२०८३ मंसिर १२ गते शुक्रबार
२०८३ मंसिर १२ गते शुक्रबार

थापाथलीबाट विस्थापित, बोडेबाट पनि लखेटिँदै ! सुकुम्बासीको प्रश्न–अब कहाँ जाने ?

वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन् ।

सरकारले गत १२ र १३ बैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरुले सरकारको निर्णयको विरोध गरेका छन् ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी नागरिकले उचित व्यवस्थापनबिना आफूहरूलाई हटाउन खोजिएको भन्दै शुक्रवार रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले शुक्रवार बिहानैदेखि खाना दिन छोडेको तथा आजैदेखि होल्डिङ सेन्टर छोडेर जान निर्देशन दिएको थियो ।

सुकुम्बासी नागरिक हरिमाया जिम्बाले आफूहरू थापाथलीबाट विस्थापित भएर बोडे आइपुगेको बताइन् । उनका अनुसार कीर्तिपुरस्थित आश्रयस्थलमा करिब साढे दुई महिना बसेपछि डुबानका कारण उनीहरुलाई बोडे सारिएको थियो ।

अहिले बोडेमा रहेकामध्ये सात परिवारलाई मात्र वास्तविक सुकुम्बासी मानेर सरकारले अन्य सबैलाई हटाउन खोजेको आरोप लगाइन् । उनले आफूहरू नेपाली नागरिक भएकाले सरकारले सम्मानपूर्वक बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

सरकारले वैकल्पिक बसोबासको व्यवस्थापन गर्न नसक्ने भए आफूहरुलाई थापाथलीमै छोडिदिनुपर्ने समेत उनको माग छ ।

अर्का सुकुम्बासी नागरिकले समेत आफूहरू लामो समयदेखि सुकुम्बासी बस्तीमा बस्दै आएको उल्लेख गर्दै सरकारले पुनःस्थापनाको प्रतिबद्धता पूरा नगरेसम्म होल्डिङ सेन्टरमा ननिस्किने बताए ।

उनले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा १५ दिनभित्र व्यवस्थापन गर्ने भने पनि ६ महिना बितिसक्दा समेत उचित व्यवस्था गर्न नसकेको उनको गुनासो छ । ‘हामी यहाँ बस्न थालेको ५० औँ वर्ष भइसक्यो, अनि हाम्रो बस्तीमाथि डोजर लगाउने ? हामीलाई उठाइसकेपछि सरकारले १५ दिनमा व्यवस्थापन गर्छौँ भनेको होइन ? १५ दिन कहाँ गयो ? ६० दिन कहाँ गयो ? सय दिन कहाँ गयो ? अनि ६ महिना कहाँ गयो ? अनि अहिले जबरजस्ती उठाउन आउने ? बरु १ चम्चा पानीमा डुबेर मरे हुन्छ सरकार । दुई तिहाईको सरकारले चाहेमा के गर्न सक्दैन ? अनि यस्तो गर्न मिल्छ ? मिल्दैन नि’ उनले भने ।

त्यसैगरी अर्का सुकुम्बासी नागरिकले आफूहरुको अन्यत्र घरजग्गा नभएको र भाडामा बस्न सक्ने आर्थिक अवस्था पनि नरहेको बताए । साना बालबालिका भएका परिवारलाई कोठा पाउनसमेत कठिनाइ भइरहेको भन्दै उनले सरकारले नै उचित व्यवस्थापन गरिदिनुपर्ने उनको माग छ ।

सरकारले बोडेस्थितको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवारलाई शुक्रवार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छोड्न अल्टिमेटम दिएको थियो । त्यसपछि उनीहरूलाई खाना समेत बन्द गरिएको छ । खाना नै बन्द गरिदिएपछि उनीहरू दिउँसो चाउचाउ–चिउरा खाएर भोक मेटिरहेका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।