गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय व्यहोरेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको निर्वाचन समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा मुख्यत: आन्तरिक कारण जिम्मेवार देखिएको बताए ।
३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमा कमजोरी देखिएको उनको भनाइ छ । त्यस्तै, ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’का कारण पार्टी रक्षात्मक बनेको निष्कर्ष बैठकले निकालेको छ।
‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौं । यो भोटको माईग्रेसन मात्रै हो कि माइन्डसेट नै भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक हेरिरहेका छौं । ५ देखि ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ । ती सिट संख्याहरू २०/२१ वटा निर्वाचन क्षेत्रहरु छन्,’ प्रवक्ता चालिसेले भने ।
केही क्षेत्रमा संगठनात्मक कमजोरीसँगै मतदाताको विश्वासमा समेत कमी आएको देखिएको उनले बताए । ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भए पनि अपेक्षित मत प्राप्त हुन नसक्नु गम्भीर विषय बनेको उनको भनाइ छ।
‘३ हजारदेखि ५ हजार मत फरकमा पराजित हुनुको कारण निर्वाचन क्याम्पेनमा नै त्रुटी भएका कारणले हुनसक्छ । हामी त्यसमा समिक्षा गर्दैछौँ । ५ हजारदेखि १० हजारसम्मको ठूलो मार्जिनमा हामी पराजित भएका छौं, कतिपय क्षेत्रहरुमा अन्तर्घात, क्याम्पेनमा समस्याका साथै केही न्यारेटिभका कारण पनि हामीलाई डिफेन्टिभ बनायो, त्यसमा हामी असफल भयौं,’ उनले सुनाए, ‘कतिपय क्षेत्रमा संगठानत्मक कमजोरी मात्रै नभईकन अझ बढी केही ठाउँहरुमा ठूलो मतान्तरमा चुनावको नतिजामा फरक देखिएको छ, त्यसमा जनताको विश्वासमा नै प्रश्न उठेको हो की भन्ने छ ।’
जारी केन्द्रीय समितिको बैठकमा मुख्य रूपमा निर्वाचन समीक्षा र सभापतिको राजीनामासम्बन्धी विषयमा छलफल भइरहेको उनले जानकारी दिए।










