२०८३ आश्विन १२ गते सोमबार
२०८३ आश्विन १२ गते सोमबार

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ ।

कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिसकेको छ ।

त्यस्तै कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ । भदौ २६ गते साँझ ५ः०० बजेपछि उक्त

उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए । आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि उनी रोजगारीका लागि रसुवा पुगेका थिए । रसुवा हाइड्रोपावर कम्पनीमा कार्यरत ङिमाका दाजु दोर्जे पनि यही क्षेत्रमा काम गर्दै आएका थिए । हाइड्रोको काम उनीहरुको जीवन बनेको थियो । 

तर, गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले परिवारको खुसी एकाएक खोसिदियो । हाइड्रोपावर कम्पनीको कम्पाउन्डभित्र काम गरिरहेका ङिमा बाढीमा बेपत्ता भए । त्यसपछि उनको परिवारमा सुरु भएको पीडा अन्ततः अर्को कहालीलाग्दो घटनामा पुगेर टुंगियो ।

बाढीमा परी ङिमा हराएपछि उनकी आमा डोल्मा याङ्जी शेर्पा छोराको खोजीमा काठमाडौँ पुगेकी थिइन् । छोरा भेटिने आशमा काठमाडौँ पुगेकी ५८ वर्षीया डोल्मा याङ्जीलाई कम्पनीले छोरा अब जीवित भेटिने सम्भावन न्युन रहेको खबर सुनाएर घर फर्काइदियो ।

छोराको मृत्युको खबरले आमाको मन थामिन सकेन । छोरालाई गुमाउँदा डोल्मा याङ्जी गहिरो शोकमा डुबिन् । काठमाडौँबाट घर त फर्किइन् तर घर फर्किएपछि पनि उनले आफूलाई सम्हाल्न सकिनन् । छोराको मृत्यु भएकै निष्कर्षमा परिवार पुग्यो ।

छोराको अन्तिम संस्कार कसरी गर्ने भन्ने विषयमा उनले अर्का छोरा दोर्जे र आफन्तसँग छलफल गरिन् । भदौ १६ गते रातिसम्म सोही विषयमा छलफल भयो । राती अबेरसम्म परिवारसँगै रहेकी उनी त्यसपछि भने घरबाट निस्किइन् । उनले आफूले लगाएका सबै गरगहना घरमै सुरक्षित छाडेकी थिइन् । रातको समयमा एउटा टर्च लाइटको सहारामा घरबाट निस्किएकी डोल्मा याङ्जी त्यसपछि परिवारको सम्पर्कमा आइनन् ।

एकातिर बाढीमा बेपत्ता भएका ङिमाको पीडा, अर्कोतिर आमाको अचानक बेपत्ता हुने घटनाले परिवारमाथि अर्को बज्रपात थपियो । भोलिपल्ट भदौ १७ गते बिहानैदेखि परिवार, आफन्त र स्थानीयले उनको खोजी सुरु गरे । सम्भावित ठाउँमा खोजी गर्दा पनि उनी फेला परिनन् ।

पाँच दिनसम्मको खोजीपछि अन्ततः उनी बसोबास गर्दै आएको स्थानभन्दा निकै टाढा रहेको खोलामा मृत अवस्थामा फेला परिन् । छोराको बिछोडको पीडा सहन नसकेर डोल्मा याङ्जीले समेत संसार छाडेको घटनाले परिवार र आफन्तलाई स्तब्ध बनाएको छ ।

उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित तेछीमकी डोल्मा याङ्जी लामो समयदेखि सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ किन्जामा बस्दै आएकी थिइन् । सोही क्षेत्रतर्फ पर्ने खोलामा उनको शव भेटिएपछि पोस्टमार्टमका लागि सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगिएको थियो ।

पोस्टमार्टमपछि सल्लेरीमा नै शेर्पा परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको उनका भाइ पेम्बा शेर्पाले जानकारी दिए । केही दिनको अन्तरालमा एउटै परिवारले भोगेको यो दोहोरो वियोगले बाढीले बगाएको केवल एउटा ज्यानको कथा नभई त्यसले परिवारको मनमा छाडेको गहिरो देखाएको छ । ङिमाको बिछोडमा आँसु झारिरहेकी आमाले पनि अन्ततः संसार छाडेपछि परिवार अहिले अपूरणीय क्षतिका बीच शोकमा डुबेको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ ।

एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो ।

टनेलभित्र फसेकाहरूको खोजीका लागि शनिबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गरेर उद्धारलाई निरन्तरता दिएको छ ।

बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार टोलीले टनेलतर्फ जाने बाटो खुलाएसँग उद्धारमा सहज बनेको छ ।

टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले लगातार भग्नावशेष पन्छाइरहेको छ ।

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा रु १५ करोड सहयोग गरेको छ ।

प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले रु १५ करोडको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुन:स्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुटाउने क्रम जारी छ । सोही क्रममा प्राधिकरणले विपद् व्यवस्थापनमा संस्थागत योगदान गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुन:स्थापना र विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई समेत बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै प्राधिकरणका कर्मचारी तथा पदाधिकारीबाट समेत आर्थिक योगदान गर्ने निर्णय भएको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक सहयोगका लागि कर्मचारीको तलब र पदाधिकारीको पारिश्रमिक तथा बैठक भत्ताबाट रकम योगदान गर्ने निर्णय गरिएको उनले जनकारी दिए ।

निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले आफ्नो सुरु तलब स्केलको आठ दिनबराबरको रकम योगदान गर्नेछन् । त्यसैगरी अधिकृत द्वितीय श्रेणीका कर्मचारीले छ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले चार दिन बराबरको तलब योगदान गर्ने निर्णय गरिएको छ । सहायकस्तरका कर्मचारीबाट दुई दिनबराबरको तलब तथा श्रेणीविहीन कर्मचारीबाट एक दिनबराबरको तलब योगदान गरिनेछ ।

त्यस्तै, प्राधिकरणका अध्यक्षले आफ्नो १० दिन बराबरको तलब र दुई बोर्ड बैठक भत्ता योगदान गर्ने निर्णय भएको छ । प्राधिकरणका बोर्ड सदस्यहरूले समेत दुई दिनको बोर्ड बैठक भत्ताबराबरको रकम विपद् प्रभावितका लागि योगदान गर्ने निर्णय गरिएको छ ।

भोटेकोशी बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । दूरसञ्चार क्षेत्रसमेत विपद्का समयमा सञ्चार सम्पर्कलाई निरन्तरता दिनुपर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले प्राधिकरणले सेवा प्रदायकलाई प्रभावित क्षेत्रमा सेवा सञ्चालन तथा विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले विपद्का समयमा सञ्चार सेवा अवरुद्ध हुन नदिन तथा प्रभावित क्षेत्रमा दूरसञ्चार पूर्वाधारको पुन:स्थापना र सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन् ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने महासभाको ‘उच्चस्तरीय सामान्य बहस’मा प्रधानमन्त्री शाहले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसपटकको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ तय गरिएको छ । महासभामा हालसम्म ८१ मुलुकका राष्ट्रप्रमुख र नेपालसहित ५० मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत वर्ष नेपालमा भएको ‘जेनजी’ आन्दोलन, त्यसपछि सम्पन्न सफल निर्वाचन र निर्वाचनबाट प्राप्त जनादेशका आधारमा गठन भएको वर्तमान सरकारका प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न महासभा महत्वपूर्ण अवसर हुने बताए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सचिव राईले अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई निरन्तरता दिन तथा थप विस्तार गर्न उच्चस्तरबाटै आह्वान गर्ने अवसरका रूपमा पनि महासभालाई लिइएको बताए ।

यसैबीच, यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको विषय पनि महासभामा उठाउने तयारी गरिएको छ । बाढीले नेपाल जलवायु संकटको दृष्टिले कति जोखिममा छ भन्ने पुनः पुष्टि गरेको भन्दै सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी गरेको हो ।

सचिव राईका अनुसार विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालजस्ता मुलुक सबैभन्दा बढी प्रभावित भइरहेका छन् । त्यसैले प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण नेपालले बारम्बार व्यहोर्नुपरेको जनधनको क्षतिबारे महासभामा कुरा उठाउनेछन् ।

नेपालले हानि तथा नोक्सानीसम्बन्धी कोषलगायतका संयन्त्रबाट तत्काल र उचित क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदायसमक्ष आह्वान गर्ने तयारी गरेको छ । साथै जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायुमैत्री कृषि प्रवर्द्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउन विकसित मुलुकहरूलाई आग्रह गरिनेछ ।

महासभामा नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय र बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानबारे पनि जानकारी गराउनेछ ।

