नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले रसुवा बाढीपछि पीडित परिवारले भोगिरहेका समस्या समाधान गर्न तथा खोज, उद्धार, राहत र पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारसँग मागसमेत गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद मल्लले गत शनिबार त्रिवेणी–५ सिम्कमा भएको जिप दुर्घटनामा आठ वर्षीया रेशम बुढाथोकी, १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको बताए। सोही दिन त्रिवेणी–३ पातरकोटमा तीज मनाउन दाङबाट सल्यान माइती आउँदै गरेकी सीता केसीको मोटरसाइकलको चेनमा सल बेरिएर मृत्यु भएको उनले बताए।
उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै घाइतेको उपचार, दुर्घटनाको छानबिन, यात्रु बिमा, परिवारलाई राहत तथा श्रमिकको सामाजिक सुरक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।
मल्लले चाडपर्वअघि राजमार्गदेखि स्थानीय सडकसम्म जोखिम पहिचान गरी तत्काल मर्मत तथा स्तरोन्नति गर्नुपर्ने बताए। सडक पूर्वाधार सुधार, चालकको नियमित स्वास्थ्य परीक्षण, सवारी साधनको अनिवार्य प्राविधिक जाँच र सडक सुरक्षासम्बन्धी जनचेतना बढाउनुपर्ने उनको भनाइ छ।
उनले रसुवा बाढीपछि पीडित परिवारका विभिन्न संवेदनशील प्रश्नको जवाफ दिन पनि सरकारसँग माग गरे। जलविद्युत आयोजनाका सुरुङमध्ये कतिवटामा खोज तथा उद्धार सम्पन्न भयो र कतिवटामा काम जारी छ भन्नेबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने उनले बताए।
त्रिशूली, माथिल्लो त्रिशूली–१, २ र १६ लगायतका आयोजनामा खोजी कार्यको पछिल्लो अवस्था सार्वजनिक गर्न माग गर्दै उनले बेपत्ता आफन्तको डीएनए परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले आधिकारिक पहिचानको जानकारी कहिले पाउँछन् भन्ने विषयमा सरकारसँग जवाफ मागे।
मृतक तथा बेपत्ता नागरिकका परिवारका लागि राहत तथा पुनस्र्थापनाको प्याकेज तत्काल घोषणा गर्नुपर्ने उनले बताए। साथै होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन सुरु गर्न, बालबालिका केन्द्रित मनोपरामर्श तथा किशोरी सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र प्रभावित क्षेत्रमा एसईई दिने विद्यार्थीका लागि विशेष प्याकेजसहित कक्षा सञ्चालन गर्न माग गरे।
अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी सरकारले लिने एकमुष्ट नीति घोषणा गरी तत्काल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
बाढीले बगाएका सडक तथा झोलुङ्गे पुलको स्थानमा बेली ब्रिज र सुरक्षित झोलुङ्गे पुल निर्माणलाई समयसीमासहित अघि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए। क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माण र घरबारविहीन परिवारको आवास तथा दीर्घकालीन पुनस्र्थापनाको योजना तत्काल ल्याउनुपर्ने उनले बताए।
यसैगरी रोजगारीको खोजीमा फिजी पुगेका सल्यान छत्रेश्वरी–५ का दुर्गालाल पुनको निधन भएको भन्दै मल्लले उनको शव नेपाल ल्याउन, घटनामा दोषीमाथि कारबाही गर्न र परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे।
धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका धनुषाको बिदेह नगरपालिका–६ कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोलाई गए राति सोही नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका–९ पुनितादेवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
बच्चा अपहरणमा परेको सूचना पाए लग्तैबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजतलाश अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
काठमाडौंमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिता पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ।
प्रतियोगिता भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने उद्देश्यले प्रतियोगितासँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता अवधिभर दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन सञ्चालन हुनेछ। उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल तथा चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर र तत्काल उपहार वितरणलगायतका कार्यक्रम हुनेछन्।
यस्तै, प्रतियोगिता स्थलमा एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन सञ्चालन गरिनेछ। यी गतिविधिले प्रतियोगिता हेर्न आउने दर्शकलाई गेमिङसँगै मनोरञ्जन र प्रत्यक्ष सहभागिताको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ ले पब्जी मोबाइल प्रतियोगितालाई मात्रै नभई नेपालमा ई–स्पोर्ट्स र गेमिङ संस्कृतिको विकास तथा प्रवद्र्धनमा समेत योगदान पुर्याउने आयोजकको विश्वास छ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपाली गेमिङप्रेमी तथा ई–स्पोर्ट्समा रुचि राख्ने युवाका लागि क्षेत्रीय स्तरको प्रतिस्पर्धा प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
यसअघि अधिकांश बैंकका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिने व्यवस्था थियो । १०० रुपैयाँका नोट एटीएमबाटै उपलब्ध हुन थालेपछि साना दरका नोट आवश्यक पर्ने ग्राहकलाई काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता कम हुने राष्ट्र बैंकले जनाएको छ ।
बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग गर्दै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा स्वास्थ्य सेवा विस्तारका लागि चितवन मेडिकल कलेजसँग सहकार्य गरेको छ।
