२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएसंगै हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले बताए ।

आज नै बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

तीन दलका शिर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको छ ।

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको शिर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको एमाले स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउने विषयमा परामर्श भएको बताए ।

उनले भने,‘बैठक शान्ती प्रक्रियाको बाँकी काम अर्थात सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो । केही समय अघि दुई वटै आयोगहरु गठन गर्नको लागि गठन गएको सर्च कमिटिले एउटा प्रतिवेदन पनि दिएको थियो । त्यो प्रतिवेदनलाई पनि त्यहाँ राखियो । त्यस प्रतिदेवन अनुसार मिलेर अगाडि जाने कुरामा विगतमा जस्तै छलफल गर्नुभयो । र त्यसमा हामी आज एउटा निष्कर्षमा पुगेका छौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मmेलमिलाप आयोग ऐन, २०७१ को दफा ३९३०को बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिस समिति, सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीज्यूले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो । र परामर्श बमोजिम अब सिफारिस प्रक्रिया अगाडि बढ्छ ।’

बैठकमा प्रमुख तीन दलका शिर्ष नेतासँगै कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक एमालेबाट प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी थिए ।

गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९५, लगानी शून्य दशमलव ८३, जीवन बीमा एक दशमलव ४६ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ४४, निर्जीवन बीमा शून्य दशमलव ६५, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५० प्रतिशतले बढेको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य आज सबैभन्दा धेरै नौ दशमलव ५१ प्रतिशतले बढ्को छ । सबैभन्दा धेरै घट्नेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ६९ लाख ७७ हजार ५७८ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता शेयर किनबेच भएको छ ।

दाङ । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।

अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । उनका अनुसार हाल सात वटा दमकलले आगो निभाइरहेका छन् ।

दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ । प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन ढिलाइ भएको प्रजिअ लम्सालको भनाइ छ ।

‘प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ’ उनले भने ‘निभाउन अझै समय लाग्ने देखिन्छ ।’

आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताए । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।

काठमाडौं । बुढानीलकण्ठ मन्दिरको मर्मत, सम्भार र विस्तारका लागि २०४४ सालमा सुरु भएको मन्दिर आसपासको ४८ रोपनी जग्गा अधिग्रहण अझैसम्म पूरा नभएपछि सर्वोच्च अदालतले यथाशीघ्र अधिग्रहणको काम पूरा गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले सरकारलाई अधिग्रहणको काम तत्काल पूरा गर्न निर्देशन दिएको हो । २०४१ सालमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको मन्दिर भ्रमणको क्रममा राजारानीले दिएको निर्देशन अनुसार मन्दिर आसपासको ४८ रोपनी ११ आना २ दाम २ पैसा क्षेत्रफलको जग्गा अधिग्रहणको काम २०४४ सालमा सुरु भएको थियो ।

सरकारले मन्दिर आसपासको तोकिएको क्षेत्र जग्गा प्राप्ति ऐन २०३४ अनुसार अधिग्रहण गर्ने भएपछि सरोकारवाला जग्गाधनीलाई मुआब्जा लिनको लागि प्रमाणसहित सरकारी निकायमा दावी गर्न सूचना जारी गरिएको थियो । २०४४ भदौ ३१ मा गोरखापत्रमा हबदावी सम्बन्धी सूचना प्रकाशित गरेपछि सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समिति पनि बनाएको थियो । समितिले अधिग्रहण गरिने जग्गाको मूल्यांकन गरी तत्कालीन प्रचलित मूल्यअनुसार २० लाख २० हजार ५६६ रुपैयाँ मुआब्जा दिनुपर्ने ठहर गरेपछि सो रकम निकासा पनि भएको थियो ।

तर, निकासा भएको रकममध्ये १८ लाख ४७ हजार ९३८ रुपैयाँ मात्र सम्बन्धित जग्गा धनीलाई दिइयो । बाँकी १ लाख ७२ हजार ६२७ रुपैयाँ भने जग्गा धनीले लिन नआएपछि सरकारी कोषमा फिर्ता भयो । ०४८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले लेखेको एक पत्रमा ७ रोपनी जग्गाको मुआब्जा वितरण भएको भनिएको थियो । सो जग्गाको खरिद बिक्री रजिष्ट्रेसन पास समेत भइसकेको र त्यहाँ संरचना निर्माणको काम भइरहेको अवस्थामा २०५० सालमा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयले निर्माणको काम रोक्का गरिदिएको थियो । त्यसयता त्यहाँ जग्गा अधिग्रहणको काम रोकिएको छ र अधिग्रहण गरिने जग्गा पनि रोक्का गरिएको छ ।

नागरिकको जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण गर्ने काम पनि पूरा नभएको तर जग्गा रोक्का गरिएका कारण जग्गा धनीले समेत आफ्नो जग्गा भोगचलन गर्न नपाएको भन्दै बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दले सर्वोच्च अदालतथमा रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अधिग्रहणको काम यथाशीघ्र पूरा गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हो ।

