काठमाडौं, १६ चैत्र । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सभापतिमा विजयी तपेन्द्रबहादुर शाहीले ६९९ मत प्राप्त गरेका छन् । कुल एक हजार दुई सय ७८ मत खसेको थियो ।
सचिवमा नारायण शर्माले ६९६ र कोषाध्यक्षमा संगमप्रसाद देवकोटाले ७१० मत प्राप्त गरी विजयी भएका छन् । पदाधिकारीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वा्चित हुने व्यवस्था छ । त्रिविमा यो वर्षदेखि मिश्रित प्रणालीमा स्ववियु चुनाव भएको हो । समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले तीन सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाँचौँले ६ मत प्राप्त गरेका छन् ।
यसैबीच,
माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले स्ववियु चुनावको परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ । अध्यक्ष नरेन्द्र न्यौपानेले मंगलबार साँझ प्रेस विज्ञप्ति निकालेर एकतर्फ रूपमा स्ववियु चुनाव गरिएको आरोप लगाएका छन् । उनले धाँधली भएको र आचारसंहिताको उल्लंघन भएकोसमेत आरोप लगाएका छन् ।
निर्वाचनमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ ५ बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो ।