
काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारमा आगो लागे लगत्तै महानगरको दमकल जाने प्रयास गरेपनि आन्दोलनकारीले नै अवरोध गरेको बताएका छन् ।
सिंहदरबारमा लागेको आगो निभाउन स्थानीय सरकार पनि चुप किन बस्यो भनेर चौतर्फी आलोचना भइरहेका बेला बालेनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबारको आगो निभाउने प्रयास गरे पनि आन्दोलनकारीले नै महानगरको दमकल रोकेको स्पष्ट पारेका हुन् ।
उनले भनेका छन्, ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन ।’
साथै नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास नगरिएको पनि बताए।
उनले भने, ‘नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो। ‘
भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा राजधानीलगायत देशका विभिन्न संरचनाहरूमा तोडफोड तथा आगजनी गरिएको थियो । सोही क्रममा सिंहदरबार पनि जलेको थियो ।
उनले लेखेका छन्, “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” “तीन दिनसम्म जलेको हेरेर बस्यो?”
“सिंहदरबार जलाउने नै बालेन शाह हो!” यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्।
हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवस्यक जो सुकैले सुचनाको हक ( Right to information RTI )को आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि, हुदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।
गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला “राज्य” नै ठप्प थियो।त्यो दिन देशमा सरकार त थिएन तर स्थानिय सरकार काठमान्डौ महानगर आफ्नो दायित्वबाट पछाडी हटेको थिएन । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र , न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौ मान्छे समेत हिडडुल गर्न सक्ने अवस्था थिएन ,तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना,लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औसधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरुको तथ्याङ्क संकलन,जलेका गाडीहरुको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकाय हरु संगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्ण प्रति सम्मान ब्यक्त गर्दछु।
सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो।
हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।
काठमान्डौ महानगरको न्युरोडमा २ वटा, बालाजु मा २ वटा र रामहिटी मा १ वटा गरि जम्मा जम्मा ५ वटा दमकल संचालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरि जम्मा ४४ जनाको टिम ले ३ शिफ्ट मा काम गर्नुहुन्छ , १ शिफ्ट मा १ दमकल मा बढीमा ३ जना मात्र जनशक्ति मार्फत दमकल संचालन गरिएको छ। २३ गते केहि स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो ।महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
अब कुरा गरौ दमकल को ५/२३ गते दिउसो १:३० देखि ५ बजे सम्म संसद भवन अगाडी आगो लागिरहेको एम्बुलेन्स मा न्युरोड र रामहिटी दमकल ले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकल ले सुन्धारा र शान्तिनगर बिजुली को पोल मा आगो निभाइरहेको थियो, २४ गते बिहानै देखि कुनै पनि दमकल संचालन मा आउन सकेको थिएन , २४ गते राति ८ बजे देखि १ बजे सम्म बिशाल बजार जनसेवा प्रहरी वृत , हिमालयन बैंक र रास्ट्रीय बाणिज्य बैंक बानेश्वोर मा मा न्युरोड दमकल ले तथा नयाँ बसपार्क मा बालाजु र रामहिटी दमकल ले आगो निभाई रहेको थियो। २४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २४ गते को राति २५ गते बिहान १:४५ देखि ३:०० बजे सम्म, २६ गते दिउसो ३:३० देखि ६:५० सम्म र सोहि दिन साझ ५ बजे देखि ६ बजे सम्म सिंहदरबार मा आगो निभाइरहेका थिए।