नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘हारभन्दा जित सहन गाह्रो हुन्छ’ भन्दै जितमा सम्हालिन सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गर्दै प्रचण्डले भने, ‘हारभन्दा जित सहन गाह्रो हुन्छ ।’
प्रचण्डले रास्वपाले जस्तै आफूले धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता भन्दै त्यसो नगर्न सुझाव दिए । ‘२०६४ सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ,’ उनले भने, ‘करिब तपाईंहरूकै साइजमा थियौँ केही समय पहिले । आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन । इतिहासले भनेको छ- संख्या स्थायी हुँदैन ढुक्क हुनुस् । जनताको समर्थन पनि शसर्त हुन्छ ।’
प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको बताए । ‘पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य ।’
प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे । ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहले मर्यादा पालना नगरे संसद्को गरिमा नहने पनि बताए । ‘प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन,’ उनले भने ।
प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताए । प्रचण्डले भने, ‘सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको थियो। तर नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न सकेको देखिँदैन।’
उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हतार र परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ र जुन परिपाटी अवलम्बन गरेका छौं त्यसबाट नीति तथा कार्यक्रममाथिको छलफल सधैँ एउटा कर्मकाण्ड मात्रै बन्न पुगेको छ।’ सम्बोधनका क्रममा संयोजक प्रचण्डले मधेसी जनताको सपनाहरूको जगमा यो सरकार बनेपनि सिँगो नीति तथा कार्यक्रममा मधेसप्रति मौन रहेको बताए।
उनले भने, ‘सत्तारुढ दलका सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यका तर्फबाट क्षमा माग्नुभयो। तर त्यो क्षमा सरकारको नीति तथा कार्यक्रममा कहिँ कतै प्रकट हुन सकेन। सरकार दलित समुदायका सवालमा विगतका यथास्थितिवादी सरकारहरूभन्दा पनि प्रतिगामी बन्न पुगेको छ।’ उनले दलित विकास प्राधिकरणको आवश्यकता, रैथाने सीपको प्रवर्द्धन र विशेषाधिकार नीतिलाई नीति तथा कार्यक्रमले सम्बोधन नगरेको बताए।









