२०८३ जेष्ठ २ गते शनिबार
२०८३ जेष्ठ २ गते शनिबार

रौतहट । रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए ।

डिएसपी बस्यालका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

‘उनले वास्तवमै अर्काको नाममा मत खसाल्न खोजेका हुन् वा होइनन् भन्ने विषयमा यकिन भइसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले बताए ।
निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका-४ मालुस्थित मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ ।

तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको हो।

मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई बोलाइएको छ ।

सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद भएर मतदान राकीएको थियो ।

देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका छन् । केही मतदाता हिँडेरै भोट हाल्न पुगेका छन् । केहीलाई भने सन्तान र आफन्तको सहारामा पनि मतदानस्थल लगियो ।

‘आफ्नो भोटले देश बन्छ’, ‘भोट हाल्दा खुसी लागेको’ जस्ता अभिव्यक्ति जेष्ठ नागरिकहरूबाट आएका छन् । आसन्न निर्वाचनमा जेष्ठ नागरिकदेखि जेन- उमेर समूहका सबैले उत्साहजनक उपस्थिति जनाएका छन् । जेष्ठ नागरिकहरूको सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तव्यबोधप्रति उच्च सम्मान देखिन्छ ।

बझाङको जयपृथ्वी नगरपालिका-२ स्थित बालविकास आवासीय विद्यालय मतदान केन्द्रमा १०५ वर्षीया जेष्ठ नागरिक जंगादेवी खड्काले मतदान गरेकी छन् ।

त्यसैगरी भोजपुर नगरपालिका–४ दावाँकी १०२ वर्षीया चन्द्रमाया खड्काले सिद्धेश्वर माध्यमिक विद्यालय दावाँबाट मतदान गरेकी छिन् ।

बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आफूलाई खुशी लागेको बताएका छन् ।

उनले भने, ‘यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।’

स्याङजाको गल्याङ नगरपालिका–७ स्थित कालिका मतदान केन्द्रमा ९९ वर्षीय खेमप्रसाद सापकोटाले मतदान गरेका छन् । ‘मेरो भोटले देश बन्छ’ भन्दै उनले मत हालेका छन् ।

मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।

झापा १ को त्यही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन् । उनी छोरा र नातिको सहयोगमा मतदान गर्न आएकी थिइन् ।

तनहुँमा १०७ वर्षीय गणेशबहादुर रावतले मतदान गरेका छन् । शुक्लागण्डकी नगरपालिका–३ निवासी उनले निर्मल आधारभूत प्राथमिक विद्यालय पुगेर मतदान गरेका हुन् । मतदानपछि उनले मताधिकार प्रयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनलाई मतदानमा निर्वाचन कर्मचारीले सहयोग गरेका थिए । त्यस्तै, स्याङ्जामा पनि १११ वर्षीया वृद्धाले मतदान गरेकी छन् । उनलाई बोकेर मतदान केन्द्रसम्म पुर्‍याइएको थियो ।

दमौली(तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेको हो ।

मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

दोलखामा मतपत्र र स्वस्तिक छाप लुटेपछि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ।

तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले जानकारी दिएका छन्।

उनकाअनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए।

यसअघि सोही ठाउँमा खटिएका कर्मचारीमाथि हातपात भएको थियो भने प्रहरीले हवाईफायरसमेत गरेको थियो।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष सुशासनमा काम गर्न चाहेको भन्दै अवसर दिन मतदातालाई आग्रह गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका हुन् ।

उनले आफू सर्लाही ४ को उम्मेदवार हुँदै गर्दा मधेसमा गएर आफूलाई राजनीतिक पूर्णता पाएकोसमेत बताएका छन् । पहाड र काठमाडौँका बारेमा जानेको भए पनि मधेसका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको बताए ।

उनले त्यहाँको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरु पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए ।

सभापति थापाले भने, ‘ त्यसलाई त बाहिर बाहिरबाट हेरिन्थ्यो नि त अहिले त बस्तीमा गइयो हेरियो उनीहरुसँग बसियो । सर्लाही ४ ले मलाई राजनीतिक पूर्णता दियो ।’

उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न ससकेको पाठ त्यहीँ गएरमात्र सिकेको बताए ।

