सप्तरी, ७ चैत्र । सप्तरीमा वर्षासँगै भारी असिना परेको छ । यसले सप्तरीको जनजीवन प्रभावित भएको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा असिना खसेको छ । पूर्व–पश्चिम राजमार्गमा समेत खसेको असिना दुई फिटसम्म जमेको छ । करिब एक घण्टासम्म लगातार असिना खसेको स्थानीयहरुले बताएका छन् । जिल्लाको जण्डौल, बकधुवा गाविसका साथै कञ्चनरुप नगरपालिकामा व्यापक असिना खसेको छ । जिल्ला सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा वर्षा भएपनि सामान्य असिना खसेको छ । पछिल्लो तीन दशकभन्दा बढी समयपछि यत्रो असिना खसेको बताउँछन् वृद्धवृद्धाहरु ।
अत्यधिक असिना र भारी वर्षाले जिल्लाको उत्तरी पूर्वी क्षेत्रमा लगाइएको बिघौंको गहुँबाली नष्ट गरेको छ । गहुँ पाक्ने बेलामा खसेको असिनाले सम्पूर्ण लगानी डुबाएको कृषकहरुले बताएका छन् । गहुँका साथै आँप लगायतका फलफूल समेत असिनाले नष्ट भएको छ । भर्खर फल बन्न थालेको आँपको सम्पूर्ण मुजुरलाई असिनाले नष्ट गरेको छ । किसानहरुले लगाएको मुँगको दाल, बिभिन्न किसिमका तरकारीसहितका बालीहरु पनि असिनाले नष्ट गरेको छ ।