काठमाडौं, ३१ चैत्र । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि आन्दोलन थाल्ने भएको छ । मधेसी मोर्चालाई मनाउन भन्दै सरकारले संसद सचिवालयमा संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गराएपछि मोर्चा झनै असन्तुष्ट बनेको हो ।
यसअघि संसदमा पेश गरिएको चार बुँदै संविधान संशोधन विधेयक फिर्ता लिएर मंगलबार बेलुका ८ बुँदे नयाँ संशोधन दर्ता गरिएको थियो । सीमांकनका विषयलाई आयोगमार्फत टुंग्याउने गरी गरिएको संशोधन अस्वीकार्य हुने भन्दै मोर्चाले हिजो आन्दोलन घोषणा गरेको हो ।
मोर्चाले घोषणा गरेको अन्दोलनअनुसार आज मधेसका जिल्लास्थित सदरमुकाममा प्रदर्शन गर्ने भएका छन् । आफूहरुले राखेको ११ बुँदे माग र मोर्चा सम्बद्ध संघीय गठबन्धनले राखेको २६ बुँदे माग सम्बोधन गर्न दबाब आन्दोलन गर्ने भएको छ । मोर्चाले शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलन हुने जनाएको छ ।
यस्तै, मोर्चाले वैशाख ३ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने पनि जनाएको छ । संसदमा यसअघि पेश गरिएको संशोधन विधेयक परिमार्जनसहित पारित गरिनुपर्ने माग गर्दै आएको मोर्चाले प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन दर्ता गएपछि आगामी स्थानीय तहको निर्वाचन नै बहिष्कार गर्ने औपचारिक निर्णय गरेको छ । मोर्चाको बैठकमा रामसपाका अध्यक्ष शरदसिंह भण्डारीबाहेक ६ वटै दलका अध्यक्ष सहभागी हुनुहुन्थ्यो ।
मोर्चाको बैठकलगत्तै मोर्चासहितको संघीय गठबन्धनले पनि संशोधन विधेयक अस्वीकार गरेको छ ।