उनले सरकारमा बस्दै गर्दा अरुको बजेट काटेर भए पनि मधेसको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए । उनले भने, ‘अरबौँ पैसा लागोस् । बरु मन्त्रालय काटौँ । मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो ।’

उनले उम्मेदवार मात्रै हुँदा र प्रधानमन्त्री हुँदाको जिम्मेवारीबोधबारे छोटो प्रतिक्रिया दिए – मजा आउँदो रहेछ ।

मतदान गरेपछि गगन थापाले भने, ‘मैतीदेवीको मतदान केन्द्रमा मतदान गर्दा प्रतिनिधि सभाको पहिलो निर्वाचनमा सुप्रभा घिमिरे दिदीलाई मत गरेको थिएँ । त्यसपछि निरन्तर उम्मेदवार म आफैँ थिएँ । मेरो मत आज साँझ मेरा लागि गणना हुँदैन । यो मेरो लागि नयाँ अनुभव भयो । मलाई के कुरामा खुशी लागेको छ भने जसरी मलाई यो ठाउँमा एउटा युवा हुँदै गर्दाखेरी यहाँका मेरा अभिभावकहरुले, मेरा साथीभाइहरुले बडो मायाका साथ मलाई एउटा कामगर्ने जिम्मेवारी दिनुभयो । आज मैले अलि माथिल्लो उमेरमा गैसकेपछाडि मैले त्यो बेलाको मेरै उमेरको सचिन तिमल्सेनालाई आज मेरो मताधिकार प्रयोग गरेर हिजो मैले कामगर्ने जिम्मेवारी पाएको जस्तै गरी जिम्मेवारीमा पुग्ने गरी त्यो अधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको छ ।’

सर्लाही ४ को दुई ओटा मतदान केन्द्रमा सामान्य झडप भएको भन्ने प्रसङ्गमा सभापति थापाले भने, ‘दुई ओटा मतदान केन्द्रमा सामान्य तनावको स्थिति भएको रहेछ । उहाँहरु तुरुन्तै बसेर छलफल भइसक्यो भन्नुभएको छ । मैले प्रशासनको साथीहरुलाई पनि हिजो भनेको छु यो भन्दा अगाडि यो निर्वाचन क्षेत्रमा जस्तोसुकै ट्रयाक रेकर्ड भएको भएतापनि यो पटक निर्वाचनको दिनसम्म आइपुग्दा कुनै पनि घटना भएको छैन । सबै जनाले भन्नुभएको छ पहिलो पटक तपाई यहाँ आइसकेपछि एकदमै सभ्य ढंगले प्रचारप्रसार भएको छ । प्रोभोक गर्ने कोसिस नभएको होइन बेलाबेलामा प्रोभोक गर्ने कोसिस गर्नुभयो । मैले प्रोभोक हुनुहुँदैन भन्दै आएँ । आज पनि म त्यो हुन दिन्न । मलाई के विश्वास छ भने अलिअलि तनावको स्थिति भयो भने त्यसलाई सम्हाल्छौँ । किनकि नेपाली कांग्रेस पार्टी त्यहाँको मूल पार्टी हो । हामीले त्यो घटना हुन नदिने कुरामा हाम्रो भूमिका हुनुपर्छ हामी गर्छौँ ।’

काठमाडौँ ४ का मतदाताले के भनिरहेका छन् त भन्ने प्रश्नमा सभापति थापाले भने, ‘मैले त्यस्तो अन्तरक्रिया गर्न त पाएको छैन । केहीसँग बुथमा भेट्दा यो भन्दा पहिला तपाईंलाई मत हालेको अहिले सचिनलाई मत हाल्दैछौँ भन्नुभयो । कतिजनालाई चाहिँ सर्लाही ४ को चिन्ता छ । सर्लाहीमा चुनावी प्रचारमा हिँडिरहँदा प्रत्येक दिन १०–१२ जना जानुभयो । मलाई खुशी पनि लाग्यो । यहाँका साथीहरु पुग्दा खुशी लाग्यो । कति मतदाता रिसाउनु पनि भएको छ । म त परिवार बढाउन गएको हो । मैले यो बसाई छोडेको त होइन । मैले व्यक्तिगत अनुभव गर्न आवश्यक थियो । यहीँको राजनीति गरेँ । मैले सरकारमा जाँदा संसदमा बस्दा मेरो सोचाइ बदलिनु पर्छ ।’

