काठमाडौँ । ड्युटीमा खटिएका ट्राफिक प्रहरी अब सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने भएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक परिपत्र गर्दै मातहतका सबै ट्राफिक युनिटलाई यसबारे निर्देशन दिएको छ । ट्राफिक प्रहरीले ड्युटीको समयमा सवारी सेवाग्राहीहरूसँग हात मिलाएका भिडियोहरू सामाजिक सञ्जालमा आएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीहरुसँग हात मिलाएका दृश्यहरू सम्बन्धमा सामाजिक सञ्जाल तथा आम नागरीहरूबाट समेत विभिन्न गुनासो प्राप्त हुन आएको हुँदा अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीसँग हात मिलाउने कार्यलाई पूर्णरुपमा अस्वीकार गरी टाढैबाट नमस्कार मात्र भनी सम्मान गर्न–गराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ ।







