२०८३ कार्तिक १३ गते बिहीबार
२०८३ कार्तिक १३ गते बिहीबार

आर्थिक अभावले रोकिएन सिमानाको सपना, सुनील शर्माले गरिदिए आईटी पढाइदेखि रोजगारीसम्मको व्यवस्था

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङलाई परिवारको कमजोर आर्थिक अवस्था र चार सन्तानको भविष्यको चिन्ताले सताइरहेको थियो। छोराछोरीलाई पढाएर सक्षम बनाउने चाहना हुँदाहुँदै पनि उनीसँग त्यसका लागि आवश्यक खर्च जुटाउने सामर्थ्य थिएन। विशेषगरी, कान्छी छोरी सीमाना चेपाङको आईटी विषयमा उच्च शिक्षा हासिल गर्ने सपना आर्थिक अभावकै कारण अधुरै रहने जोखिम थियो। तर, नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्मासँग भएको एउटा भेटले सीमानाको भविष्यका लागि नयाँ सम्भावनाको ढोका खोलिदिएको छ।

पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्ने उद्देश्यले ‘ग्राउन्ड जिरो’ अभियानअन्तर्गत जिल्ला दौडाहामा रहेका डा. शर्मा मकवानपुर पुगेका बेला राक्सिराङ गाउँपालिका–८ निवासी रामकृष्णसँग उनको भेट भएको थियो। कुराकानीका क्रममा रामकृष्णले आर्थिक अवस्थाका कारण कान्छी छोरीलाई उच्च शिक्षा पढाउन नसकिरहेको बाध्यता सुनाए। उनको अवस्था र छोरीको पढ्ने चाहना बुझेपछि शर्माले सीमानालाई काठमाडौं ल्याएर सूचना प्रविधि (आईटी) तथा कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा स्नातक तहको अध्ययन गराउने जिम्मेवारी लिने बताए। पढाइसँगै रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले जनाए।

रामकृष्णका लागि यो भेट छोरीको भविष्य बदल्ने आशाको किरण बनेको छ। उनले डा. शर्मासँग भेट हुनुलाई संयोगका रूपमा स्मरण गर्दै भने, “डा. शर्मा काठमाडौंलबाट मकवानपुर आउनुभएको रहेछ। उहाँलाई भेट्ने मेरो धेरै पहिलेदेखिको इच्छा थियो। भगवानले आज भेट्ने मौका जुराइदिनुभयो।”

आफ्नो आर्थिक अवस्थाबारे उनले थपे, “म गरिब परिवारको मान्छे हुँ। छोरीलाई आईटी पढाउने अवस्था थिएन। उहाँले छोरी पढाउने जिम्मा लिइदिनुभयो।”

रामकृष्ण र सीमाना दुवैसँगको भेटमा डा. शर्माले अध्ययनको आश्वासन मात्रै दिएनन्, पढ्ने कलेज र विषयसमेत स्पष्ट पारे। उनले सीमानालाई काठमाडौं ल्याएर टेक्सास कलेजमा अध्ययन गराउने जानकारी दिँदै भने, “सीमाना, हामी तपाईंलाई काठमाडौं लिएर जाँदैछौँ। टेक्सास कलेजमा आईटी पढ्नुहुन्छ। त्यहाँका प्रिन्सिपल भेषराज पोख्रेल मेरा गाउँले साथी पनि हुनुहुन्छ। तपाईंले आईटी र एआईमा स्नातक गर्नुहुन्छ।”

डा. शर्माका अनुसार टेक्सास कलेजमा सीमानाका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था मिलाइनेछ। आईटी अध्ययनका लागि लाग्ने करिब १० लाख २० हजार रुपैयाँमध्ये सात लाख रुपैयाँ कलेजले बेहोर्ने र बाँकी तीन लाख २० हजार रुपैयाँ आफूहरूले व्यवस्था गर्ने उनले बताएका छन्। आर्थिक समस्याका कारण पढाइमा बाधा नपुगोस् भन्ने उद्देश्यले काठमाडौं मेडिकल कलेजमा रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले जनाएका छन्।

आर्थिक अभावका कारण आफ्नो सपना पूरा हुनेमा अन्योलमा रहेकी सीमाना यो अवसर पाएपछि निकै खुसी भइन्। उनले भनिन्, “एकदमै खुसी र रमाइलो लागिरहेको छ, धेरै धेरै धन्यवाद।”
डा. शर्माले सीमानालाई चार वर्षको अध्ययन पूरा गरेर आईटी विशेषज्ञ बन्न र त्यसपछि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न हौसला दिएका छन्। पढाइसँगै रोजगारीलाई निरन्तरता दिएर आफ्नो भविष्य निर्माण गर्न उनले सीमानालाई प्रेरित गरेका छन्। “चार वर्षमा तपाईं आईटीको विशेषज्ञ बन्नुहुन्छ। अब जागिर खाँदै पढ्ने है त,” शर्माले भने, “आईटी पढ्ने र स्नातकोत्तर गर्ने अनि आफूजस्तै आर्थिक अभावमा रहेका बालबालिकाको भविष्य उज्यालो बनाउने।”

शिक्षा र स्वास्थ्य क्षेत्रमा छात्रवृत्तिमार्फत सहयोग गर्दै आएका शर्माले आफ्नो स्वामित्वमा रहेका काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, विपन्न तथा दलित समुदायका एक हजारभन्दा बढी विद्यार्थीलाई अध्ययनको अवसर उपलब्ध गराएका छन्। उनीहरूमध्ये कतिपय चिकित्सक तथा स्वास्थ्य प्राविधिक बनेका छन्। सीमान्तकृत सन्थाल समुदायका दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा पनि शर्माको सहयोगमा अध्ययन गरेर चिकित्सक बनेका हुन्। अन्य विद्यार्थीले ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा काम गर्न आवश्यक योग्यता हासिल गरेका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।