उनले मधेश गएर धेरै सिकेकोसमेत बताए । सभापति थापाले भने, ‘मलाई आफूलाई फराकिलो बनाउनका निम्ति मधेस जानुपर्ने थियो । अहिले गइसके पछाडि गएको १०–१२ दिनमा मैले के कुरा महसुस गरेँ भनेदेखि मलाई काठमाडौँबाट यत्रो वर्ष राजनीति गर्दै गर्दाखेरी मलाई मधेसका बारेमा जुन ज्ञान छ जानकारी छ भन्ने थियो मलाई त केही प्रतिशतमात्र रहेछ । त्यो भित्रको समाजको विविधता, त्यहाँभित्रको समस्या, संरचना, त्यहाँभित्रको यतिधेरै कुराहरु । अहिले मैले ती सबै कुरा बुझेर त्यसको प्रतिनिधित्व गर्न पाउने अवसर गर्दै गर्दाखेरी मैलै राष्ट्रका लागि निर्वाह गर्ने भूमिका अझ बढी छ ।’

उनले अगाडि भने, ‘मैले काठमाडौँको यत्रो वर्ष अनुभव गरेँ । पहाडको अनुभव मसँग जति पनि छ । मधेसको अनुभव गर्ने कुरामा पूर्ण खुशी छु । हाम्रो विविधता भएको देश हो । विविधता भएको देशमा मैले लिने नीतिहरुले, मैले लिने निर्णयहरुले म यस्तो पोजिशनमा छु अब मैले सबैतिर समान दृष्टिकोण कोर्नसक्छु । मलाई पहाडको कुरा पनि थाहा छ । सहरको कुरा पनि थाहा छ । गाउँको कुरा पनि थाहा छ । मधेस नगएको भए मैले यतिकुरा भन्न पाउने थिइन ।’

दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।

‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने ।

दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको बन्दुक पड्किंदा मतपेटिकामा क्षति भएको छ ।

कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।

इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्केको हो ।

गोली पड्किंदा मतपेटिकामा क्षति भएको छ । उक्त मतपेटिकामा ४ वटा मत खसेको थियो । मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

अर्को मतपेटिकामा राखेर अहिले मतदान सुरु भइरहेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार सुरक्षाकर्मी लड्दा हतियार पड्केको हो ।

काठमाडौँ– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरेका छन्।

रोल्पाको परिवर्तन गाउँपालिका ३ थुनिकोटस्थित बालशिक्षा मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। यस केन्द्रमा पहिलो मतदाताका रुपमा उनले मतदान गरेका थिए।

१० वर्षे सशस्त्र युद्ध रोकेर संसद छिर्न विप्लवले २०६४ सालमा मतदान गरेका थिए। त्यसपछि भएका तीन वटा निर्वाचनमा उनले भाग लिएका थिएनन्।

क्रान्ति पुरा नभएको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीबाट उनीसहितका नेताहरू अलग भएका थिए। त्यसपछि विप्लव समूहको पार्टी निर्वाचनमा भाग नलिने मात्र होइन, निर्वाचनमा उनीहरू सुरक्षाको चुनौतिमसमेत बन्ने गरेका थिए।

तर १८ वर्षपछि जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा भएको निर्वाचनमा विप्लव नेतृत्वको माओवादी पनि चुनावमा भाग लिएको छ। उनी आफै पनि निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका थिए।

यद्यपि पछि उनी प्रतिष्पर्धाबाट बाहिरिएका थिए।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं। ५ अन्तर्गत धापासीस्थित निमावि फैमालचुली मतदान केन्द्रमा मतदान गरेकी छिन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री कार्कीले आफ्नो मताधिकार प्रयोग गरेकी हुन्।

निर्वाचन आयोगका अनुसार देशभर बिहान ७ बजेदेखि मतदान सुरु भएको छ भने साँझ ५ बजेसम्म मतदान हुने व्यवस्था गरिएको छ। निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसैबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्ने क्रम जारी रहेको छ। नागरिकहरूलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।