२५ गते दिउसो १२:२० देखि १:३० सम्म संसद भवन, २५ गते नै दिउसो ३:३० देखि ४:३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय, डिल्लीबजार कारागार लगायत का स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोहि दिन साझ ४ बजे देखि ६ बजे सम्म सर्बोच्च अदालत परिसर मा आगो निभाएको त्यहाको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामी सङ सुरक्षित नै छ । त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गते देखि २८ गते सम्म हाम्रो दमकल माथि उल्लेखित र काठमान्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय,बबरमहल जिल्ला अदालत,चुच्चे पाटि भाटभटेनी, जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था बिभाग, शहरी बिकास बिभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत, स्वयम्भु प्रहरी वृत, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घर मा, चाक्सीबारी घर मा, बालुवाटार भाट भटेनी गोदाम मा, रानीपोखरी प्रहरी, कोटेश्वोर भाटभटेनी, गुणस्तर बिभाग भाटभटेनी नक्साल मन्दिर पछाडी फर्निचर, सडक बिभाग लगायतका स्थान मा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ।जसको बिस्तृत विवरण यहि राखेको छु। संगसंगै हिल्टन होटल, बनबासा होटल लगायत बाट सेना समेत को सहकार्य मा उद्धार कार्य गरिएको थियो।
अब कुरा गरौ स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरुको लास व्यवस्थापन को ,संघिय सरकार ले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताल लाइ निशुल्क उपचारको लागि समन्वय,अस्पतालको लागि आवस्यक औसधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन , बिरामी तथा बिरामी कुरुवाहरुको लागि निशुल्क खाजा/खाना, अन्य आवस्यक लजिस्टिक,सुत्नको लागि म्याट लगायत अन्य सामाग्रीको व्यवस्थापन मा महानगरको सचिवालय,नगरप्रहरी, स्वास्थ्यकर्मी लगायत को टिम रात दिन खटिएको थियो।उपचारको लागि अभिभाबक नभएका सम्पूर्ण बिरामीहरुको अभिभाबक हाम्रो टिम बनेको थियो एति सम्म कि, अपरेसन गर्दा Informed Consent Formमा समेत हाम्रो नगरप्रहरी ले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ।लास व्यवस्थापन को लागि परिवार लाइ आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगर ले गरेको थियो , येतिसम्मकि नेपालि सेना लगायत अन्यको सहकार्यमा लासलाइ घर सम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौ।
अन्त्यमा,
प्रिय आमा बुवा,दाजु भाइ, दिदि बहिनि, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरु सङ सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध ; कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।
हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौ ,मलाई यसको कुनै जस चाइएको छैन कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाइ त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं।
सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।
अन्त्यमा देशलाई एकता र साचो कुराको खाचो छ हल्ला र झुटको हैन ।।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध सहिद परिवारले दिएको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ। जाँचबुझ आयोगको प्रतिवेदनपछि त्यसउपर कारबाही अघि बढाउने गरी काठमाडौं परिसरले आयोगमा पठाएको हो।
हामी नेपाल संस्थाका सदस्य र जेन-जी आन्दोलनका सहिद परिवार काठमाडौं प्रहरी परिसरबाट बाहिरिएका छन् ।
उनीहरू केपी शर्मा ओली, रमेश लेखक लगायतलाई पक्राउ गर्नुपर्ने भन्दै जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका थिए ।
प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको बताइएको छ ।
भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका विषयमा गठित जाँचबुझ आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट गरेको छ ।
आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयले २०८२ असोज ९ गते जारी गरेको विज्ञप्तिमा उल्लेखित विषयमा ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।’ गृह मन्त्रालयले भने विज्ञप्तिमा घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा छानबिन प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो ।
जेनजीको प्रतिनिधिका रूपमा सहजीकरण गर्दै आएका सुदन गुरुङले आफूहरूको नाम प्रयोग गरी आपराधिक गतिविधि भड्काउन खोजिएको दाबी गरेका छन् ।
उनले जनता जागिसकेकाले आफूहरुलाई फुटाउने प्रयास नगर्न दलहरूलाई खबरदारी गरेका छन् ।
साथै उनले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने दावी समेत गरेका छन् ।
