नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन कांग्रेस मात्र होइन, देश बदल्ने संकल्पसहित गरिएको बताएका छन् ।
आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उपस्थित प्रतिनिधिहरू कांग्रेस परिवर्तनका साथै देशलाई समुन्नतिको दिशामा लैजान प्रतिबद्ध भएर आएको बताए ।
उनले वर्तमान राष्ट्रिय तथा आन्तरिक परिस्थितिलाई विषम र विशिष्ट भएको उल्लेख गर्दै यही अवस्थामा विशेष महाधिवेशन भइरहेको स्पष्ट पारे ।महामन्त्री शर्माले कांग्रेस रूपान्तरणको आवश्यकता औंल्याउँदै वर्तमान कांग्रेसले विगतको तुलनामा बढी चुनौती सामना गरिरहेको स्वीकार गरे ।
पार्टीको नेतृत्व तहमा रहेकाले कमजोरीहरूको जिम्मेवारी आफूहरूले पनि लिने स्पष्ट गर्दै उनले भने, ‘हामी सबै रुपान्तरित कांग्रेसको पक्षमा छौं । आजको कांग्रेस विगतको भन्दा बढी चुनौतिलाई सामना पनि गरिरहेको छ । आज जे जति कमी कमजोरी भएका छन् पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेका नाताले आज पार्टीको महामन्त्री हामी दुवै पनि जान्दछौं । कि पार्टीमा जे जस्ता कमजोरी भएका छन् त्यो कमजोरीको केही हिस्सा महामन्त्रीका रुपमा ड्राइभिङ सिटको छेउमा बसेको नाताले हामी पनि लिन्छौं । त्यसैले त्यसलाई स्वीकारेर भनेका हौं अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन ।’
उनले पुरानै सोच र कार्यशैलीबाट नयाँ यात्रा सम्भव नहुने भन्दै राजनीतिक र सामाजिक परिवेश परिवर्तन भइसकेको बताए । राजनीतिमा पनि मौसम परिवर्तन हुने उल्लेख गर्दै महामन्त्री शर्माले कहिले अनुकूल त कहिले प्रतिकूल अवस्था आउने बताए । त्यस्तो अवस्थालाई चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वमा हुनुपर्नेमा जोड दिँदै उनले यस विषयमा कांग्रेस नेतृत्वबाट कमजोरी भएको स्वीकार गरे ।
उनले भने, ‘अब नयाँ परस्थिति बनेको छ नेपालमा । बनेको परस्थितिलाई सामना गर्नका लागि, नयाँ परस्थिति निर्माण गर्नका लागि मनस्थिति पूरानो राखेर हुँदैन । मनस्थितिलाई बदल्नुपर्छ । पूरानै आनिबानीलाई राखेर नयाँ अवस्था बनाउन सकिँदैन । राजनीतिमा पनि मौसम परिवर्तन हुन्छ । राजनीतिमा पनि कहिले मौसम अनुकुल हुन्छ त कहिले प्रतिकुल हुन्छ । त्यो अनुकुलता प्रतिकुलतालाई चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वले राख्नुपर्छ तर यसमा हामीले कमजोरी गर्यौं ।’










