परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ।

‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई छैन। आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने।

उनले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने मानसिकता गलत भएको उनको धारणा छ।

‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन। दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो। त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने।

गृहमन्त्री गुरुङले आफ्नो विवाहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्न नसक्ने पनि बताए। पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि त्यसो नगरी परम्परागत शैलीमा विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए।

उनले गोरखाको उक्त स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याए। आफ्नो विवाहले गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने चाहना रहेको उनको भनाइ थियो।

‘एउटा गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला। तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ। त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ,’ उनले भने।

विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए। यद्यपि, समारोहलाई निकै सीमित र सामान्य बनाउने उनको योजना छ।

सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्‍याएको योगदान पनि स्मरण गरे। आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति आभार व्यक्त गरे।

उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए। सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर साथ दिएको स्मरण गर्दै उनले पूर्वी क्षेत्र आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे।

आफू अप्ठ्यारोमा पर्दा विभिन्न आरोप र आलोचनाबीच पनि गुरुङ समुदायले साथ दिएको उनको भनाइ थियो। उनले आफ्नो समुदायले सिकाएको देशप्रेमको पाठलाई आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने बताए।

‘आफ्नो पार्टीको झन्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ। मेरो कठिन समयमा साथ दिने सम्पूर्ण गुरुङ समाजप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भने।

गृहमन्त्री गुरुङले देशमा सुशासन र समृद्धिका लागि सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको पनि बताए। नागरिकको सुरक्षा र देशको हितका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकको सुरक्षाका लागि सुधन गुरुङ तयार छ।’

नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन् ।

 

डा. शर्माले डोल्पाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी), काठमाडौं र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कर्णालीका दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने अभियानअन्तर्गत शुक्रवार दुनैमा आयोजित स्वास्थ्य शिविरका क्रममा उनले छात्रवृत्ति घोषणा गरे । स्वास्थ्य सेवासँगै शिक्षामा पनि विपन्न समुदायको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै आउनुभएका शर्माले शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार गर्ने र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरे ।

त्यस्तै, काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा खरिद गरेर उपलब्ध गराउने प्रतिवद्धता पनि उनले जनाए ।

आर्थिक अवस्था कमजोर भएका र काठमाडौंमा उपचारका क्रममा खानाको व्यवस्था गर्न नसक्ने बिरामीलाई अस्पताल भर्ना भएको दिनदेखि डिस्चार्ज नभएसम्म खानाको व्यवस्था पनि गरिदिने उनले बताए ।

गिरिजाप्रसाद कोईराला फाउण्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा सञ्चालित शिविरमा एकै दिन करिब दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श लिएका छन् ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा बिहानैदेखि महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत विभिन्न उमेर समूहका सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो । डा. शर्माको स्वागतका लागि पनि ठूलो संख्यामा सर्वसाधारण तथा नेता–कार्यकर्ता उपस्थित भएका थिए ।

शिविरमा सहभागी हुन कतिपय सर्वसाधारण तीन–चार दिनसम्म पैदल हिँडेर दुनै पुगेका थिए । डा. शर्माले शिविरमा आएका सर्वसाधारण तथा बिरामीसँग प्रत्यक्ष भेटेर उनीहरूका स्वास्थ्य समस्या र उपचारका क्रममा भोग्नुपरेका कठिनाइबारे जानकारी लिएका थिए । कर्णाली प्रदेशमै उपचार सम्भव नभएका बिरामीको पहिचान गरी काठमाडौं ल्याएर उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उनले बताए ।

डोल्पाका नागरिकले स्वास्थ्य सेवाका लागि भोग्नुपरेको कठिनाइप्रति राज्य गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले सरकारले डोल्पाको सडक तथा यातायातको अवस्थाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । डोल्पाली नागरिकको पक्षमा आवश्यक काम गर्न उनले राज्यलाई आह्वानसमेत गरे ।

दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि समेत तीन–चार दिन पैदल हिँड्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको उपचारका लागि आफू जस्तोसुकै योगदान दिन तयार रहेको शर्माको भनाइ छ ।

