पूर्वमुख्यसचिव एकनारायण अर्याललाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी तथा संगठित अपराधसम्बन्धी प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ ।
शुक्रबार अदालतले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । भारतको दिल्लीमा पक्राउ परेका उनलाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो ।

अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा उठाइएको अतिरिक्त शुल्क विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । सीआईबीले उनीविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा (बीएमएस) का नाममा प्रतिव्यक्ति १०० रिङ्गेट अतिरिक्त शुल्क असुली गरिएको थियो । सन् २०१९ देखि २०२४ सम्म संकलित रकम विभिन्न चरणमा १७ पटक मलेसिया पठाइएको प्रहरीको दाबी छ ।
यसरी संकलित रकम नेपाल र मलेसिया सरकारबीच भएको समझदारी तथा प्रचलित कानुनी व्यवस्थाविपरीत विदेश पठाइएको आरोप छ । अनुसन्धानमा मलेसियाली कम्पनी बेस्टिनेटको नेपालस्थित स्थानीय प्रतिनिधि म्याक्रो टेक प्रालिको भूमिका पनि देखिएको उल्लेख छ ।
सीआईबीको अनुसन्धानमा यस प्रकरणमा करिब १ अर्ब ६९ करोड रुपैयाँ गैरकानुनी रूपमा मलेसिया पठाइएको आरोप छ । उक्त रकम पठाउने निर्णय प्रक्रियामा सरकारी अधिकारीहरूको भूमिका रहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।












