२०८३ मंसिर २ गते मंगलवार
२०८३ मंसिर २ गते मंगलवार

प्रधानमन्त्री सुशीला कार्कीले सबै राष्ट्रसेवक कर्मचारीहरूलाई ‘जेनजी आन्दोलन’को भावना र उद्देश्यअनुसार सेवाग्राहीमुखी ढङ्गले काम गर्न निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै यस्तो निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सबै सरकारी कर्मचारीहरूले उच्च मनोबलका साथ जिम्मेवारी पूरा गरी चालु आर्थिक वर्षमा तोकिएका लक्ष्यहरू हासिल गर्नुपर्नेमा जोड दिइन् । जेनजी आन्दोलनका भदौ २३ र २४ मा सार्वजनिक सम्पत्ति नोक्सानी भई केही कार्यक्रम प्रभावित भएको र प्रधानमन्त्री कार्यालयको खर्च प्रगति सन्तोषजनक नरहेको उनले बताइन् । बाँकी अवधिमा सबै निकाय प्रमुखहरूले प्राथमिकताका आधारमा काम अघि बढाउनुपर्नेमा उनले बल दिइन्।

उनका अनुसार सबै निकायले स्वीकृत वार्षिक योजना, कार्यतालिका र माइलस्टोनअनुसार समयमा लक्ष्य पूरा गर्ने जिम्मेवारी लिनुपर्छ। आन्दोलनका कारण भएको क्षतिको विवरण अद्यावधिक गरी एकीकृत प्रतिवेदन तयार गर्न पनि उनले निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने कार्यमा सम्बन्धित निकायहरूबीच समन्वय, अनुगमन र सहजीकरणको जिम्मा प्रधानमन्त्री कार्यालयले लिनुपर्ने बताइन् । सुशासन र पारदर्शितामुखी शासन व्यवस्थाको लक्ष्यका साथ सरकारले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सतर्कता केन्द्रलाई सार्वजनिक निकायहरूको काममा निगरानी सुदृढ गर्न निर्देशन दिइन्।

साथै, सबै राष्ट्रसेवक कर्मचारीलाई आर्थिक वर्षका बाँकी कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाई निर्धारित लक्ष्य हासिल गर्न आवश्यक तयारी र व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन् ।

काठमाडौं– निवर्तमान आइजिपी चन्द्र कुवेर खापुङ्गलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाइएको छ ।

२३ र २४ भदौको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आज एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्गलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’

यसबारे खापुङलाई जानकारी गराउन पनि भनिएको छ ।

काठमाडौं- काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ।

स्काउटले भाडामा दिएको जग्गामा पूर्वऊर्जामन्त्री दीपक खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ। 

कांग्रेस नेता तथा पूर्वमन्त्री खड्काले त्यहाँ व्यापारिक भवन बनाएको र भाडा तिर्न नमानेको भन्दै खाली गर्न पत्राचार गरिएको थियो। 

तर खाली नभएपछि आज बिहानै काठमाडौं महानगरपालिकाको डोजरले उक्त जग्गाभित्र बनेका टहरा भत्काएको हो।

डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति  हुन थालेको छ। कुल बक्यौताको २८ किस्तामध्ये पहिलो भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

 

 

पछिल्लोपटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटिएको थियो। तीमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण केही पहिले नै लाइन काटिएको थियो। डेडिकेटेड र ट्रंकलाइन महसुल बक्यौताका कारण मात्र अब कुनै पनि उद्योगमा लाइन काटिएको अवस्था नरहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी बताए। 

प्राधिकरणले गत असोज १२ गते पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्यदिनको समय दिएको थियो। सो सूचना अनुसार १३ औद्योगिक ग्राहकले बक्यौता तिरेका थिए भने नतिरेका २५ उद्योगको लाइन काटिएको थियो।   

प्राधिकरणले कात्तिक ४ गते मुख्य ठूला ६ उद्योगको लाइन काटेको थियो। कात्तिक ७ गते राति बाँकी उद्योगको बिजुली आपूर्ति काटेको थियो।

