विप्लव पार्टीका ‘बुढा नेता’लाई अब जिवन निर्वाहका लागि भत्ता

0
765

काठमाडौं, ७ चैत्र । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वृद्ध उमेर पुगेका आफनो पार्टीका नेताहरुलाई सक्रिय राजनीतिबाट विदा गरी जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ ।

नुवाकोटको थानसिङमा पाँच दिनसम्म सञ्चालन भइ सकिएको पार्टीको केन्द्रीय समिति बैठकले चैतदेखि लागु हुने गरी जीवन निर्वाह भत्ता दिने निर्णय गरेको हो । जीवनभर राजनीति गरेका बृद्ध नेताको जीवनलाई सहज बनाउन जीवन निर्वाह भत्ता दिने निर्णय गरिएको नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलले बताउनुभयो ।

बृद्ध नेताहरुलाई जीवन निर्वाह भत्ता दिने निर्णय यसअघि अरु कुनै पार्टीले गरेका छैनन्। नेताहरुको भरणपोषणका लागि केन्द्रीय तहमा अक्षयकोष स्थापना गर्ने निर्णय पनि सो पार्टीले गरेको छ ।

अक्षय कोषको व्याजबाट प्राप्त हुने रकमलाई बृद्ध नेताहरुको जीवन निर्वाह भत्ताको रुपमा उपलब्ध गराउने व्यवस्था पार्टीले मिलाएको छ । तत्कालका लागि १० लाख रुपैयाको अक्षयकोष स्थापना गर्न लागिएको सो पार्टीले जनाइएको छ ।

जीवन निर्वाह भत्ता पाउनेको प्रारम्भिक सूचिमा ईश्वरी दाहाल, चित्रबहादुर आले र राम लखन रहनु भएको छ । उहाँहरुले मासिक पाँच हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनु हुने भएको छ ।

यी तीनै जना नेताले सो पार्टीको स्थायी समिति सदस्यबाट विदा लिनु भएको छ भने उहाँहरु सल्लाहकारको भूमिकामा रहने बताइएको छ ।