यसै अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान’ विषयक सहायक कार्यक्रम आयोजना गर्नेछ । जलवायु परिवर्तनका कारण विशेषगरी हिमाली क्षेत्रमा परेको असर र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक तथा जि–७७ र चाइनालगायतका विभिन्न मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन् । उनले राष्ट्रसङ्घले आयोजना गर्ने उच्चस्तरीय छलफल तथा साइड इभेन्टलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री खनालले छिमेकी तथा विभिन्न मित्रराष्ट्रका समकक्षी र संयुक्त राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राईलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।

 
 

। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभाको बैठकमा घटनाबारे जानकारी दिँदै सम्बन्धित कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन थालिएको बताइन्।

आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको बताइन्।

‘राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ,’ उनले भनिन्, ‘छानबिन प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही हुनेछ।’

पाँच सदस्यीय टोलीद्वारा स्थलगत छानबिन
घटनाको स्थलगत अध्ययनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। सुप्रभात श्रेष्ठ र आचारसंहितासम्बन्धी समितिका डा। अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको मन्त्री मेहताले जानकारी दिइन्।

उक्त टोलीसँग स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा। पवनजङ्ग रायमाझी पनि स्थलगत छानबिनमा सहभागी छन्।

जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत घटनाको छानबिन गर्न छुट्टै समिति गठन गरेको छ। यससँगै मन्त्रालय, मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालयबाट घटनाको जाँच अघि बढेको हो।

अस्पतालसँग २४ घण्टे स्पष्टीकरण
घटनाको जानकारी प्राप्त भएलगत्तै मन्त्रालयले अस्पतालसँग २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। अस्पतालले मन्त्रालयसमक्ष स्पष्टीकरण पेस गरिसकेको मन्त्री मेहताले बताइन्।

अस्पतालबाट प्राप्त प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको अवस्थामा रहेकी ३० वर्षीया महिला उपचारका लागि अस्पताल पुगेकी थिइन्।

प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति कक्षको शय्या नम्बर २४ मा भर्ना गरिएको थियो। आवश्यक परीक्षणका प्रतिवेदन उपलब्ध नभएकाले स्वास्थ्यकर्मीले अत्यावश्यक परीक्षण गर्न सुझाव दिएका थिए।

बिहान पौने ५ बजे मूल गेटबाहिर प्रसूति
अस्पतालको प्रारम्भिक विवरणमा महिला र उनका कुरुवा उपलब्ध गराइएको शय्यामा नरही अस्पतालबाट बाहिरिएको उल्लेख छ। बिहान करिब ४ बजेर ४५ मिनेटमा उनले अस्पतालको मूल गेटबाहिर शिशु जन्माएको जानकारी प्राप्त भएको मन्त्री मेहताले बताइन्।

प्रसूतिपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति कक्षमा ल्याइएको थियो। त्यसपछि ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटेर आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

आमा र शिशु त्यसपछि अस्पतालबाट बाहिरिएको विवरण अस्पतालले मन्त्रालयलाई उपलब्ध गराएको छ। घटनाको वास्तविकता र अस्पतालबाट सेवा प्रवाहमा भएको सम्भावित कमजोरीबारे छानबिन समितिले अध्ययन गरिरहेको छ।

प्रतिवेदनपछि कारबाही हुने
मन्त्री मेहताले प्रारम्भिक विवरण मात्रैका आधारमा निष्कर्षमा नपुगिने र छानबिन समितिको प्रतिवेदनका आधारमा जिम्मेवारी निर्धारण गरिने बताइन्।

अस्पतालले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले पनि सुरक्षित मातृत्व र नवजात शिशुको उपचारमा संवेदनशील बन्न अस्पताललाई सचेत गराएको मन्त्री मेहताले जानकारी दिइन्।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा देखिएको ग्यास अभाव र कालोबजारीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले आफूलाई दैनिक हजारौं नागरिकले ग्यास नपाएको गुनासो गर्ने गरेको बताइन् । पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बिक्री नगरेको गुनासो आउने गरेको उनको भनाइ थियो ।

‘मलाई दिनमा हजारौं कल आउँछन् आशिका दिदी, पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन्,’ उनले भनिन् ।

उनले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई दुःख दिने प्रवृत्तिप्रति प्रश्न उठाउँदै सरकारभन्दा माफिया शक्तिशाली भएको हो कि भन्ने आशंका व्यक्त गरिन् ।

‘यो त लासामा सुन छ, कान मेरो बुच्चै जस्तो भएन र सभामुख महोदय ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त?’ उनले प्रश्न गर्दै भनिन् ।

