काठमाडौंकै अस्पतालमा ३ जनाले गरे आत्महत्या

0
814

काठमाडौं, २५ चैत्र । एक वर्षमा काठमाडौंका अस्पतालभित्र तीनजनाले आत्महत्या गरिसकेका छन्। चिकित्सकका अनुसार यस्ता घटना काठमाडौंका अस्पतालमा एक वर्षअघिसम्म सुनिँदैन थिए। पारिवारिक झगडा, मानसिक तनाव, आर्थिक अभावजस्ता कारणले अस्पतालमा आत्महत्या गर्ने गरेका छन्। बिहीबार बिहान मात्रै राष्ट्रिय ट्रमा सेन्टरमा एक वृद्धाले आत्महत्या गरेकी छिन्। ६५ वर्षकी जयकला घर्तीमगरले सेन्टरको पाँचौँ तलाको झ्यालमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

पैसा तिर्न नसकेर बिरामीले आत्महत्या गर्ने घटना हुने गरेका भए पनि पछिल्लो समय आर्थिक अभाव र मानसिक तनावकै कारण बिरामीले आत्महत्याको बाटो रोज्ने गरेको चिकित्सकहरू बताउँछन्। बाग्लुङ निसी–१ घर भएकी जयकला मेरुदण्डमा समस्याले हिँड्न नसकेपछि तीन हप्ताअघि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएकी थिइन्। उनको मृत्युको कारणबारे अझै यकिन हुन सकेको छैन। घटनाले आफूहरू स्तब्ध भएको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले बताए। ‘बाहिर देख्दा आर्थिक अभावजस्तो देखिन्छ, तर उहाँहरूले आफू गरिब भएको अस्पताललाई भन्नुभएन,’ डा. उपाध्यायले भने, ‘औषधिहरू किनेर ल्याउँथे, अस्पतालको चार्ज असाध्यै न्यून थियो ।’

बेडमा एक रात बसेको दुई सय रुपैयाँ लाग्छ। ‘जयकलाको अप्रेसन गर्नुपर्ने रोग थिएन,’ डा. उपाध्यायले नयाँ पत्रिकासँग भने, ‘उनको मेरुदण्डको पछाडिपट्टिको भागमा टिबी भएको थियो। स्वास्थ्य उपचार भइरहेको थियो। धेरै ठूलो खर्च लाग्ने अवस्था पनि थिएन। त्यसैले आर्थिक अभावका कारण आत्महत्या गरेको हो भन्ने विषयमा सत्यता छैन।’ बिहीबार मात्रै उनका परिवारले पाँच हजारको औषधि किनेर ल्याएका थिए। उपत्यकाका अस्पतालमा भएका आत्महत्याका घटना गत ३२ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको चौथो तलाबाट हामफालेर एक पुरुषले आत्महत्या गरे । चाबहिलबाट मर्निङवाकमा निक्लिएका ५२ वर्षीय गोपीकृष्ण बस्ताकोटीले अस्पतालमा गएर आत्महत्या गरेका थिए ।

‘अस्पतालसँग क्षतिपूर्ति नमाग्नू, अस्पताललाई दोष नदिनू, यो दोष मेरो हो’, उनले आफ्नो सुसाइड नोटमा लेखेका थिए। बिरामी नभए पनि आत्महत्या गर्नकै लागि उनले अस्पताल रोजेका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौलाको उपचार गराइरहेका दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले गत २१ भदौमा आत्महत्या गरे। अस्पतालको तीन तलामाथिको झ्यालबाट हाम फाल्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो। उनले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम फालेका थिए।