फागुन १४, धनकुटा । यो वर्ष धनकुटामा किसानले २५ करोड रुपैयाँको सुन्तला उत्पादन गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले संकलन गरेको तथ्याङ्क अनुसार गएको वर्ष भन्दा यो वर्ष १५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । गएको वर्ष धनकुटाका किसानले २२ करोड रुपैयाँको सुन्तला उत्पादन गरेका थिए ।
यस वर्ष जिल्लाको ७ सय ७५ हेक्टरमा गरिएको खेतीबाट ३ हजार ७ सय ७० मेक्ट्रिक टन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला मध्ये करिव ८० प्रतिशत सुन्तला जिल्ला बाहिर निकासी भएको जिल्ला कृषि विकास कार्यालय धनकुटाका प्रमुख भरतप्रसाद विडारीले जानकारी दिए ।
कृषि विकास कार्यालयले पकेट क्षेत्र घोषणा गरेको धनकुटा नगरपालिका, खोकु, छिन्ताङ, मौनावुधुक, भीरगाउँ, खुवाफोक, बोधे र तेलिया गाविसमा सुन्तला खेती गर्ने लहर चलेपछि उत्पादनमा वृद्धि भएको हो ।