नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महामन्त्री पदका उम्मेदवार डा.सुनिल शर्माले आफूले स्वच्छ छवि कायम राखेको र पार्टी तथा लोकतन्त्रको हितमा लामो समयदेखि काम गर्दै आएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा प्रचारप्रसारका क्रममा बोल्दै डा.शर्माले आफ्नो उम्मेदवारीको मुख्य आधार आफू भ्रष्टाचारमा संलग्न नभएको र जनतासँग प्रत्यक्ष जोडिएर काम गरेको दाबी गरे ।
‘हरेक नेपाली नागरिकले भष्ट्राचार नगर्ने नेता चाहन्छ,’ उनले भने, ‘म भष्ट्रचाररहित, क्लिन छवि भएको नेता हुँ । सांसद हुँदासमेत एक रुपैयाँ तलब भत्ता नखाएको र नेपाल सरकारबाट बुद्ध एयरको टिकटसमेत लिएर विराटनगरसम्म नउडेको नेता हुँ ।’

उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा आफूले निरन्तर काम गर्दै आएको दाबी गर्दै देशका विभिन्न भूगोलका जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको बताए ।
शर्माले गिरिजाप्रसाद कोइरालाको समयदेखि नै नेपाली कांग्रेस, लोकतन्त्र र पार्टीको हितमा काम गर्दै आएको उल्लेख गरे । १२ बुँदे समझदारीसम्म आइपुग्ने राजनीतिक प्रक्रियामा आफूले समेत भूमिका खेलेको उनको दाबी थियो ।
महाधिवेशन प्रतिनिधिहरू सामान्य कार्यकर्ता नभएको उल्लेख गर्दै डा.शर्माले उनीहरू लामो राजनीतिक अनुभव र संघर्षपछि प्रतिनिधिका रूपमा आएको बताए ।
उनले आफ्नो पक्षमा देखिएको माहोलबारे भने, ‘०४६ पछाडि अहिलेसम्म कांग्रेसको अधिवेशनमा जुन उत्साहजनक तरिकाले पदाधिकारीको पक्षमा माहोल देखिन्छ, यो सम्भवतः पहिलो हुन सक्छ ।’
शर्माले आफू पार्टीका शीर्ष नेताहरूको सूचीमा नरहेको र कुनै गुटमा समेत नरहेको दाबी गरे । ‘टाउकाहरूले हराउन चाहेको तर कार्यकर्ताहरूले जिताउन चाहेको’ उम्मेदवार आफू भएको उनको भनाइ छ ।
उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले आफ्नो उम्मेदवारीबारे निर्णय गर्ने र आफूलाई समर्थन गर्ने विश्वाससमेत व्यक्त गरे ।











