
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ सुकेधारामा आँखामा खुर्सानीको धुलो हाली सुनको सिक्री र मोबाइल लुटपाट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१ सिमली गाउँ बस्ने ४० वर्षीय गणेश कार्की रहेका छन् । प्रहरीका अनुसार काठमाडौंको जडीबुटीस्थित मनोहरा खोला करिडोर क्षेत्रमा फेला परेका ती व्यक्तिलाई गएराति नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि समेत खुर्सानीको धुलो प्रहार गर्दै खुकुरी आक्रमणको प्रयास गरेका थिए।
प्रहरीले आत्मरक्षाका लागि खुट्टामा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ । प्रहरीले टिकटकर तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याएको छ । रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरिएको हो ।
उनलाई थाइल्याण्डबाट पक्राउ गरी शनिबार राति नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन् । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ ।
उनीविरुद्ध गत चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो । तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन् ।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गरेका छन् ।
उनले बजेट गरिबको लागि नभई निजी क्षेत्रलाई धराशायी बनाउने र धनी वर्गलाई मात्र लक्षित रहेको दाबी गरेका छन् ।
प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको चर्को विरोध गर्दै भने, ‘गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो । सरकारले निजी क्षेत्रलाई सिध्याउन खोजेको छ ।’
उनले आफू र आफू सञ्चालित संस्थाहरुले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिँदै आएको बताउँदै राज्यले यस्तो सुविधा खोस्न नहुने तर्क गरे ।
यसैगरी उनले सरकारले आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरेकोप्रति असन्तुष्टि जनाए । उनले सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भएको उल्लेख गरे ।
उनले भने, ‘मेरो हस्पिटलमा लासबाट पैसा उठाएर, बिरामीबाट पैसा उठाएर पनि म भ्याट बुझाउँछु ? बरु हस्पिटल बन्द गर्दिन्छु । सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भयो । महिनाको जम्मा २८ हजार आउँछ । एउटा केही गतिलो किनेर लैजान सकिँदैन ।’
देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले देशले २१ खर्बको बजेट ल्याएको बताए । यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित टिप्पणी गर्दै प्रसाईंले सुकुम्बासी बस्ती हटाउने अभियानको आलोचना गरे ।
उनले खोला किनार र सार्वजनिक जग्गामा बसोबास गर्दै आएका भूमिहीन तथा विपन्न नागरिकहरूको आवास भत्काइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
यस्तै, उनले वर्तमान सरकारको आर्थिक नीति, राजस्व संकलन क्षमता तथा सार्वजनिक खर्च व्यवस्थापनमाथि पनि प्रश्न उठाए । बजेटको आकार र राज्यको आम्दानीबीच ठूलो अन्तर रहेको दाबी गर्दै उनले सरकारले व्यावहारिक आर्थिक योजना ल्याउन नसकेको आरोप लगाए ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।
उनी अस्वस्थ भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो। आज थप जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि भर्ना गरिएको हो’,आचार्यले भने ।
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१/०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका बस्ने वर्ष ४१ को नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका-५ बस्ने ४५ वर्षका रामप्रकाश थारुको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० बस्ने २७ वर्षका सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउँपालिका-४ बस्ने अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहानगरपालिका-५ बस्ने २८ वर्षे राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ ।
घाइतेहरूको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्याएको थियो । उनीहरूको उक्त अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्यो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गरिरहँदा संसद् भवनमा बजेटको अंक र कार्यक्रमभन्दा बढी प्रधानमन्त्री बालेन्द्र शाहले लगाएको ‘सेतो जुत्ता’ले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ ।
शुक्रबार बजेट भाषणको दिन अन्य केही सांसदभन्दा केही ढिलो संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री शाहले बजेट भाषणको सम्पूर्ण समय निकै ध्यानपूर्वक सुने । भाषण सकिएपछि उनले त्यहाँ उपस्थित सांसदहरूसँग शिष्टाचार भेटघाट तथा हात मिलाउने क्रममा स्वदेशी ब्रान्डको जुत्ता प्रदर्शन गरेपछि माहोल फरक बन्यो ।
सांसद तथा गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणासँग हात मिलाउने क्रममा प्रधानमन्त्री शाहले आफूले लगाएको गोल्डस्टार जुत्ता देखाएका थिए । सोही क्षणको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।
प्रधानमन्त्री भएयता शाहले सेतो जुत्तालाई आफ्नो पहिचानको रूपमा अघि बढाउँदै आएका छन् । यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि उनले सेतो जुत्ता नै लगाएका थिए । नेपाली उत्पादनलाई प्राथमिकता दिने उनको यो तरिकामा धेरैले समर्थन गरिरहेका छन् । कतिपयले भने विषयान्तर स्टन्टबाजीसमेत भनेका छन् ।
यसबारे सांसद विदुषी राणाले भनिन्, ‘संसद्बाट बाहिर निस्कने क्रममा बालेनजीले मलाई आफ्नो जुत्ता देखाउनुभयो, उहाँले नेपाली ब्रान्ड गोल्डस्टार लगाउनुभएको रहेछ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उहाँको यो कदम निकै सकारात्मक छ ।’
उनले आफूहरूले गोल्डस्टारलाई फरक शैलीमा ब्रान्डिङ गरिरहेको बताउँदै प्रधानमन्त्रीको साथले यसलाई थप हौसला मिलेको उल्लेख गरिन् ।
आगामी आर्थिक वर्षको बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको हुने भएको छ । चालु आर्थिक वर्षको भन्दा यो २५ प्रतिशत ठूलो बजेट हो ।
गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । उनले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ बजेट विनियोजन गरेका छन् ।
निजामती कर्मचारी र सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको १० प्रतिशत तलब बढेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी तथा सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको तलब १५ प्रतिशत बढाएका थिए ।
तर, सो आर्थिक वर्ष यता कर्मचारीको तलब बढ्न सकेको थिएन ।
निजामती सेवा ऐन, २०४९ को दफा २७ मा कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत ती वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महँगी भत्ता समेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने व्यवस्था छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब न्यूनतम तलब ४० हजार रुपैयाँ हुने र अधिकतम १ लाख हुने बताए ।
सरकारले राष्ट्रिय दलको मान्यता पाएका ६ वटा राजनीतिक दलहरूलाई अनुदान दिने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत् २०८२ फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय मान्यता पाएका दललाई अनुदान दिने बताए ।
उनले दलहरूलाई अनुदानका लागि व्यावक बहस गरी उक्त योजना कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।
वाग्लेले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिँदा भ्रष्टाचार नियन्त्रण गर्न मद्दत पुग्ने बताएका छन् ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकलाई शेयरबजारमा भित्र्याउने भएको छ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै गैर आवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउने बताएका हुन्।
गैरआवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउन सरकारले विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्था संशोधन गर्ने घोषणा गरेका छन्।





