भक्तपुर, ८ मंङसीर । भक्तपुरमा पहिलोपटक मानव अङ्ग प्रत्यारोपण केन्द्रले मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा. मोहनदेव भण्डारी, डा. सम्पूर्णमान तुलाधर, डा. प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा. सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेको थियो । केन्द्रले आयोजना गरेको पत्रकार सम्मलेनमा यसबारे जानकारी दिँदै केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले मुटु उपचार सेवा सुरु गरेको एक महिना नबित्दै केन्द्रले मुटुको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको बताए।
मुटु सेवा सुरु गरेका अस्पतालमध्ये भक्तपुरमा पहिलो र नेपालका सरकारी अस्पतालमध्ये मुटुको शल्यक्रिया गर्ने चौथो अस्पतालका रुपमा केन्द्र स्थापित भएको बताउँदै उनले अब मुटुको भल्बदेखि मुटु तथा कलेजोको प्रत्यारोपण समेत गर्ने लक्ष्य लिएको जानकारी दिए। केन्द्रले गत बिहीबार सङ्खुवासभा चैनपुर गाविसकी ५९ वर्षीया राधादेवी श्रेष्ठको मुटुको रक्तनलीको वाइपास शल्यक्रिया सम्पन्न गरेको छ ।