अदालतको आदेशमा उल्लेख भए अनुसार अधिग्रहणको प्रक्रिया सुरु भएपछि मुआब्जा वितरण गरिएका जग्गाको स्वामित्व पनि नेपाल सरकारको नाममा आएको छैन । सम्बन्धित जग्गा धनीलाई मुआब्दा वितरण गरिसकिएको तर जग्गा सरकारको नाममा पास नभएको अवस्थामा सो जग्गाको स्वामित्व पनि विवादित छ र यस्तो जग्गा अतिक्रमण हुने जोखिम पनि उत्तिकै छ ।

अदालतले आफ्नो निर्देशनात्मक आदेशमा मन्दिरलाई आवश्यक पर्ने जग्गा कानुनअनुसार अधिग्रहण गरेर मुआब्जा वितरण तथा स्वामित्व हस्तान्तरणको काम पूरा गर्न र मन्दिरलाई आवश्यक नपर्ने जग्गा सम्बन्धित जग्गा धनीलाई नै फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने ठहर गरेको छ । अधिग्रहण प्रक्रियामा थप रकम आवश्यक भएमा सोको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पनि निर्देशन दिइएको छ ।

गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् ।

देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहेको उल्लेख गरे।

प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको जानकारी दिए।

नयाँबसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले पछिल्लो समय नयाँबसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकाले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न सबैलाई आग्रह गरे।

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौं रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए ।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् ।

 जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकता पक्का भएको छ । दुई पार्टीबीच एकीकरणको टुंगो लागिसकेको र बढीमा १० दिनभित्रै यसको औपचारिक घोषणा हुने नाउपाका उपमहासचिव राजन गुरुङले जानकारी दिएका छन् ।

गुरुङका अनुसार एकीकृत पार्टीको अध्यक्ष सीके राउत, सहअध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी रहने भएका छन् । चौधरी अहिले पनि नाउपाको संरक्षक छन् । यस्तै एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राखिने भएको छ। चुनाव चिह्न नाउपाले अहिले प्रयोग गर्दै आएको ‘ढकिया’ रहने भएको छ ।

जनमत पार्टीले अहिले प्रयोग गर्दै आएको चुनाव चिह्न ‘हर्न’ हो । एकीकृत नाम ‘नागरिक जनमत पार्टी’ राख्दा दुवै पार्टीको अहिलेको नामको पनि प्रतिनिधित्व हुने भएकाले यो सहमतिमा पुगिएको हो । ‘हाम्रो पार्टीका अध्यक्ष एकीकृत पार्टी पनि अध्यक्ष हुने सहमति भएकाले हामीले हाम्रो चुनाव चिह्न हर्न छाड्न तयार भएका हौं’, जनमत पार्टीका एक नेताले भने ।

दुवै पार्टीले एकीकरणको ढाँचा तयार गर्न कार्यदल गठन गरेका छन् । नाउपाले बनाएको एकता कार्यदलमा गंगाराम चौधरी, रामलाल थारु र सुनिता चौधरी तथा जनमतले गठन गरेको कार्यदलमा अब्दुल खान, शरत्सिंह यादव र बालगोविन्द चौधरी छन् । दुवै कार्यदलले तीन दिनदेखि एक साताभित्र एकीकरणको रूपरेखा तयार गरी प्रतिवेदन बुझाउने र त्यसलगत्तै एकीकरणको औपचारिक घोषणा हुने कार्यक्रम तय गरिएको गुरुङले बताए ।

सुरुमा अध्यक्ष पद छाड्न रन्जिता तयार थिइनन् । ‘रन्जिता श्रेष्ठ एकीकरणको पक्षमै हुनुहुन्थ्यो तर उहाँले अध्यक्ष पद छाड्न चाहनुभएको थिएन तर संरक्षक रेशम चौधरीलगायत पार्टीभित्रको ठुलो पंक्तिको दबाबले अध्यक्ष पद छाड्न तयार हुनुभएको देखिन्छ’, नाउपाका एक नेताले भने । ती नेताका अनुसार रन्जिताका लागि सहअध्यक्ष पद सिर्जना गरेपछि उनी एकीकरणमा सकारात्मक भएकी हुन् ।

नाउपामा सुरुदेखि नै रेशम र रन्जिताबिच विवाद छ । केही समय पहिले यी दुई नेताबीचको विवाद सतहमै आएर झण्डै पार्टी विभाजनको अवस्थामा पुगेको थियो । प्रतिनिधिसभामा जनमत पार्टीका एक प्रत्यक्ष निर्वाचितसहित ६ जना सदस्य र नाउपाका चार सदस्य छन् । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जनमत राष्ट्रिय पार्टी बनेको हो । नाउपा भने राष्ट्रिय पार्टी बन्न सकेको छैन । जनमत र नाउपाबीच एकीकरणपछि यो तराई÷मधेस केन्द्रित ठूलो दल हुनेछ ।

आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुँदैछ । संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो । बैठक अपराह्न ४ बजे बस्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेण्डा संक्रमणकालीन न्याय भएको बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ । यसअघि संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन भएपनि उक्त कमिटीले सिफारिस नगरी म्याद गुजारेको थियो। पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि नियुक्तिका लागि नाम सिफारिस गर्न सकेको थिएन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ। शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। तर परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलाे भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। मिहिनेतले छोटो समयमै उपलब्धि हातलागी हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। शुभचिन्तकहरू टाढिन सक्छन्। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।