२०८२ असार ३२ गते बुधबार
२०८२ असार ३२ गते बुधबार

प्रेम विवाहको विषयमा झडप हुँदा १९ जना घाइते, प्रहरीको गाडी र गोदाम समेत जलाइयो

प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चारजना घाइते भएको प्रहरीले जनाएको छ । झडपमा घाइते भएका पाल्हीनन्दन गाउँपालिका–३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

धवलको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । केटीपक्षका सोवराती पवरियाले चलाएको लु १ त ७७०० नम्बरको पिकअपले ठक्कर दिँदा धवल गम्भीर घाइते भएका हुन् । धवलको पेटमा चोट लागेको छ । धवलसँगै सोही स्थान बस्ने ४५ वर्षीय बैजनाथप्रसाद लोनियलाई पनि गाडीले ठक्कर दिएको हो । लोनियको दुवै खुट्टामा चोट लागेको छ ।

प्रहरीले घटनालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रु ग्यास र तीन राउण्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । केटाकेटीको प्रेम सम्बन्धलाई लिएर सुरु भएको विवादले झडपको रुप लिएको थियो । केही दिनअगाडि एक स्थानीय केटा र केटीबीच भागी विवाह भएको थियो । पछि दुवै जनालाई प्रहरीले छलफलपश्चात् अभिभावकको जिम्मा लगाएको थियो । तर केही दिनपछि उनीहरु फेरि भागेपछि दुई परिवारका बीचमा मनमुटाव सुरु भएको हो ।

सोमबार केटीपक्षले केटाका दाइलाई कुटपिट गरेका थिए । सोही विषयमा आज झडप भएको हो । केटापक्षका सयौं मान्छेहरु मोहरम पवरियाको घर घेर्न आउँदा ढुङ्गा हानाहान भएको थियो । पवरियाको कवाडी सङ्कलन स्थलमा पनि आगजनी भएको छ । केटी पक्षका सोवराती पवरियाले केटापक्षका मान्छेलाई गाडीले ठक्कर दिएपछि झडपले उग्ररुप लिएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक पवरिया र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाकोे सम्बन्धमा सोधपुछका लागि प्रहरीले चार महिलालाई नियन्त्रणमा लिएको जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।