काटिएका तीनमध्ये दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगको नियमित महसुल नै भुक्तानी गरेका छैनन् भने उद्योग पनि पहिले नै बन्द थिए । त्यस्तै निगमले सिमेन्टले आफ्नो ट्रान्सफर्मर मर्मत नगरी उद्योग नै बन्द गरेको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

दिन सहज रहेको छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ । वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ । राजनीति संगठनमा गरेको प्रयास सफल हुनेछ । परिवारमा घुमघामको तय हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिन सामान्य छ । अचानक सञ्चित धन खर्च हुनेछ । साथीबाट धोका हुनसक्छ । स्वास्थ्यले भने साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन राम्रो छ । मनमा अशान्ति बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । लगानी भए फाइदा हुने दिन रहेको छ। परिवारमा तपाईंको विश्वास घट्ने जोखिम छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन राम्रो छ । बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्न सक्छ । परिवारको साथ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिन सामान्य छ । बौद्धिक व्यक्तित्वसँगको टकरावले मन अशान्त हुनेछ । सामान्य खानेकुरामा चित्त बुझाउनुपर्ने दिन छ । अरुलाई बढी समय दिँदा परिवारमा मनमुटाव हुने जोखिम छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ । साथीभाइ दाहिना रहनेछन् । संगठनको बलमा राम्रा काम हुनेछन् । स्वास्थ्यले समेत राम्रो साथ दिनेछ । घुम्ने अवसर मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

बोलीको प्रभावले राम्रो काम बन्नेछ । लगानी गर्दा फाइदा हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास प्रभावशाली हुनेछ । परिवारलाई खुसी पार्नको लागि निकै मूल्य चुकाउनुपर्ने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बिहानै शुभ समाचार सुन्नाले मनमा उमङ्ग बढ्नेछ । आफ्ना कुरा अरुसँग साट्नु राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या देखिने दिन रहेकाले खानपानमा ख्याल गर्नुपर्ने छ । राजनीतिक संगठनबाट फाइदा हुने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ । एकल निर्णय गर्दा घाटा हुनेछ । परिवारमा तपाईंको निर्णय लागू नहुने जोखिम छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दिन राम्रो छ । आफूले सोचेका काम सहजै सञ्चालन हुनेछन् । विशेष कामको सुरुवात गर्नु फाइदा हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामान्य छ । मध्य साढेसाती दशा चलिरहेकाले हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ । लगानीको क्षेत्रबाट नाफा हुने योग छ । धनलक्ष्मी योग परेकाले लगानी गर्नुपर्ने दिन छ ।

काठमाडौँ । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरु समावेश भएका छन् ।

नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट) का सचिव रवीन्द्र ढकालले दिएको जानकारी अनुसार एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले तयार पारेको वार्षिक ‘ग्लोबल र्याङ्किङ’मा ३१ जना नेपाली वैज्ञानिकहरु समावेश भएका हुन् ।

‘स्ट्यानफोर्ड युनिभर्सिटीले हरेक वर्ष यस्तो सुची तयार गर्छ, अध्ययन अनुसन्धानका आधारमा उहाँहरुले प्रकाशन गर्नुभएको पुस्तक र ‘साइटेशन’ का आधारमा यो तयार गर्छ, सन् २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरुको सूचीमा उहाँहरु पर्नुभएको हो ।’ सचिव ढकालले भने ।

उनकाअनुसार नेपाली अनुसन्धानकर्ताहरूले अनुसन्धान, आविष्कार र दिगोपनको माध्यमबाट विश्वव्यापी प्रभाव पारेका छन् । स्ट्यानफोर्ड युनिभर्सिटीले सार्वजनिक गरेको सूची अनुसार त्रिभुवन विश्वविद्यालयका सातजना तथा नेपाल हेल्थ रिसर्च काउन्सिल, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का दुई/दुई जना वैज्ञानिकहरु समावेश छन् ।

