
जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिने बताइएको छ।
स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा र जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको छ। ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको हुँदा सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा पनि क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता रहेको छ।
सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सकिने भएकाले उद्धार टोलीलाई सम्भावित जोखिमको मूल्याङ्कन, फसेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन तथा उद्धार रणनीति तय गर्न यो प्रविधिले महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार नयाँ प्रविधिको प्रयोगले सुरुङभित्र उद्धारकर्तालाई प्रत्यक्ष प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न तथा कठिन परिस्थितिमा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन मद्दत पुग्नेछ।
जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा हुने दुर्घटना र विपद्का घटनामा खोज तथा उद्धार चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो अत्याधुनिक प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
भोटेकोशी बाढीपछि फेला परेका एक हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ । फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका एक हजार १२ वटा डिएनए नमूना सङ्कलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार डिएनएलगायत आवश्यक विवरण सङ्कलनपश्चात् ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो ।
व्यवस्थापनका क्रममा प्रत्येक शवको सङ्केतरकोड नम्बर जमिनमुनि तथा माथि राखिएको छ । त्यस्तै शव व्यवस्थापन गरिएको स्थानको ‘जिपिएस लोकेशन’, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन् ।
जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डिएनए नमूना, सङ्केत नम्बर, हुलिया, सनाखतसम्बन्धी विवरण, शव परीक्षण प्रतिवेदन, मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिएको छ । भविष्यमा कुनै परिवाररआफन्तले आफ्नो सदस्यका रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्लेले उल्लेख गरे ।
पहिचान नभएका एक हजार २७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा ‘अपलोड’ गरिएका छन् । आज बिहानसम्म बाढीमा परी निधन भएका एक हजार ३४४ वटा शव विभिन्न जिल्लामा फेला परेका छन् । बाढीप्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापनलगायतमा हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार बाढीमा परी बेपत्ता भएका चार हजार ८८६ को खोजी भइरहेको छ । बाढीको जोखिममा रहेका तटीय क्षेत्रका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा खोज तथा उद्धार र सडक अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु २५ लाख राहत उपलब्ध गराउने भएको छ ।
सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट तत्काल रु १५ लाख र ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवालारआश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि,२०७९’ बमोजिम रु पाँच लाख तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम रु पाँच लाखसमेत गरी कुल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलकोे अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिइ भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पायकपर्ने नेपाल एपिएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढीका कारण मृत्यु भएमा राहतस्वरूप प्रतिव्यक्ति रु एक लाख तत्काल उपलब्ध गराउने तथा बाढीबाट मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारकसमेत निर्माण गर्ने भएको छ ।
बाढीमा परी सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरीलाई राहतस्वरूप जनही रु ५० हजार प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ ।
बाढीबाट अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा रु एक लाख, घरवारविहीन भएमा एक लाख र आंशिक रूपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई रु ५० हजारसम्म तत्काल उपलब्ध गराइने सहप्रवक्ता थापाले जानकारी दिए ।
सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट रु १५ करोड ५० लाख रकम जम्मा गर्ने निर्णय गरेको छ । टिमुरेस्थित बोर्डर आउट पोष्ट र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीमा ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरीको हकमा भने रकम कट्टा नगरिने उनले जानकारी दिए ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य आज ११ औं दिन पनि तीव्र रूपमा जारी छ ।
परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो २ बजेसम्मको अवस्थाबारे जारी गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत छन् । मन्त्रालयका अनुसार विपद्पछि हालसम्म ३०० भन्दा बढी विदेशीसहित कुल १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ४ जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ । जसमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट २ नेपाली, माथिल्लो त्रिशूली १ बाट १ चिनियाँ नागरिक र बेत्रावतीस्थित एक घरबाट १ नेपाली नागरिक रहेका छन् ।
यस्तै, त्रिशूली ३ ‘ए’ को सुरुङबाट शुक्रबार थप एक जनाको शव निकालिएको छ । अन्तर्राष्ट्रिय उद्धार टोली र प्राविधिक परिचालनमाथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ‘ए’, ३ ‘बी’, यु २१६ हाकु, चिलिमे तथा लाङटाङ लगायतका क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको समन्वयमा भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीहरू परिचालित छन् ।
खोज कार्यलाई प्रभावकारी बनाउन छिमेकी तथा मित्रराष्ट्रहरूबाट प्राप्त अत्याधुनिक उपकरण, ड्रोन र लोड क्यारियरहरूको प्रयोग भइरहेको छ ।यसैबीच, अस्ट्रेलियाको १५ सदस्यीय ‘डार्ट’ टोली शुक्रबार र मलेसियाको ११ सदस्यीय ‘स्मार्ट’ टोली शनिबार बिहान काठमाडौं आइपुगेर कार्यक्षेत्रमा खटिएका छन् ।
हालसम्म २४ वटा उडानमार्फत विभिन्न देश तथा अन्तर्राष्ट्रिय नियोगहरूबाट राहत सामग्री तथा उद्धार टोली नेपाल भित्रिइसकेका छन् । उच्चस्तरीय कूटनीतिक ऐक्यबद्धताविपद्को यस घडीमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग विभिन्न मुलुकका समकक्षी तथा विशिष्ट विदेशी कूटनीतिज्ञहरूले टेलिफोन संवाद गरी समवेदना तथा सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । यसै सन्दर्भमा दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार साँझ काठमाडौं आइपुग्दै छन् । नेपालले खोज, उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमतायुक्त ड्रोन, एलआईडिएआर, बेलीब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट, शव संकलन ब्याग, ग्राउन्ड पेनेट्रेटिङ रडार, मोबाइल एयर ट्राफिक कन्ट्रोल प्रणालीलगायतका प्राविधिक सामग्री सहयोगका लागि थप अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार गल्छी–त्रिशूली सडक सञ्चालनमा ल्याउन नेपाली सेनाको इन्जिनियरिङ टोलीले तादी खोलामा अस्थायी पुल निर्माणको काम अघि बढाएको छ । स्थानीय आवतजावत सहज बनाउन त्रिशूली इन्द्रेणीघाट र देवीघाटमा दुईवटा तुइन सञ्चालनमा ल्याइएको छ।
चीनको केरुङ क्षेत्रमा रहेका नेपालीमध्ये १५५ जना शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् भने थप १२७ जना शनिबार सोही नाकाबाट फर्कने क्रममा छन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । कार्यकारी निर्देशक साहले निगमले हाल प्रतिसिलिण्डर ४ सय रुपैयाँ घाटा व्यहोरेर ग्यासको कारोबार गरिरहेको जानकारी दिए ।
उनले व्यवसायीहरूले पनि घाटामा कारोबार गर्नुपरेको गुनासो गरिरहेको सन्दर्भ उल्लेख गर्दै उपभोक्ताले मूल्य महँगो भएको भनी गर्ने गुनासोलाई व्यावहारिक रूपमा हेर्नुपर्ने बताए । उनले नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकोले मूल्यभन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
मूल्यको तुलना गर्दै साहले भने, ‘आज बजारमा एक किलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ । तर करिव २१ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ । यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने ? पैसा २१ सय रुपैयाँ हुनु ठूलो कुरा होइन, मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने हो । यो हामी सबैको साझा दायित्व हो ।’
उनले बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा चुनौती थपिएको भएपनि निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पारे ।
चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी रहेको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउन चुनौती भइरहेको छ।
हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिएका छन्। २५० मिटर लामो सुरुङमध्ये हालसम्म करिब १०० मिटर भाग सफा गरिएको छ।
तर म्यानुअल रूपमा मात्र उद्धार कार्य अगाडि बढाउन कठिन भएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउने तयारीलाई उच्च प्राथमिकता दिइएको छ। एक्स्काभेटर पुर्याउन स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले शनिबारदेखि सडक निर्माणको काम अघि बढाइएको छ।
सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा पनि काम भइरहेको छ। यसका लागि सुरुङको करिब १०० मिटर भागमा थुप्रिएको माटो हटाउने कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ। ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउने प्रयास पनि जारी छ।
