शेरवहादुर देउवालाई रामचन्द्र पौडेलको चेतावनी सहित पत्रचार

0
350

काठमाडौं, १५ फागनु । कांग्रेस सभापति शेरवहादुर देउवाको पार्टी संचालन गर्ने कार्यशैलीप्रति विरोध जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउन लिखित माग गरेको छ । मौखिक रुपमा बारम्बार आग्रह गर्दा पनि बैठक नबोलाएपछि लिखित रुपमा बैठक बोलाउन आग्रह गरिएको पौडेल पक्षीय नेताहरुले बताएका छन् । देउवालाई शनीबार (हिजो) बिहानै बुझाउन बरिष्ठ नेता पौडेलले पत्र तयार पारेका थिए । तर, देउवा राजधानी बाहिरको कार्यक्रममा गएकाले साँझ मात्रै पत्र बुझाइएको हो ।

पौडेलले हस्ताक्षर गरेको पत्र उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले निवासमै लगेर देउवालाई बुझाएका हुन् । आसन्न तीन तहका निर्वाचन र सरकार संचालनका विषयमा गम्भीर छलफल गर्नुपर्ने कारण जनाउँदै बैठक बोलाउन माग गरिएको छ । ‘पार्टी र भातृसंस्थाहरुको संचालनमा सन्तुलित तवरबाट क्रियाशीलता आवश्यकता छ’ पौडेलले देउवालाई बुझाएको पत्रमा उल्लेख छ, ‘पार्टीको प्रमुख सहभागिता भएको सरकारको काम, प्रभावकारिता र त्यसका लागि पार्टीले खेल्नुपर्ने भूमिका र पछिल्ला चरणमा हुन गएका विवादस्पद निर्णयबाट हाम्रा शुभचिन्तकमा चिन्ता छाएको छ ।’ पौडेल पक्षले पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक नबसेको महिनौँ भएको र संस्थागत रुपमा पार्टी संचालनको अभ्याससमेत नभएको भन्दै सभापति देउवाको कार्यशैलीप्रति आलोचना गर्दै आएको छ ।

पार्टीले लिएका निर्णयहरुमा विधिवत् छलफल हुन नसकिरहेको भन्दै पौडेलले पठाएको पत्रमा उल्लेख छ, ‘पार्टीका साथीहरुको भावनाअनुसार केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक अविलम्ब बोलाउन अनुरोध गर्छु।’ पौडेल पक्षको शनिबार बिहान र शुक्रबार बसेको बैठकले लिखित माग गर्दा पनि केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक नबोलाइए हस्ताक्षर संकलन गर्ने चेतावनीसमेत दिएको छ । पौडेल पक्षको बैठक महामन्त्री सशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको थियो। बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महतलगायत करिव दुई दर्जन नेताको सहभागिता थियो।