जसमा त्रिभुवन विश्वविलालयका अजय भट्टराई, रमेशप्रसाद अधिकारी, भीष्म कार्की, नीरञ्जन पराजुली, रामप्रसाद शर्मा, गोविन्दप्रसाद ढुङ्गाना र त्रिवि शिक्षण अस्पतालका रञ्जितकुमार शाह छन् ।

त्यसैगरी बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्जीवकुमार शर्मा र सुमन रिजाल तथा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अरूणभक्त श्रेष्ठ र फिलिप वेस्टर शीर्ष वैज्ञानिकहरूको सूचीमा समावेश छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा नीरञ्जन कोइराला पनि सूचीमा छन् ।

काठमाडौँं इन्स्टिच्युट अफ कम्प्लेक्स फ्लोजका शिवप्रसाद पुडासैनी, नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमाल, ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्टका छविलाल रानाभाटको नाम सो सूचीमा उल्लेख छ ।

ट्रान्स कल्चरल साइकोसोसल अर्गनाइजेशन नेपालका मार्क जेडी जोर्डन्स, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्ट्च्युटका सन्तोष नेपाल, गण्डकी युनिभर्सिटीका राजकुमार थापा त्रिविका हरि (थर उल्लेख नभएको) छन् ।

सिईएमवाइटी पिटर आर हब्स, ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका सुरेन्द्र केसी, काठमाडौँ विश्वविद्यालयका सुदनकुमार झाको नाम पनि समावेश छ । त्यसैगरी ग्रेड एकेडेमी प्रालिका रन्दिप रकुवाल, काठमाडौंँ क्यान्सर सेन्टरका सुनिलकुमार श्रेष्ठ, ग्रेट एकेडेमी प्रालिका गणेशकुमार अग्रवाल छन् ।

बायो टेक्नोलोजी सोसाइटी अफ नेपालका विकास बराल, लुम्बिनी मेडिकल कलेजका आलोक आत्रेय, एनएनआरसिका उत्तम पौडेल, सिलिकन स्क्रिप्ट साइन्स प्रालिका पुकार खनाल, ग्लोबल हेल्थ रिसर्च एण्ड मेडिकल इन्टरभेन्सन फर डेभलपमेन्टका सुरज भट्टराई र कलेज अफ मेडिकल साइन्सेज नेपालका विपिन चौरसिया छन् ।

सो सूचीमा नेपालका वैज्ञानिकहरु समावेश हुनुले अन्तरराष्ट्रियस्तरमा नेपालका वैज्ञानिकहरुको क्षमताको उत्कृष्ट मूल्याङ्कन भएको नाष्टका सचिव ढकालले बताए ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूले एकता नगरेको बताएका छन्।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर भएको जिकिर गरे।

 

उनले भने, ‘इतिहासमा यति संकटमा सायद कहिल्यै परेको थिएन, सुगौली सन्धिपछिको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ। त्यसैले यो एकता गरिहालौँ चुनाव जित्नको लागि भनेर गरिएको होइन।’

जेन जेड आन्दोलनले आफैँलाई बदल्न धक्का दिएकै कारणले एकता प्रक्रिया चाँडो भएको बताए।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण केहीको सातो गएको टिप्पणी गरेका छन् ।

बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको टिप्पणी गरे ।

आफूहरूको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए । आफूहरूलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ छ ।

‘एकताको प्रक्रिया अघि बढिरहेको छ । एकताको यो अभियान अघि बढिरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘होस् हवास गुमेको हुनुपर्छ । होस् गुमाउनु आवश्यक छैन । गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन । बरु हामीलाई धन्यवाद दिनुहोस् । मैले त बिगारेँ, तपाईँहरूले सपार्दै हुनुहुन्छ भनेर । धन्यवाद प्रस्ताव पास गर्नुस् । धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ ।’

उनले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई धन्यवाद दिए ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल सोमबार एक विशेष समारोहबीच शिलान्यास गरिएको छ।

