इजरायल पुस १४ बीबीसी । इजरेलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी विदेशमन्त्री जन केरीको वक्तव्यले आफूलाई एकदमै निराश बनाएको भन्दै राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पसँग काम गर्न इच्छुक रहेको बताएका छन्।
उनले केरीले इजरेली बस्तीबारे बढाइचढाइ धारणा राखेको तर प्यालेस्टाइनका उत्तेजनात्मक तथा हिंसात्मक गतिविधिबारे प्रतिक्रियासम्म नजनाएको बताए।
यसअघि एउटा भाषणमा अमेरिकी विदेशमन्त्री जन केरीले अधिनस्थ भूभागका यहुदी बस्तीले मध्यपूर्वको द्वन्द्व सामाधानका लागि दुई राज्यको अवधारणालाई क्षति पुर्याइरहेको बताएका थिए।
प्यालिस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरेलले अवैध बस्ती बनाउन रोके वार्ता शुरु गर्न तयार रहेको जनाएका छन्।
एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री नेतान्याहुले मध्यवपूर्वमा तनावहरु बढिरहेको सन्दर्भमा इजरेल प्रति एकदमै आलोचनात्मक अमेरिकी विदेशमन्त्रीको सम्बोधनको कडा आलोचना गरे।
उनले भने, यदि शान्तिलाई नै बढावा दिन चाहने हो भने इजरेललाई अस्वीकार गर्ने प्यालेस्टाइनको निर्णय र हिंसाप्रतिको उसको समर्थनका बारेमा विश्वले ध्यान दिनुपर्छ, यति साधारण सत्यलाई पनि विदेशमन्त्री केरीले बुझ्न नसक्नु लाजमर्दो हो र म त्यसप्रति दुस्ख मात्रै व्यक्त गर्नसक्छु।ू
त्यसअघि आफ्नो कार्यकाल सकिन तीन साता बाँकी रहँदा दिएको एउटा मुख्य सम्बोधनमा अमेरिकी विदेशमन्त्री केरीले अधिनस्थ भूभागमा निर्माण गरिएका यहुदी बस्तीको भर्त्सना गर्ने राष्ट्रसंघको निर्णय अमेरिकी मूल्य मान्यता अनुरुप भएको बताए।
पदभार सकिनुअघिको कडा सुनिने भाषणमा उनले वेस्ट ब्याङ्क र पूर्वी जेरुसलेमा बढिरहेका इजरेली बस्तीहरुप्रति स्पष्ट रुपमा निराशा व्यक्त गरे।
उनले त्यसलाई देश नै कब्जा गर्ने प्रयासका रुपमा संकेत गर्दै त्यसले दुई राज्य अवधारणा अन्तर्गतको समाधानलाई असम्भव तुल्याउने चेतावनी दिए।
केरीले दुई वटा देश शान्तिपूर्ण रुपमा बसिरहेको हेर्ने सपना त्याग्न के अहिलेको पुस्ता तयार छ भनेर प्रश्न पनि सोधेका थिए।
अधिकांश देशहरुले प्यालेस्टाइनको भूमिमा बनाइएका यहुदी बस्तीहरुलाई गैरकानूनी मान्ने गर्छन् तर इजरेलले त्यसप्रति कडा असहमति व्यक्त गर्ने गरेको छ।
यतिबेला उसले भावी अमेरिकी राष्ट्रपतिबाट फरक खालको दृष्टिकोणको अपेक्षा गरिरहेको छ।
यसअघि नै अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले इजरेलको पक्षमा आफू रहेको र २३ दिन पछि आफूले कार्यकाल नसम्हालुनजेलसम्म दह्रो भएर बस्न इजरेललाई आग्रह गरेका थिए।
केरीको सम्बोधनपछि प्रतिक्रिया जनाउँदै प्यालेस्टाइनका राष्ट्रपति महुमुद अब्बासले इजरेलले गैरकानुनी बस्ती निर्माण रोके आफ्नो देश वार्तामा बस्न तयार रहेको बताए।
अर्को महिना प्यारिशमा हुन लागेको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई प्यालेस्टाइनका नेताहरुले समर्थन गरिरहेका छन्।
इजरेलको असहमति रहेको उक्त सम्मेलन आयोजनाका लागि आफूहरुले फ्रान्ससँग मिलेर काम गरिरहेको उनीहरुको भनाइ छ।