भोटेकोशी बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको उद्धारका लागि सरकारले उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने निर्णय गरेको छ। तत्काल उद्धार कार्यलाई तीव्रता दिन हालसम्म आठवटा हेलिकोप्टर परिचालन गरिएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले तत्काल उद्धारका लागि आठवटा हेलिकोप्टर परिचालन गरिएको जानकारी दिए। उनका अनुसार उद्धारका लागि धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णयसमेत भएको छ।
आङदेम्बेले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि उपलब्ध सबै साधन–स्रोत परिचालन गर्ने निर्णय भएको बताए।
‘कुन–कुन मन्त्रालयलाई कसरी क्रियाशील बनाउने र आवश्यक रकमको जोहो कहाँबाट गर्ने भन्ने विषयमा पक्ष–प्रतिपक्षभन्दा माथि उठेर हामी सबै जनताको साथमा छौं,’ उनले भने, ‘हामीसँग उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने निर्णयमा पुगेका छौं।’
बाढीबाट घाइते तथा बिरामी भएकाहरूको उपचारलाई सहज बनाउन त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा पनि बैठकमा छलफल भएको आङदेम्बेले बताए।
भोटेकोशीमा आएको आकस्मिक बाढीबाट ठूलो क्षति भएको विवरण आइरहेका बेला उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारका विभिन्न निकायलाई तत्काल परिचालन गर्ने निर्णय भएको हो।