करिब ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास कार्यक्रममा पूर्व सांसद एवं नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य स्वागत गरेका थिए।

कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पुल शिलान्यास स्थलमा बिहानैदेखि नै स्थानीय बासिन्दाहरूको भीड लाग्नुका साथै उत्साह, उमङ्ग र हर्षोल्लासको वातावरण देखिन्थ्यो।

स्थानीयका अनुसार गोहिहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो। वर्षायाममा आवत–जावत जोखिमपूर्ण मात्र होइन, स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो। “हामीले यो पुलका लागि वर्षौँदेखि माग गर्दै आएका थियौं, आज त्यो सपना पुरा हुँदैछ,” स्थानीयले खुसी व्यक्त गरे।

पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ। पुल बनेपछि करिब हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा उभिन थालेका छन्।

राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको सर्वसाधारणले खुलेर व्यक्त गरे।

सो अवसरमा मेयर मोहन तुम्वापोले नगरपालिकाले समन्वय, सहयोग र निगरानीमार्फत निर्माणलाई प्राथमिकतामा राख्ने बताए भने प्रदेश सांसद गीता तिम्सिनाले पुल निर्माणले स्थानीय विकासको नयाँ अध्याय सुरु गर्ने बताइन्।

आफ्नै आँखै अगाडि प्रतीक्षित संरचना निर्माणको शुरुवात देख्न पाएका स्थानीयहरू खुसी र आशावादी देखिन्थे। नौमती बाजाको सुरिलो धुन र फूलमालाको स्वागतबीच सम्पन्न कार्यक्रमले आज पथरीशनिश्चरेमा विकासको नयाँ आशा फेरि एकपटक प्रबल रूपमा गुञ्जियो।

काठमाडौँ । नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईँको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ ।

सरकार र प्रसाईँ समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइएको नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले जानकारी दिए ।

प्रसाईँ समूहले नेपालको संविधान खारेज गरी हिन्दु अधिराज्यसहितको राजसंस्था स्थापना गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने, लघुवित्त र सहकारीको २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गर्नुपर्ने, देशमा नै रोजगारी सिर्जना गर्नुपर्ने, विदेशबाट फिर्ता भएका युवाहरूलाई ३ प्रतिशत सहुलियत व्याजमा ३० लाख रुपैयाँसम्मको विनाधितो प्रोजेक्ट ऋण उपलब्ध गराउनुपर्ने, कृषि ऋण २ प्रतिशत व्याजमा उपलब्ध गराउनुपर्ने, बैंकको कालोसूचीमा रहेका ६ लाख नेपालीको नाम हटाउनुपर्ने, प्लस टु भन्दा माथिको उच्च शिक्षाको लागि विदेश जान बन्द गरी नेपालमा नै पढाउने व्यवस्था गर्नुपर्ने, निजामती, कर्मचारी, शिक्षक, सेना प्रहरीको मासिक तलब १ लाख रुपैयाँ पुर्याउनुपर्ने, नेपालमा एनजिओ, आईएनजिओ खारेज गर्ने लगायतका माग राखेको छ । गृहमन्त्री ओम प्रकाश अर्यालले सरकारले आफ्नाहरूका मागलाई विशेष ध्यान दिएर अगाडी बढ्ने आवश्वासन दिएको प्रवक्ता कल्पितले बताए ।

उनले सरकारसँग वार्ता पनि जारी राख्ने र आन्दोलन पनि जारी रहने जानकारी दिए । प्रसाईँ समूहले मङ्सिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । आन्दोलन अगाडी नै आफूहरूको माग सरकारले पूरा गरेमा भने आन्दोलन नगर्ने प्रवक्ता कल्पितले जानकारी दिए । सरकारसँगको वार्तामा प्रसाईँ भने सहभागी भएनन् । प्रसाईँको समूहबाट सङ्गठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, देवीप्रसाद संग्रौला लगायतका सदस्यहरू सहभागी थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।