भौगोलिक र प्राविधिक चुनौती कठिन भए पनि उद्धार प्रयास नरोकेको अधिकारीहरूले बताएका छन्। पहुँच सडक विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको भग्नावशेष हटाउने कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अगाडि बढाइएको छ।
बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ।
सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घर बाढीले पुरिएपछि त्यसबाट ती महिलाको जीवितै उद्धार गरिएको हो। उद्धारपछि उनको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
पछिल्लो समय त्रिशूली नदी आसपासका क्षेत्रमा जारी उद्धार अभियानका क्रममा लगातार मानिसहरूलाई जीवितै उद्धार गरिएको छ। यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरेको छ।
त्यस्तै, हिजो त्रिशूली–३ ए को सुरुङबाट पनि दुई जनाको जीवितै उद्धार गरिएको थियो। बाढी र पहिरोका कारण सुरुङ तथा घरहरूमा फसेकाहरूको खोजी र उद्धार कार्य जारी छ।
रसुवामा बाढी आएको ११ दिनपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ।
नेपाली सेनाले भर्खरै उनको तस्वीर सार्वजनिक गर्दै सुरुङबाट उद्धार गरिएको जानकारी दिएको हो। उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक रहेको सेनाले जनाएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि अपर त्रिशूली–१ आयोजनाको सुरुङमा समेत विदेशी कामदारहरू फसेका थिए।
यसअघि हिजो त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको थियो।
२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरिरहेको छ। बाढीपछि आयोजनाको सुरुङ क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै, बाढीमा परेका ८ हजार ६३१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३० जनाको शव व्यवस्थान गरेको जनाएको छ ।
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन सक्ने खाना पकाउने ग्यास (एलपीजी) को अभाव टार्न उद्योगीले उपत्यकाबाहिरबाटै सिलिन्डर भरेर ढुवानी गर्न थालेका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि उद्योगी त्यसतर्फ लागेका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरूले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानी सहज बनाउने प्रयास गरिरहेका छन् । सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिरका उद्योगमा खाली सिलिन्डर कम भएकाले काठमाडौँबाट खाली सिलिन्डर ट्रकमा लगेर भरेपछि पुनः उपत्यका फर्काउने व्यवस्था मिलाइएको छ । नेपाल ग्यासले आफ्नो सिलिन्डर चितवनस्थित नेपाल ग्यास गण्डकीमा भर्दै आएको छ । उपत्यकामा दैनिक ११ हजार सिलिन्डर बिक्री गर्दै आएको उक्त उद्योगले केही दिनभित्रै दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौँ ल्याउने तयारी गरेको छ ।
रातिको समयमा कान्ति लोकपथमा सवारी साधन गुड्न नपाउँदा खाली सिलिन्डर बोकेका ट्रक आउन भने केही ढिलाइ भइरहेको सङ्घका सदस्य विमल कालाखेतीले बताए । हाल विभिन्न कम्पनीहरूले परासी, हेटौँडा, गैँडाकोटलगायतका स्थानमा रहेका प्लान्टहरूबाट ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन् । उपत्यका र आसपासका क्षेत्रमा १६ वटा ग्यास उद्योग सञ्चालित छन् ।
सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँमा दैनिक ४० हजार सिलिन्डर खपत हुने गरे पनि अहिलेको अवस्थामा माग १ लाखसम्म पुग्न सक्छ । “हामीले सङ्गठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकाले केही दिनभित्रै आपूर्ति सहज हुनेछ,” उनले भने, “उपभोक्ताले आवश्यक मात्रामा मात्र सिलिन्डर खरिद गरून्, मौज्दात नराखून् ।” नेपालका ५८ वटा ग्यास उद्योगबाट उत्पादित ग्यासमध्ये ४० प्रतिशत उपत्यकामा खपत हुने गर्छ । गत महिना भारतबाट हालसम्मकै बढी अर्थात् ६० हजार २०० मेट्रिकटन ग्यास आयात भएकाले बजारमा ग्यासको अभाव नहुने सङ्घले जनाएको छ ।
साल्ट ट्रेडिङद्वारा पनि वैकल्पिक प्रणाली लागू
यसैबिच, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि आफ्ना ‘एसटीसी सिलिन्डर’ मा ग्यास आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ । धादिङको जुगेखोलास्थित कर्पोरेशनको एलपीजी प्लान्टतर्फ जाने सडक अबरुद्ध भएपछि निजी क्षेत्रका बाबा र मनोज ग्यासका प्लान्टमा एसटीसी सिलिन्डर भरेर काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको हो ।
निगमले कूल ३ हजार २५ वटा ग्यास बुलेटको कोटा मध्य साल्ट ट्रेडिङलाई २ प्रतिशत (५३ वटा बुलेट) मात्र उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले हाल कुपन प्रणालीमार्फत ग्यासको बिक्री वितरण गर्दै आएको छ ।





