२०८३ असार १६ गते मंगलवार
२०८३ असार १६ गते मंगलवार

पानीका लागि संघर्ष : जहाँ मान्छे र गाईबस्तुले एउटै पोखरीको पानी पिउँछन्

संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको अधिकार सुनिश्चित गरेको छ। तर बागलुङको बडिगाड गाउँपालिका–७ थामचौरका बासिन्दाका लागि त्यो अधिकार अझै कागजमै सीमित छ। यहाँका स्थानीय आज पनि डेढ घण्टासम्म उकालो–ओरालो हिँडेर गाईबस्तुले खाने पोखरीको फोहोर पानी ल्याउन बाध्य छन्।

गाउँमा सुरक्षित खानेपानीको स्रोत नहुँदा स्थानीयले चरिचरन क्षेत्रमा रहेको एउटा पोखरीको पानी नै दैनिक उपभोग गर्दै आएका छन्। उक्त पोखरीमा गाईबस्तु पानी पिउँछन्, त्यहीँ मलमुत्र त्याग्छन्, जसका कारण पानी धमिलो, दुर्गन्धित र फोहोर देखिन्छ। तर विकल्प नहुँदा त्यही पानी गाग्रीमा भरेर घर लैजाने, उमाल्ने र पिउने बाध्यता स्थानीयको दैनिक जीवन बनेको छ।

टाढाबाट पानी ल्याउन सक्ने अवस्था सबैको छैन। विशेषगरी वृद्धवृद्धा, महिला र बालबालिका सबैभन्दा बढी समस्यामा छन्। स्वच्छ पानीको अभावले स्वास्थ्य जोखिम बढेको भए पनि स्थानिय तह तथा सम्बन्धित निकायबाट दीर्घकालीन समाधान नहुँदा स्थानीयको पीडा वर्षौंदेखि उस्तै छ।

यही यथार्थ देखाउने एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि थामचौरको खानेपानी संकट फेरि चर्चामा आएको छ। भिडियोमा स्थानीयवासी गाईबस्तुले प्रयोग गर्ने पोखरीबाट गाग्रीमा पानी भरिरहेको दृश्य देखिन्छ।

पोखरीमा पानी लिन पुगेकी करिब ७० वर्षीया एक वृद्धाले भनिन्, मैले थाहा पाएदेखि यही पानी खाइरहेको हो। गाईबस्तु चर्न आउँदा पनि यही पानी खान्छन्, मान्छेले पनि यही पानी खान्छ। गाईबस्तुले यहीँ पिसाब पनि गर्छन्। अब के गर्ने त, अर्को पानी लिन कहाँ जाने?,

स्थानीयका अनुसार यो समस्या नयाँ होइन। वर्षौंदेखि सुरक्षित खानेपानीको व्यवस्था नहुँदा उनीहरू बाध्यतावश यही पोखरीमा निर्भर छन्। उनीहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन्।

खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा हुन नसक्दा थामचौरका बासिन्दा आज पनि गाईबस्तुसँगै एउटै पोखरीको पानी पिउन विवश छन्। यस्तो दूषित पानीको प्रयोगले झाडापखाला, हैजा, टाइफाइडलगायत पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले स्थानीयको स्वास्थ्य गम्भीर संकटमा पर्न सक्ने देखिन्छ। त्यसैले नागरिकको स्वास्थ्य र सुरक्षित खानेपानीको अधिकार सुनिश्चित गर्न स्थानिय तह तथा सम्बन्धित निकायले यस समस्याप्रति तत्काल गम्भीर ध्यान दिई दिगो समाधानको पहल गर्नु आवश्यक देखिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।