‘हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भड्काइँदैछ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ’, मंगलबार सामाजिक सञ्जालमा गुरुङले लेखेका छन् । उनले अगाडि भनेका छन्, ‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ; त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ ।’
उनले राजनीतिक दलहरूलाई खबरदारी गर्दै भनेका छन्, ‘हामी चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन । अब जनता जागिसकेका छन् हामीलाई फुटाउन कुनै प्रयास नगरियोस् ।’
प्रमुख आयुक्त प्रेमकुमार राईसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तको राजीनामा माग्दै जेनजी युवाहरूको एक समूहले आज (मंगलबार) अख्तियारकै कार्यालयमा दबाबपत्र बुझाएका छन्।
उनीहरूले ‘जेन-जेड मुभमेन्ट अलायन्स’को नाममा दबाबपत्र दिएका हुन्।
आज बिहानै टंगालस्थित अख्तियारको कार्यालय पुगेर दबाबपत्र दर्ता गराइएको समूहका आशुतोष झाले जानकारी दिए।
पत्रमा उनीहरूले लेखेका छन्, ‘तपाईंलगयत अरू सम्पूर्ण आयुक्तको नियुक्ति संसदिय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढंगले भएको छ। यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ।’
पत्रमा अगाडि भनिएको छ, ‘साथै तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ। यसले भ्रष्टाचार अन्त्य र दोषीलाइ कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला। तपाईंको नेतृत्वमा यी कार्यहरू निष्पक्ष रूपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन। यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ।’
यस्तो छ पूरा पत्र
माननीय प्रेमकुमार राईज्यू,
प्रमुख आयुक्त,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल।
महोदय,
विषय: राजीनामा दिनका लागि आग्रह तथा दबाबपत्र।
वि.सं. २०८२ साल भाद्र २३ गतेबाट जने-जीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य हुन् भन्नेबारे यहाँलाइ अवगतै छ । यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरूको नियुक्ति गर्न आवश्यक छ । तपाईंलगयत अरु सम्पुर्ण आयुक्तको नियुक्ती संसदिय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले भएको छ । यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ।
साथै तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ। यसले भ्रष्टाचार अन्त्य र दोषीलाइ कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला। तपाईंको नेतृत्वमा यी कार्यहरू निष्पक्ष रूपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन।
यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ।
तपसिल:
३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेन-जी समूहले हस्ताक्षर गरी सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिवालयमा दर्ता गरिएको जनादेशसम्बन्धी सम्झौताको दोश्रो मागः नेपालमा भएको संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको राजनीतिकरण (दलीयकरण) र राजनीतिक नियुक्तिको अन्त्य गर्ने को प्रतिलिपि
बोधार्थः
सम्माननीय प्रधानमन्त्रीज्यू,
माननीय गृह मन्त्रीज्यू,
माननीय अर्थ मन्त्रीज्यू,
सबै माननीय आयुक्तज्युहरू,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू।
‘जेन-जेड मुभमेन्ट अलायन्स’(विभिन्न जेन-जेड समुदायहरूको ऐक्यबद्ध समूह)
काठमाडौँ- ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्।
काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात, बाढी पहिरोबाट क्षति भएका आयोजनाको असरगायतका विषयमा जानकारी लिएका हुन्।
देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा छलफल गरे।
बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनुपर्ने बताउँदै घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी मातहत कार्यालयलाई पनि तयारी अवस्थामा राख्न आग्रह पनि गरे।
उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी, हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराए।
कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोहीबमोजिम काम भइरहेको दाबी गरे।
सोलुखुम्बु । सगरमाथा क्षेत्रमा शरद् ऋतुको आगमनसँगै पर्यटकीय चहलपहल बढ्नुपर्ने बेलामा यस वर्ष असोजको तेस्रो सातामै भारी हिमपात भएको छ । खुम्बु क्षेत्रमा असोज महिनामा हिउँ पर्नुलाई दुर्लभ मानिन्छ, यो असामान्य मौसमी घटनाले जलवायु परिवर्तनको गम्भीर सङ्केत दिएको वातावरणविद्हरूले बताएका छन् ।
