कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायबीच सुरु भएको विवाद अझै साम्य भएको छैन। जिल्लाको महराजगञ्ज क्षेत्रका केही स्थानमा आइतबार पनि स्थानीय युवाले प्रदर्शन जारी राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक प्रकाश कुँवरका अनुसार केही ठाउँमा अझै प्रदर्शन भइरहेका छन्। प्रदर्शन नियन्त्रणका लागि प्रहरीले केही स्थानमा लाठीचार्जसमेत गरेको जनाएको छ।
शनिबार मुस्लिम समुदायले इद मनाइरहेका बेला महराजगञ्ज नगरपालिका–२ अन्तर्गत बरगदा र बहादुरगञ्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। सो क्रममा प्रहरीले गोली चलाउँदा चारजना घाइते भएका थिए भने केही प्रहरीसमेत घाइते भएका थिए।
घटनापछि स्थानीय प्रशासनले शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको छ।









