२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्कीको चर्चा

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकको पदका लागि प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको चर्चा सुरु भएको छ। वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ आउँदो २६ कात्तिकमा अनिवार्य अवकाशमा जाने भएकाले कार्की बलियो प्रत्याशीका रूपमा देखा परेका छन्।

मुख्यगरी बसन्त कुँवरसहित तीन जना अधिकारी खापुङको पालाबाट वरिष्ठताको आधारमा चर्चामा आएका थिए। राजनीतिक रूपमा संक्रमणकालीन अवस्थामा कार्कीले प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्तिका रूपमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। वरिष्ठताको क्रममा उनी पहिलो नम्बरमा रहेका कारण अबको एक महिनाभित्रै संगठनको नेतृत्वमा पुग्ने अपेक्षा गरिन्छ।

संगठनभित्र अत्यन्त रुचाइएका, व्यावसायिक र स्वच्छ छविका धनी एआईजी कार्कीले राजनीतिक विवादबाट सधैं आफूलाई टाढा राखेका छन्, जसले नेतृत्वमा पनि उनको राम्रो छवि निर्माण गरेको छ।

कार्कीले राजधानी काठमाडौं, प्रमुख पर्यटकीय नगरी पोखरा, कपिलवस्तु र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सफल कमाण्ड गरिसकेका छन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानमा संलग्न अधिकारीमध्ये एक हुन्। जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख हुँदा कार्कीले उक्त प्रकरणमा उच्च तहसम्मका व्यक्तिलाई कानुनी दायरामा ल्याएका थिए। संगठनमा व्यापक राजनीतीकरण र आन्तरिक गुटबन्दीले प्रहरीको छवि धुमिल भएको बेला कार्कीले यस अनुसन्धानमार्फत संगठनको साख जोगाएका थिए।

प्रहरीको केन्द्रीय प्रवक्ता तथा मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका कार्की ठूला जनसभा, आन्दोलन वा विपद् व्यवस्थापनजस्ता संवेदनशील अवस्थामा पनि आफ्नो चतुर निर्णय क्षमताका कारण संगठनभित्र निर्विवाद अधिकारीका रूपमा परिचित छन्। उदाहरणका लागि भदौ २४ गतेको जेनजी आन्दोलनको समयमा कार्कीको नेतृत्वमा सयौँ प्रहरीको ज्यान जोगिएको थियो।

त्यसैगरी, दशैँपछिको निरन्तर वर्षा र बाढी–पहिरोको विपद्मा कार्की फिल्डमै सक्रिय थिए। जेनजी विद्रोहका कारण प्रहरीको मनोबल खस्किरहेका बेला उनी आफैं छाता ओढेर फिल्डमा निस्किए र काठमाडौं उपत्यकाबासीलाई सुरक्षित राख्न रणनीति अवलम्बन गरे। यस कारण काठमाडौं उपत्यकामा जनधनको क्षति न्यून भयो।

जेनजी आन्दोलनको सन्दर्भमा अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले अनिवार्य अवकाश पाएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय भदौ १९ गतेदेखि प्रमुखबिहीन थियो। विकल्पमा नायब महानिरीक्षक ओम रानाले कमाण्ड सम्हालिरहेका थिए। भदौ २३ गते मन्त्रिपरिषद्को निर्णय अनुसार अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा खटाइएको थियो।

कार्कीले बल प्रयोगभन्दा पनि संवाद, तथ्य र रणनीतिक संयोजनमार्फत भीड नियन्त्रण र समस्याको समाधानमा ध्यान दिए। यसले काठमाडौं उपत्यकामा थप जनधनको क्षति हुनबाट जोगाएको छ। हालको अवस्थामा प्रहरीका भौतिक संरचना, लत्ता–कपडा र खाने गास जलेर नष्ट भए पनि नेपाल प्रहरी आफ्नो काममा जिम्मेवारीपूर्वक खटिरहेको देखिन्छ।

२०५४ चैत १८ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका कार्की अहिलेसम्म एकपटक पनि दसैंमा घर गएको छैनन्। यसले उनको सेवाप्रतिको कर्तव्यनिष्ठता प्रष्ट देखाउँछ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ मा जन्मेका कार्की बाल्यकालदेखि नै लगनशील र मेहनती थिए। विद्यालय जीवनमा जिज्ञासु र मेधावी विद्यार्थीका रूपमा चिनिएका उनी पढाइसँगै अतिरिक्त गतिविधिमा पनि सक्रिय थिए। सुरुमा कूटनीतिक सेवामा जाने सोच बनाए पनि पछि नेपाल प्रहरीको निरीक्षक पदमा नियुक्त भए। उनको ब्याचबाटै नेपाल प्रहरीमा लोकसेवा आयोगको परीक्षा प्रणाली सुरु भएको हो।

संगीत क्षेत्रमा पनि विशेष रुचि राख्ने एआईजी कार्कीले हालसम्म तीन–चार वटा गीत बजारमा ल्याइसकेका छन्, जसमा पछिल्लो गीत प्रहरी संगठनसँग सम्बन्धित छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।