सहकार्यअन्तर्गत बाढी प्रभावित विदुर नगरपालिकाका नागरिकलाई लक्षित गरी सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने तयारी गरिएको छ।
शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श, विभिन्न रोगको परीक्षण र आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ। थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि मिलाइने आर्या फार्मा ल्याबले जनाएको छ।
यसअघि आर्या फार्मा ल्याबले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। राहत सामग्री सहयोगपछि प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।
बाढीपछि प्रभावित परिवारमध्ये कतिपयलाई स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा भौगोलिक कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम अघि बढाइएको हो।
बाढीपछिको अवस्थामा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण र उपचार सेवा आवश्यक रहेको भन्दै आर्या फार्मा ल्याबले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवाको अभियानलाई निरन्तरता दिएको जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरेर सिंहदरबारबाट बाहिरिने क्रममा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा तामाङ सहभागी थिए। बैठक सकिएलगत्तै सिंहदरबार परिसरबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दा काठमाडौंको प्रहरी वृत्त दरबारमार्गमा दर्ता रहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार तामाङलाई पक्राउ गर्न दरबारमार्ग वृत्तले अनुमति मागेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको हो।
प्रहरीले तामाङलाई पक्राउ गर्न आइतबार नै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। अदालतको अनुमतिपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्था र पुनःस्थापनाबारे छलफल गरेका थिए।
किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पनि उक्त छलफलमा सहभागी थिए। बाढीपछि स्थानीय तहमा देखिएका समस्या, पुनःस्थापना तथा आगामी कदमबारे छलफलमा जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसमक्ष आफ्ना धारणा राखेका थिए।
तर बैठक सकिएको केही समयमै तामाङ प्रहरी नियन्त्रणमा पुगे। ४३ वर्षीय तामाङ जनप्रतिनिधिको जिम्मेवारीसँगै व्यवसायमा समेत संलग्न थिए। उनले काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि सञ्चालन गर्दै आएका थिए।
उनैविरुद्ध परेको बैंकिङ कसुरको जाहेरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन् ।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले आफूलाई अरूको घर वा देश जलाउने राजनीतिमा कुनै रुचि नरहेको स्पष्ट पारे । उनले भने, ‘मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन । देश जलाउनग पनि छैन, सिंहदरबार जलाउनु पनि छैन। म अर्काको घर जलाउ भनेर त जान्नँ । तिमीहरूले यत्रो जलाएर आउँदा पनि जनतालाई खुसी बनाएको भए हुन्थ्यो नि त ।’
देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेपालमा राजसंस्था र शाह वंशको भूमिकाबिना राष्ट्रियताको जगेर्ना हुन नसक्ने दाबी गरे । आफूलाई कसैले कुनै बाह्य शक्ति वा सङ्गठनसँग जोडेर प्रचार गर्ने गरेकोभन्दै उनले त्यसको खण्डन गरे । वर्तमान सरकार र नेतृत्वको अदूरदर्शी नीतिका कारण देशको अर्थतन्त्र तहसनहस भएको र युवाहरू विदेशिन बाध्य भएको उनको भनाइ छ ।
प्रसाईंले बैंकहरूमा अरबौँ रुपैयाँ थुप्रिए पनि स्पष्ट भिजन र शान्ति–सुरक्षाको वातावरण नभएका कारण बाह्य तथा आन्तरिक लगानी आउन नसकेको बताए । देशका समसामयिक राजनीतिक मुद्दाहरूमाथि कडा टिप्पणी गर्दै उनले जनताले वर्तमान शासकहरूको विकल्प खोज्ने बेला आइसकेको उल्लेख गरे ।
आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ।
विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ ।
अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ ।
सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।
सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो ।
सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ ।
यद्यपि तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक खुलाइएको हो ।
गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।
नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।
सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी–२०आई क्रिकेटमा १४२ विकेट लिएका छन् । उनले अहिलेसम्म एकदिवसीयमा ७९ र टी–२० आईमा ७८ वटा खेल खेलेका छन् । सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन् ।
सन् २०२३ मा आयोजित एसिसी प्रिमियर कपको उपाधि नेपालले घरेलु मैदानमा जितेको थियो । त्यतिबेला नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए । कप्तान लामिछाने एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडीसमेत बनेका छन् ।
उनी सन् २०२३ को संस्करणमा पनि उत्कृष्ट खेलाडी चुनिएका थिए । उक्त संस्करणको प्रिमियर कपमा सन्दीपले ५५ रन बनाउनाका साथै १३ विकेट लिएका थिए ।
यसपालि उनले थप उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले एसिसी प्रिमियर कप २०२६ मा छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए । नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो ।