काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरबासी विद्यार्थीका लागि उच्च शिक्षाको अवसर विस्तार गर्दै मेडिकल र इन्जिनियरिङ अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

नगरपालिकाका अनुसार मेडिकलतर्फ एमबीबीएस, बीडीएस, बीपीटी, बीएस्सी नर्सिङ, बीएनएस, बी.मिड, बीएस्सी एमआईटी र बीएस्सी ल्याब मेड अध्ययन गर्न चाहने नगरबासी विद्यार्थीले छात्रवृत्ति पाउनेछन्।
त्यस्तै, इन्जिनियरिङतर्फ इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड कम्युनिकेसन, कम्प्युटर, आईटी, मेकानिकल र सिभिल इन्जिनियरिङ अध्ययनका लागि पनि ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ।

नगर प्रमुख दिपक रिसालले आर्थिक अभावका कारण प्रतिभावान् विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको बताएका छन्।
स्थानीय विद्यार्थीलाई महँगो र प्रतिस्पर्धात्मक शिक्षामा पहुँच बढाउने नगरपालिकाको यो कार्यक्रमले ‘आर्थिक अवस्था होइन, क्षमता र मेहनतले भविष्य निर्धारण गर्ने’ वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।









