२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

खुम्बुमा असोजमै ४ फिट बाक्लो हिमपात

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा शरद् ऋतुको आगमनसँगै पर्यटकीय चहलपहल बढ्नुपर्ने बेलामा यस वर्ष असोजको तेस्रो सातामै भारी हिमपात भएको छ । खुम्बु क्षेत्रमा असोज महिनामा हिउँ पर्नुलाई दुर्लभ मानिन्छ, यो असामान्य मौसमी घटनाले जलवायु परिवर्तनको गम्भीर सङ्केत दिएको वातावरणविद्हरूले बताएका छन् ।

गत आइतबार बिहानैदेखि सुरु भएको भारी वर्षापछि खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेको हो । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र पूरै सेताम्य बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार, आइतबारको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रका छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो ।

हिमपातका कारण खुम्बुको जनजीवन निकै प्रभावित भएको छ । अध्यक्ष अधिकारीले नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले दिङ्बोचे क्षेत्रका पाँच वटा होटलका संरचना हिमपातको भार सहन नसकी भास्सिएको पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जस्तासहितका छानाको संरचना भत्किँदा ठूलो आर्थिक क्षति भएको जानकारी दिए। सौभाग्यवश, मानवीय क्षति भने भएको छैन ।

खुम्बु क्षेत्रमा सामान्यतया मङ्सिरदेखि माघसम्म मात्र बाक्लो हिमपात हुने गर्छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष लामाकाजी शेर्पाले असोजमै हिउँ पर्नुलाई जलवायु परिवर्तनको स्पष्ट सङ्केतका रूपमा लिएका छन्। उनले आफ्नो जीवनमा असोजमा यस्तो बाक्लो हिमपात बिरलै देखेको बताए । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको र पहिलेको मौसमी तालमेल हराएको उनको भनाइ छ ।

हिमपातपछि खुम्बुका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ । असोज २० गते बिहान मौसम खुलेर केही हिउँ पग्लिए पनि चिसोका कारण जनजीवन सुस्त बनेको छ । स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाका अनुसार तापक्रम निकै घटेको छ ।

हिमपातका कारण खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम पनि रोकिएको छ । चिसोका कारण कामदारहरू नाम्चे झरेका छन् र मौसम अनुकूल भएपछि मात्र काम सुरु हुने वडाध्यक्ष अधिकारीले बताए । पछिल्ला वर्षहरूमा खुम्बु क्षेत्रमा मौसममा अप्रत्याशित परिवर्तन देखिएको छ ।

कहिले असोजमै हिउँ पर्ने त कहिले माघमा हिउँ नै नपर्ने अवस्था बनेको छ । वातावरणविद्हरूका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिमालमा हिउँको मात्रा घट्दै गए पनि छोटो समयमा तीव्र हिमपात हुने घटना बढेका छन् ।

असामान्य हिमपातपछि खुम्बुका बासिन्दाले जलवायु सन्तुलनका लागि स्थानीय तह र सरकार दुवैले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नाम्चेका सुमन मोक्तान भन्छन्, ‘हामीले केही वर्षयता जलवायु परिवर्तन महसुस गर्दै आएका छौँ । अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ । यो हिमालको स्वरूप बदलिँदैछ ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।