२०८३ आश्विन ६ गते मंगलवार
२०८३ आश्विन ६ गते मंगलवार

सरकारसँग ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीमाथि कारबाही खोइ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्न नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका घटनामा दोषी देखिएकामाथि कारबाही गर्न सिफारिस गरेको लामो समय बितिसक्दा पनि पक्राउ नगरिएको भन्दै सरकारसँग जवाफ मागे ।

दोषीलाई पक्राउ गर्न नसके सरकारको नेतृत्वले पद छाड्नुपर्ने उनको भनाइ थियो । जेनजी आन्दोलनमा संलग्न घटनामा दोषी देखिएकाहरू सत्तापक्ष वा प्रतिपक्ष जुनसुकै पक्षका भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।

‘म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु । तपाईंकै सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेनजी आन्दोलनकी आमा अहिले संसद्मा रुनुभयो । तपाईंले सरकार चलाएको ६ महिना भयो । राष्ट्रिय मानव अधिकार आयोगले को–को दोषी हुन् भनेर प्रमाणसहित बुझाएको आज ६ महिना भयो । अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ? यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ?’ उनले प्रश्न गरे ।

जेन–जी आन्दोलनमा दोषी ठहरिएका व्यक्तिहरूमाथि कारबाही गरेर पीडित परिवारलाई न्याय दिनुपर्नेमा जोड दिँदै उनले भने, ‘जेनजी आन्दोलनमा जो–जो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनलाई समाउँदै जेल हाल्नुस् ।’

सांसद शाहीले भोटेकोशी बाढीका कारण सुरुङ दुर्घटनामा फसेका नागरिकको उद्धारमा राज्यले चरम ढिलासुस्ती गरेको आरोपसमेत लगाए ।

राज्यसँग पर्याप्त स्रोतसाधन र सुरक्षा जनशक्ति हुँदाहुँदै उद्धारमा सात दिनसम्म ढिलाइ हुँदा बाँच्न सक्ने नागरिकको समेत ज्यान गएको उनको दाबी थियो । उनले उक्त घटनालाई राज्यको गम्भीर लापरबाही भन्दै ‘हत्या’ को संज्ञा दिए ।

राज्यसँग खरबौँ रुपैयाँको बजेट र ठूलो सुरक्षा जनशक्ति हुँदाहुँदै नागरिकको जीवन रक्षा गर्न नसक्नु लज्जास्पद भएको सांसद शाहीले बताए ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।