शिविरमा १०३ जनाको ईसीजी, १६३ जनाको प्रयोगशाला परीक्षण, ३४९ जनाको भिडियो एक्सरे र २०४ जनाको इको परीक्षण गरिएको थियो । त्यस्तै, २७ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका ८२ जनालाई केएमसीमा रिफर गरिएको छ । अन्य सहभागीले पनि आवश्यकताअनुसार विभिन्न रोगको परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श लिएका थिए ।

केएमसीमा रिफर गरिएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । यद्यपि, काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा उपलब्ध गराउने र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पताल भर्ना भएदेखि डिस्चार्ज हुँदासम्म खानाको व्यवस्था गरिदिने डा. शर्माले प्रतिवद्धता जनाएका छन् ।

स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षामा पनि सहयोग गर्दै आएका डा. शर्माको स्वामित्वमा रहेका केएमसी र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएका छन् । छात्रवृत्तिमा अध्ययन गरेका कतिपय विद्यार्थी अहिले चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा स्वास्थ्य क्षेत्रमा कार्यरत छन् ।

सीमान्तकृत सन्थाल समुदायका चिकित्सक दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा छात्रवृत्तिबाट लाभान्वित विद्यार्थीका उदाहरण हुन् ।

यसै अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

ती शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ । थप उपचार आवश्यक पर्ने बिरामीलाई केएमसीमा रिफर गरी उपचार तथा शल्यक्रियाको व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले कर्णालीका विभिन्न जिल्लामा अभियान विस्तार गरिएको हो । केएमसीले यसअघि पनि विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचार तथा शल्यक्रियामा सहयोग गर्दै आएको छ ।

‘जनसेवा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्ने मान्यतासहित नागरिकको स्वास्थ्य समस्या पहिचान गर्ने र आवश्यक उपचारका लागि साथ दिने अभियानलाई निरन्तरता दिइने डा. शर्माले बताए । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकसम्म विशेषज्ञ सेवा पुर्‍याउनु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गरेका छन् ।

शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताए ।

उनले राजनीतिक दलको विचार, सिद्धान्त, आदर्श र नेतृत्व मन पराएर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै रास्वपालाई यस्तो पहिचानबाट बाहिर निकाल्नुपर्ने धारणा राखे ।

लामिछानेले भने, ‘आज यो प्रशिक्षण कार्यक्रमबाट कम्तीमा रास्वपालाई यो झोले युगबाट बाहिर निकाल्ने सोचेको छु मैले।’

उनले पार्टीका कार्यक्रमहरूमा सहभागीलाई वितरण गरिने झोलाको विकल्पमा जनताका मुद्दा, गुनासा र सुझाव राख्न मिल्ने फाइल प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिए। फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याड तथा अन्य सामग्री राख्न सकिने उनको भनाइ थियो।

‘हामी झोला बोक्ने होइनौँ, हामी पछि लाग्ने होइनौँ, सँगै हिँड्ने हो। झोलालाई छोडेर अब यस्तो एक किसिमको स्मार्ट डायरी सुरुवात गरौँ,’ उनले भने।

लामिछानेले पार्टीलाई विभिन्न संस्था, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोग र प्रायोजनबाट मुक्त राख्नुपर्नेमा समेत जोड दिए। पार्टीले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने र सहभागीले आफ्नो क्षमताअनुसार सामग्री खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘कसैलाई कुनै आयोजक, प्रायोजक हाम्रा लागि चाहिँदैन। अब झोलाको युगबाट निस्केर फाइलको युगमा आइसकेपछि हामी आफैँ गर्ने, हुनेले किन्ने, नहुनेको हुने साथीले किनिदिने अभियान सुरु गरौँ।’

लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट आएका कार्यकर्तालाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले आफूले व्यक्तिगत रूपमा कम्तीमा १० जना सहभागीका लागि फाइल खरिद गरिदिने घोषणा पनि गरे।

उनले आर्थिक अवस्था कमजोर भएका कार्यकर्ताले सामग्री खरिद गर्न नसकेमा पार्टीभित्रैका आर्थिक रूपमा सक्षम साथीहरूले सहयोग गर्नुपर्ने बताए । सहभागीलाई झोला वितरण नगर्न आग्रह गर्दै उनले अबदेखि पार्टीका प्रशिक्षण, अभियान, अधिवेशन तथा महाधिवेशनमा फाइल प्रयोग गर्ने अभ्यास सुरु गरिने जानकारी दिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।