गत आइतबार बिहानैदेखि सुरु भएको भारी वर्षापछि खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेको हो । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र पूरै सेताम्य बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार, आइतबारको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रका छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो ।
हिमपातका कारण खुम्बुको जनजीवन निकै प्रभावित भएको छ । अध्यक्ष अधिकारीले नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले दिङ्बोचे क्षेत्रका पाँच वटा होटलका संरचना हिमपातको भार सहन नसकी भास्सिएको पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जस्तासहितका छानाको संरचना भत्किँदा ठूलो आर्थिक क्षति भएको जानकारी दिए। सौभाग्यवश, मानवीय क्षति भने भएको छैन ।
खुम्बु क्षेत्रमा सामान्यतया मङ्सिरदेखि माघसम्म मात्र बाक्लो हिमपात हुने गर्छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष लामाकाजी शेर्पाले असोजमै हिउँ पर्नुलाई जलवायु परिवर्तनको स्पष्ट सङ्केतका रूपमा लिएका छन्। उनले आफ्नो जीवनमा असोजमा यस्तो बाक्लो हिमपात बिरलै देखेको बताए । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको र पहिलेको मौसमी तालमेल हराएको उनको भनाइ छ ।
हिमपातपछि खुम्बुका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ । असोज २० गते बिहान मौसम खुलेर केही हिउँ पग्लिए पनि चिसोका कारण जनजीवन सुस्त बनेको छ । स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाका अनुसार तापक्रम निकै घटेको छ ।
हिमपातका कारण खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम पनि रोकिएको छ । चिसोका कारण कामदारहरू नाम्चे झरेका छन् र मौसम अनुकूल भएपछि मात्र काम सुरु हुने वडाध्यक्ष अधिकारीले बताए । पछिल्ला वर्षहरूमा खुम्बु क्षेत्रमा मौसममा अप्रत्याशित परिवर्तन देखिएको छ ।
कहिले असोजमै हिउँ पर्ने त कहिले माघमा हिउँ नै नपर्ने अवस्था बनेको छ । वातावरणविद्हरूका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिमालमा हिउँको मात्रा घट्दै गए पनि छोटो समयमा तीव्र हिमपात हुने घटना बढेका छन् ।
असामान्य हिमपातपछि खुम्बुका बासिन्दाले जलवायु सन्तुलनका लागि स्थानीय तह र सरकार दुवैले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नाम्चेका सुमन मोक्तान भन्छन्, ‘हामीले केही वर्षयता जलवायु परिवर्तन महसुस गर्दै आएका छौँ । अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ । यो हिमालको स्वरूप बदलिँदैछ ।’
।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार गण्डकी प्रदेशदेखि पश्चिमका अधिकांश भूभागबाट मनसुन हटिसकेको घोषणा गरिएको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव देखिएको छ । देशका बाँकी भूभागमा भने मनसुनी वायुको कमजोर प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् लामिछानेले भने, ‘अब बिस्तारै तापक्रम कम हुन थालेको छ। बिहान-बिहान हल्का चिसो महसुस हुन थालेको छ।’ दिउँसो घाम लाग्ने भएकाले तापक्रम कम भएको खासै महसुस नहुने भए पनि बिहान भने चिसो बढ्न थालेको उनको भनाइ छ ।
अक्टोबर महिना लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम औसतमा १८ डिग्री सेल्सियसमा झरेको छ, जुन यसअघि २१ डिग्री सेल्सियस थियो । ‘अब तापक्रम क्रमिक रूपमा घट्दै जान्छ,’ लामिछानेले भने ।
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये करिब पाँच हजार ७०० कैदी अझै सम्पर्कमा आएका छैनन्।
२८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार भागेमध्ये आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कुल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन्। गृह मन्त्रालयले फरार कैदीबन्दीलाई असोज २० गतेसम्म कारागार फर्किन ‘अल्टिमेटम’ दिएको थियो ।
सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ। गृह मन्त्रालयले फरार कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो।
कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन् ।