२०८३ श्रावण २५ गते सोमबार
२०८३ श्रावण २५ गते सोमबार

अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी- ‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु’

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूविरुद्ध गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरे ।

उनले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे ।

‘माथि खाइ न पाइ छालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ । ममाथि गम्भीर किसिमका आरोपहरू लगाइएका छन् । रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएको छ,’ उनले भने ।

शाहीले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर आफूले देश र संसदलाई साक्षी राख्दै स्वास्थ्य परीक्षणका लागि अपिल गरेको बताए ।

‘यही संसदमा स्वास्थ्य विभाग छ । स्वास्थ्यकर्मीसहितको विभागको टोली छ । चिकित्सकको टोलीबाट शरीरको प्रत्येक अंग जाँच गरियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मेदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको वा देखिएको प्रमाणित भयो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु,’ उनले भने ।

उनले आफूविरुद्ध आरोप लगाउने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

शाहीले सामाजिक सञ्जालमा भेटिएको अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएको दाबी गरे । उक्त भिडियो आफ्नो भएको प्रमाणित भए आफूले राजनीतिक जीवनबाटै संन्यास लिने घोषणा गरे ।

‘सामाजिक सञ्जालमा भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गर्नेहरूसम्बन्धी कुरा हो । सम्माननीय सभामुख महोदय, म तपाईंको संसदको सदस्य हुँ । संसदको गरिमा र मर्यादा कायम गर्नु मेरो कर्तव्य हो । तपाईं मेरो अभिभावक हुनुहुन्छ,’ उनले भने ।

उनले उक्त भिडियो आफ्नो भए अनुसन्धानबाट प्रमाणित गर्न चुनौती दिँदै आफू राजनीतिक जीवनबाट संन्यास लिन तयार रहेको बताए ।

‘उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट संन्यास लिन्छु,’ उनले भने ।

तर, भिडियो आफ्नो नभएको अवस्थामा गलत सूचना फैलाउने व्यक्तिमाथि प्रहरीले कारबाही गर्नुपर्ने उनको माग छ । यस विषयमा प्रहरीमा निवेदनसमेत दिइसकेको उनले जानकारी दिए ।

‘यदि त्यो भिडियो मेरो होइन, गलत सूचना दिइयो भने प्रहरीले कारबाही किन गरेको छैन ? सरकारले त्यस्ता व्यक्तिलाई कारबाही किन गरेको छैन ? यसको जवाफ माग्छु म । किनभने प्रहरीलाई निवेदन दिइसकेका छौँ,’ शाहीले भने ।

उनले सामाजिक सञ्जालमा फैलाइएका आरोप र सामग्रीका कारण आफ्नो चरित्र तथा राजनीतिक प्रतिष्ठामाथि प्रश्न उठाइएको भन्दै त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।