ग्यास अभावका कारण पसलमा ग्यास देख्दादेख्दै पनि जनता भोकभोकै बस्नुपर्ने अवस्था आएको भन्दै उनले सरकारको जवाफ मागिन् । जनताले दुई तिहाइ मत दिएर निर्वाचित गरेका प्रतिनिधिले यस्तो अवस्था हेर्नुपर्ने हो कि होइन भन्ने प्रश्नसमेत उनले उठाइन् ।

यदि वास्तवमै ग्यासको अभाव भएको हो भने सरकारले तत्कालै ग्यास उपलब्ध नभएको औपचारिक घोषणा गर्नुपर्ने उनको भनाइ थियो । त्यस अवस्थामा नागरिकलाई वैकल्पिक रूपमा दाउरा प्रयोग गरेर खाना पकाउन भन्नसमेत सरकार तयार हुनुपर्ने उनले बताइन् ।

‘यदि साँच्चिकै ग्यास छैन भने आजै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो । जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्नुपर्याे,’ तामाङले भनिन् ।

उनले ग्यासको समस्या समाधान नगरी पटक–पटक मन्त्री परिवर्तन गर्ने प्रवृत्तिप्रति पनि व्यंग्य गरिन् । 

महिनैपिच्छे ग्यासका लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने बताइन् ।

उनले भनिन्, ‘महिनौंपिच्छे ग्यासको लागि मात्र मन्त्रीहरु परिवर्तन गर्दै जााने हो भने ग्यासको लाईन भन्दा मन्त्रीहरुको लाइन बढी हुने छ ।’ 

 नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका छन्।

शुक्रबार जीपी कोइराला फाउन्डेसनको साधारण सभा (एजीएम) तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले यसै वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी)को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीको एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका हुन्।

उनले भने, ‘बिरामी नै पुगेन भने त थाहा छैन तर पैसा नभएर आर्थिक रूपमा उपचार गर्न नसक्ने मेजर अपरेसनहरू काठमाडौं मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर एक हजार वटा अपरेसन निःशुल्क गर्ने घोषणा हामी गर्न चाहन्छौँ।’

डा.शर्माले आगामी दिनमा छात्रवृत्तिसम्बन्धी कार्यक्रमसमेत अघि बढाउने तयारी रहेको बताए। त्यसका लागि फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालासँग छलफल गरेर थप घोषणा गर्ने उनको भनाइ छ। शुक्रबार नै कोइरालाले डा.शर्मालाई फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सुम्पेकी थिइन् । 

कार्यक्रममा शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो लामो राजनीतिक तथा व्यक्तिगत सम्बन्ध रहेको स्मरण गरे। आफूले कांग्रेसको साधारण सदस्यतासमेत गिरिजाप्रसाद कोइरालाकै हातबाट हस्ताक्षर गराएर लिएको उनले बताए।

गिरिजाप्रसाद कोइरालाले आफूलाई मेडिकल क्षेत्रमा अघि बढ्न सहयोग गरेको स्मरण गर्दै शर्माले नोबेल मेडिकल कलेजलाई सम्बन्धन दिलाउनसमेत कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताए।

गिरिजाप्रसाद कोइरालाले आफूहरूसँग कुनै व्यक्तिगत लाभ नमागी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सहयोग गरेको शर्माको दाबी थियो। कोइरालाबाट आफूले राजनीतिमा मात्रै नभई व्यवसायिक क्षेत्रमा समेत ठूलो प्रेरणा र सहयोग पाएको उनले बताए।

शर्माले गिरिजाप्रसाद कोइरालाको विरासतलाई निरन्तरता दिन आफूले फाउन्डेसनमार्फत देशका ७७ वटै जिल्लामा विभिन्न गतिविधि विस्तार गर्ने बताए।

शर्माले कांग्रेसभित्र अन्याय र ठुलाबडाको हाबी हुँदा विद्रोह गर्नुपर्ने बीपी कोइरालाको शिक्षालाई आत्मसात् गर्नुपर्ने धारणा पनि राखे।

उनले पार्टी सभापति गगन थापालाई बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक निरन्तरताका रूपमा उल्लेख गर्दै कांग्रेसलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढाउनुपर्ने बताए।

भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो ।

दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।

यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो ।

एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढायो ।

सरकारको योजनालाई दिनरात नभनी नेपाली सेनाले पाँच दिनमा नै ५७.९ मिटर लम्बाइको एक्रोब्रिज तयार पारेको छ । बिहीबार बेलुकादेखि सबै खालका सवारीसाधन सञ्चालनमा ल्याइएको छ । देवीघाटमा एक्रोब्रिज सञ्चालनमा आएसँगै बाढीले आहात भएका बाढी प्रभावित सर्वसाधारणको मनमा केही हदसम्म भए पनि मल्हमपट्टी लगाउने काम भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ जिलिङका सौगात पुडासैनी भोटेकोशी बाढीले मन छियाछिया पारे पनि सरकारले काम थालेको पाँचौँ दिनमा देवीघाटमा पुल तयार पारेर केही हदसम्म भए पनि राहतको महसुस गरेको बताउछन् ।

“भोटेकोशी बाढीले नजिकै रहेको गाउँघर फर्किन धौधौ भइरहेको थियो । आज नेपाली सेनाले छोटो समयमै पुल तयार पारेपछि बाढीले छियाछिया परेको मनमा केही हदसम्म भए पनि खुसी महसुस भएको छ”, उनले भने, “देवीघाटमा पुल नहुँदा घुमाउरो बाटो प्रयोग गरेर घर पुग्नै दुईतीन घण्टा लाग्ने गर्थ्यो । तर, अहिले पुल बनेपछि त २५ मिनेटमै घर पुगिन्छ ।”

उनीमात्रै होइन, बेलकोटगढी नगरपालिका–८ ढुङगानेगाउँका मनोज तामाङले पनि पुल बनेपछि आफ्नो घरमा पुग्न निकै सहज भएको बताए। “भोटेकोशीको बाढीले पुल बगाउँदा सर्वस्व नै गुमाएजस्तो अनुभव भएको थियो”, उनले भने, “पुल बनेपछि आशा पलाएको छ ।”

नेपाली सेनाका रथी रञ्जित थापाले नेपाली सेनाले दिनरात काम गरेर ७२ घण्टे कार्यअवधिमा नै देवीघाटमा एक्रोबिज्र तयार पारेको बताए । “नुवाकोटको विदुर र गल्छीलाई जोड्ने महत्त्वपूर्ण पुल भएकाले पनि ५५ जना प्राविधिक दिनरात खटेर कार्यसम्पन्न गरेका छौँ”, उनले भने ।

देवीघाटमा यही भदौ २० गतेदेखि पुल निर्माण सुरु भएको हो । “हामीले काम सुरु गरेको पाँच दिन भए पनि कार्यअवधि भने ७२ घण्टाभन्दा धेरै लागेको छैन”, उनले भने, “यो पुल बनेसँगै सर्वसाधारण तथा सवारीसाधन गुडाउनका लागि धेरै सहज हुने अपेक्षा गरेका छौँ ।”

नेपाली सेनाले प्राविधिक परीक्षण गरेर पुल हस्तान्तरण गरेको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले देवीघाटमा पुल बनेसँगै सर्वसाधारणको जीवनयापनलाई धेरै सहज बनाएको बताए । “नेपाली सेनाको अथक प्रयासले छोटो समयमा नै पुल तयार भयो । यो पुल बनेसँगै पृथ्वीराज मार्गसँग टुटेको सम्पर्क जोडिएको छ”, उनले भने।

उनले नगरपालिकाको तर्फबाट पनि पुल निर्माणमा आवश्यक समन्वय र सहकार्य गरिएको बताए। नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटले पुल निर्माण गरेको हो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले यसअघि देवीघाटको पुलको ५५ मिटर लम्बाइको ‘बक्सगडर’ बाढीले भत्काएपछि एक्रोब्रिज राख्न सहज भएको बताए । उनले भने, “अहिले थोरै मात्रामा रातोमाटेमा केही कटिङ भइरहेको छ । सो खण्ड पनि आज (शुक्रबार)सम्म मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसक्छौँ ।”

नेपाली सेनाको १४ नं बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काले नेपाली सेनाको रणनीतिक जगेडा पुललाई ल्याएर देवीघाटस्थित तादीखोलामा फिटिङ गरी सञ्चालनमा ल्याएको बताए । “नेपाली सेनाले एक्रोब्रिज गजुरीमा भण्डारण गरेर राखेको थियो । उनले भने, “गजुरीबाट ल्याएर सो पुल फिटिङ गरेर सञ्चालनमा ल्याएका हौँ ।”

नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाले एक्रोब्रिज अमेरिकन प्रविधिमा आधारित भएकाले पनि गुणस्तरीय र धेरै भारवहन क्षमताको रहेको बताए। पुलको भारवाहन क्षमता ६० टन छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।