
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ ।
निगमका अनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरिएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बढेपछि निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल र डिजेलरमट्टितेलको मूल्य वृद्धि गरिएको हो ।

रौतहट । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो ।
सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवा–१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्ने यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्जिनियर यादवलाई फोन गरेर डेरा बाहिर बोलाइएको र लगत्तै गोली प्रहार गरिएको देखिएको छ । गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको कारण अझै खुल्न सकेको छैन । प्रहरीले शंकास्पद क्षेत्रमा ’सिल’ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । मृतकको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी अपराधीको खोजी तीव्र बनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको र आवागमनमा अत्यन्त कडाइ गरिएको उनले जानकारी दिए । सदरमुकामको आवासीय क्षेत्रमै सरकारी कर्मचारीको हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।
आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।
चुनाव हुनु भन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने छ ।
निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।
निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि तयार गरेको ‘प्रतिज्ञा पत्र’ अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको छ ।
पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेका अनुसार आज सार्वजनिक गर्ने भनिएको ‘प्रतिज्ञा पत्र’ अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको हो ।
यसअघि पार्टीले फागुन ३ गते आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो। तर कार्यक्रम परिमार्जन गर्दै अब जनकपुरमा आयोजना हुने आमसभाबाट सार्वजनिक गर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।
उनका अनुसार उक्त आमसभा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न हुने सन्दर्भमा प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम जनकपुरमा सारिएको हो ।
रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् ।
रुकुमपूर्वको चुनबाङमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बङ्गलादेशमा ध्वंस मच्चाउनेहरू पराजित भएका भन्दै नेपालमा पनि त्यस्तै हुने बताएका हुन् ।
उनले भने, ‘बङ्गलादेशमा पनि आगो लगाइयो । चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते । सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए । यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन् ।’
उनले बङ्गलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता औँल्याए ।
प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ ।
आजदेखि सुरु भएको सो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ ।
त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् ।
प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको नारायणप्रसाद भट्टराईले जानकारी दिए।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ ।
आज दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७:३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदु:खी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
पशुपतिका चार ढोका खुला
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जानकारी बताए । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उनले बताए ।
महाशिवरात्रिका अवसरमा आज बिहान २:०० बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।
पशुपति दर्शनका तीन बाहिरी लाइन
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिनेगरी व्यवस्थापन गर्ने योजना बनाइएको उहाँले जानकारी दिए । आवश्यकता अनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन–तीन र पश्चिमबाट चारवटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । त्यसैगरी, राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रवन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ गृहमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन् । ‘लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन ।’
सो भेटमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।
काठमाडौँ । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले निर्वाचनको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम सुरु भएको छ ।
यही फागुन २१ गते हुने निर्वाचनका लागि सहभागी हुने दल र उम्मेदवारले बेग्लाबेग्लै बैंक खाता खोली जानकारी दिन थालेका आयोगले जनाएको हो ।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले हालसम्म ४५४ उम्मेदवार र चार दलले त्यसरी बेग्लै बैंक खाताको विषयमा जानकारी गराएका बताए । निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।
आयोगले गत माघ २० गते स्वीकृत गरी जारी गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ मा निर्वाचनमा सहभागी दल र उम्मेदवारलाई प्राप्त हुने आर्थिक सहयोगको रकम र प्रचारका क्रममा गर्ने खर्चलाई मितव्ययी र पारदर्शी बनाउने व्यवस्थाहरू गरिएका छन् ।
आयोगमा अहिलेसम्म तीनवटा दलले निर्वाचन घोषणापत्र बुझाएका छन् । आयोगले फागुन ३ गतेभित्र आयोगमा निर्वाचन घोषणापत्र बुझाउन निर्देश गरेको छ ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २१ मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि उपहार, पुरस्कार, इनाम, दान दातव्य वा बकसको रूपमा नगद जिन्सीबाट प्रभावित पार्न नहुने व्यवस्था गरिएको छ ।
सोही ऐनको दफा २७ मा दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचारप्रसारका क्रममा प्रचलित कानुनविपरीत हुनेगरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी सङ्घसंस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन हुने व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि बेग्लै खाता खोलिएपछि साविकका दल र उम्मेदवारका खाता यसै खातामा सार्नुपर्ने व्यवस्था गरिएको सहसचिव भट्टराईले जानकारी दिए । निर्वाचन प्रचारप्रसारको खर्चको विवरण तयार भएको ३५ दिनभित्र आयोगद्वारा उक्त खाता बन्द गराउन लगाइने उनले बताए ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ को प्रभावकारी कार्यान्वयन गरी निर्वाचनको कार्यलाई व्यवस्थित र मर्यादित बनाउन यो कार्यविधि ल्याइएको हो । आयोगले उम्मेदवारले खर्च गर्ने हद (सीमा) पनि निर्धारण गर्दै आएको छ ।
यसपटकको निर्वाचनका लागि भौगोलिकताका आधारमा क्षेत्रगत रूपमा रु २५ लाखदेखि रु ३३ लाखसम्म निर्वाचनको खर्चको हद तोकेको छ । सोसम्बन्धी सूचना २०७९ असोज ३१ को नेपाल राजपत्र (भाग ५, सङ्ख्या ४१) मा प्रकाशित गरिएको छ ।
कार्यविधिमा नेपाली मुद्राको कारोबार गर्नुपर्ने, खाताको विवरण आयोगका कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रस्तुत गरिएपछि ती खाताका कागजात र वित्तीय अभिलेखहरु प्रचलित कानुबमोजिम अनतिक्रम्य र गोप्य रहनेछन् ।
आयोगको संयन्त्रले उक्त खाताको आमदानी र खर्चबारे नियमित अनुगमन गर्नेछ । आयोगले निर्वाचन खर्चको अनुगमनका लागि जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई अनुगमन अधिकृत तोकेको छ ।





