२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

जनमत र नाउपा एकता : कसलाई के जिम्मेवारी ?

 जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकता पक्का भएको छ । दुई पार्टीबीच एकीकरणको टुंगो लागिसकेको र बढीमा १० दिनभित्रै यसको औपचारिक घोषणा हुने नाउपाका उपमहासचिव राजन गुरुङले जानकारी दिएका छन् ।

गुरुङका अनुसार एकीकृत पार्टीको अध्यक्ष सीके राउत, सहअध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी रहने भएका छन् । चौधरी अहिले पनि नाउपाको संरक्षक छन् । यस्तै एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राखिने भएको छ। चुनाव चिह्न नाउपाले अहिले प्रयोग गर्दै आएको ‘ढकिया’ रहने भएको छ ।

जनमत पार्टीले अहिले प्रयोग गर्दै आएको चुनाव चिह्न ‘हर्न’ हो । एकीकृत नाम ‘नागरिक जनमत पार्टी’ राख्दा दुवै पार्टीको अहिलेको नामको पनि प्रतिनिधित्व हुने भएकाले यो सहमतिमा पुगिएको हो । ‘हाम्रो पार्टीका अध्यक्ष एकीकृत पार्टी पनि अध्यक्ष हुने सहमति भएकाले हामीले हाम्रो चुनाव चिह्न हर्न छाड्न तयार भएका हौं’, जनमत पार्टीका एक नेताले भने ।

दुवै पार्टीले एकीकरणको ढाँचा तयार गर्न कार्यदल गठन गरेका छन् । नाउपाले बनाएको एकता कार्यदलमा गंगाराम चौधरी, रामलाल थारु र सुनिता चौधरी तथा जनमतले गठन गरेको कार्यदलमा अब्दुल खान, शरत्सिंह यादव र बालगोविन्द चौधरी छन् । दुवै कार्यदलले तीन दिनदेखि एक साताभित्र एकीकरणको रूपरेखा तयार गरी प्रतिवेदन बुझाउने र त्यसलगत्तै एकीकरणको औपचारिक घोषणा हुने कार्यक्रम तय गरिएको गुरुङले बताए ।

सुरुमा अध्यक्ष पद छाड्न रन्जिता तयार थिइनन् । ‘रन्जिता श्रेष्ठ एकीकरणको पक्षमै हुनुहुन्थ्यो तर उहाँले अध्यक्ष पद छाड्न चाहनुभएको थिएन तर संरक्षक रेशम चौधरीलगायत पार्टीभित्रको ठुलो पंक्तिको दबाबले अध्यक्ष पद छाड्न तयार हुनुभएको देखिन्छ’, नाउपाका एक नेताले भने । ती नेताका अनुसार रन्जिताका लागि सहअध्यक्ष पद सिर्जना गरेपछि उनी एकीकरणमा सकारात्मक भएकी हुन् ।

नाउपामा सुरुदेखि नै रेशम र रन्जिताबिच विवाद छ । केही समय पहिले यी दुई नेताबीचको विवाद सतहमै आएर झण्डै पार्टी विभाजनको अवस्थामा पुगेको थियो । प्रतिनिधिसभामा जनमत पार्टीका एक प्रत्यक्ष निर्वाचितसहित ६ जना सदस्य र नाउपाका चार सदस्य छन् । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जनमत राष्ट्रिय पार्टी बनेको हो । नाउपा भने राष्ट्रिय पार्टी बन्न सकेको छैन । जनमत र नाउपाबीच एकीकरणपछि यो तराई÷मधेस केन्द्रित ठूलो दल हुनेछ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।