नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषयलाई राजनीतिक ‘स्टन्ट’ का रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई लोकप्रियता कमाउने माध्यमका रूपमा अघि बढाउन नहुने बताए ।
थापाले संविधान प्रत्येक १० वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै संशोधन प्रक्रिया संवेदनशील र जिम्मेवार ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले सरकारले ‘मैले गर्न खोजेको थिएँ, अरूले गर्न दिएनन्’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले संशोधन बहस अघि बढाउन खोजेको आरोप लगाए ।
‘संविधान संशोधन कुनै लहड वा सनकको विषय होइन,’ उनले भने, ‘यसलाई सम्हालिएर, जिम्मेवार ढंगले अघि बढाउनुपर्छ । राजनीतिक स्टन्ट गरेर हुँदैन ।’
थापाले थपे, ‘धेरै थपडी पाइन्छ भनेर मात्रै कुनै विषय उठाउने र पछि अरूलाई दोष दिने प्रवृत्ति संविधान संशोधनजस्तो गम्भीर विषयमा स्वीकार्य हुँदैन ।’
उनले संविधान संशोधन सहमतिका आधारमा अघि बढाउनुपर्ने धारणा राख्दै संसदभित्रैबाट सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरे । उनका अनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभाको प्रतिनिधित्व रहने गरी गठन हुने संयन्त्रले साझा धारणा निर्माण गर्न सहयोग पुग्नेछ ।
‘संसदभित्रैबाट सर्वदलीय संयन्त्र बनेर संविधान संशोधनको विषयमा छलफल भयो भने दलहरूबीच विश्वास र सहकार्यको वातावरण बन्छ,’ उनले भने ।
थापाले विगतका राजनीतिक अनुभव र अभ्यासका आधारमा संविधानका सकारात्मक पक्षलाई अझ समृद्ध बनाउँदै लैजानुपर्नेमा नेपाली काँग्रेस गम्भीर रहेको बताए ।










