काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरालाई नेपाल प्रहरीको सीआईबीको टोलीले आइतबार पक्राउ गरेको हो ।
उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
महरासँग यसअघि विहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।
व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भनी ‘भेप’ जफत गरियो । पछि विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत जोडिएका थिए । दिनेशले नायब सुब्बा रेवन्तको सहयोगमा सुन रहेको भेप निकाली सक्कली भेप राख्न सफल भएका थिए ।
तत्काल खुल्न आए अनुसार सो समूहले भेपबाट करिब ९ किलो सुन निकाली प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरेको थियो ।

भेप जाँचपास गर्दा शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार विभागले डेढ महिना भन्सारमा थन्काएर राखेको थियो । भन्सार गोदाममा थन्किएर बसेको भेप छुटाउनुअघि कर्मचारीको मिलेमतोमा अर्कै भेप राखेर सुन राखिएको भेप बाहिर ल्याइएको थियो ।
सुन रहेको भेप छुटाउन पूर्वसभामुख महरा, उनका छोरा राहुल महराले भन्सारका कर्मचारीलाई पटक–पटक फोन संवाद गरेको विषय बाहिर आएपछि छानबिन सुरु भएको थियो । चिनजानका आधारमा महराले भेप छुटाउनका लागि तत्कालीन भन्सार प्रशासक अरुण पोखरेल र कर्मचारीलाई फोन गरेका थिए ।
तस्करीको सुन ल्याउने समूहमा रहेका लुई नाम गरेका एक चिनियाँ नागरिक रहेको र उनीसँग महराको बारम्बार प्रत्यक्ष सम्पर्क भएको भेटिएको थियो । लुईले तस्करीका लागि दाओजिन वाङ नामका व्यक्तिलाई परिचालन गर्ने गरेको र वाङले नेता महरा र उनका छोरा राहुललाई बारम्बार सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।
राहुलले लुईका सवारी चालक लोकेन्द्र पौडेल, वाङ र असिन नाम गरेका व्यक्तिसँग बारम्बार कुरा गरेको पाइएको छ । दाओजिन वाङले लुई, लुईका चालक लोकेन्द्र पौडेल, श्याम साह र भन्सार एजेन्ट खुवाप्रसाद न्यौपाने लगायतलाई समेत बारम्बार सम्पर्क गरेको भेटिएको थियो ।
महराका छोरा राहुललाई सीआईबीले गत १२ भदौ २०८० गते पक्राउ गरिएको थियो । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भएको थियो। चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो ।