२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सदस्य राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न भनेर मिडिया र सामाजिक सञ्जालमा आएका समाचार र सामग्रीप्रति आपत्ति जनाएको छ ।

केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले विज्ञप्ति जारी गर्दै नाम प्रस्तुत भएका खोटाङका कांग्रेसका पूर्वनेता रहेका डा. राजकुमार राई, भगवती रोकालगायतका व्यक्ति विगत करिब ३ महिना अगाडि देखि नै पार्टीबाट अलग भएको स्वघोषणा गरेका बताएका बताएका छन् ।

उनीहरू हाल रास्वपाको कुनै जिम्मेवारीमा नरहेको रास्वपाको प्रष्टीकरण छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उनीहरू रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ ।’

कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानूनको दायरामा आउनुपर्ने र पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानूनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासले कुलमानको रिटमा बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै सरकारले कुलमान हटाएर प्राधिकरणको कार्यकरी निर्देशकमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई काम गर्न बाटो फुकेको छ । अब सर्वोच्चले अन्तिम फैसलामा अन्यथा आदेश गरेमा मात्र हितेन्द्रको पद धरापमा पर्नेछ । इजलासले रिटलाई अग्राधिकार प्रदान गरेको छ ।

सर्वोच्च अदालतको विहीबारको आदेशपछि हितेन्द्रमान शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तर काम गर्न पाउनेछन् । लगातार तीन दिनको सुनुवाईपछि सर्वोच्च अदालतले कुलमान र हितेन्द्रको रिट निवेदनमाथि प्रारम्भिक आदेश गरेको हो । सर्वोच्चको आदेशसँगै पदमुक्त भएका पाँच महिनाको कार्यकाल बाँकी रहेको कार्यकारी घिसिङको रिट निवेदनमाथि अब पूर्ण सुनुवाइ हुनेछ । गत साता सरकारले विभिन्न आरोप लगाउँदै घिसिङलाई पदमुक्त गरेर शाक्यलाई नियुक्त गरेको थियो ।

समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् ।

मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले मोर्चा घोषणा गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न/गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिबद्धताहरू रहेका छन् ।

घोषणा कार्याक्रममा वितरण गरिएको विज्ञप्तिमा राजस्व तथा स्रोतसाधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवा–सुविधानहरू जनतामा पुर्‍याउन प्रदेशलाई सक्षम बनाई स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई समृद्ध पार्ने प्रतिबद्धताहरू पनि उल्लेख गरिएको छ ।

मोर्चाले विगतमा नेपाल सरकार र आन्दोलनकारी शक्तिहरूबीच गरिएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौतका साथै अन्य राजनीतिक दल/संगठन र सरकारबीच गरिएका सहमति तत्काल कार्यान्वयन गराउने उद्देश्य राखेको छ ।

मोर्चाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, जनआन्दोलन, मधेश जनविद्रोह र आन्दोलन, थरुहट, लिम्बुवानलगायत विभिन्न आन्दोलनमा पक्राउ गरी राज्यले मुद्दा लगाएका बन्दीहरूलाई रिहाइको माग गरेको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज (बिहीबार) तनाव भयो । सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई प्रवेशमा रोक्न खोजिँदा जनप्रतिनिधि–कर्मचारी एकतिर र महानगर प्रहरी अर्कोतिर ठेलमठेलको अवस्था सिर्जना भयो ।

अधिकृत गुरागाईलाई महानगर प्रवेश गराएर हाजिर गराउने कामको नेतृत्व उपप्रमुख सुनिता डंगोलले गरिन् । अन्ततः उनी कार्यकक्ष छिरेर हाजिर गरे । यसबेला प्रमुख बालेन शाह भने काभ्रे जिल्लाको पाँचखाल पुगेका थिए । त्यस बखत उनी पाँचखाल केराबारी ३० किलोको एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टर पुगेर लस्सी पिउँदै थिए । कफी एन्ड लस्सी सेन्टरका सञ्चालक कविन्द्र तिमिल्सिनाले नागरिकलाई बताए अनुसार बालेन आफ्ना केही सहयोगीहरूका साथ बिहान त्यहाँ पुगेका थिए । उनले त्यहाँ लस्सी पिएर बाहिरिएका थिए ।

‘ठ्याक्कै घडी त हेरिएन तर, उहाँ बिहान १०–११ बजेतिर होला आउनु भएको थियो होला । लस्सी लिएर उहाँहरू जानु भयो,’ सञ्चालक तिमिल्सिनाले भने । ठीक त्यही बेला यता महानगर परिसरमा भने जनप्रतिनिधि र कर्मचारी र महानगर प्रहरीबीच धकेलाधकेल चल्दै थियो । बालेन बुधबार (हिजो) नै काभ्रेतर्फ लागेको बताइएको छ । उसो त उनले ठीक एक हप्ता अगाडि आफ्ना कर्मचारीले तलब खान नपाए सबैलाई ‘टुकुचामा गाड्ने’ चेतावनीपूर्ण स्टाटस फेसबुकमा लेखेका थिए । तर, एक हप्ता पुगेकै दिन उनी काभ्रेका लागि निस्किएका हुन् ।

उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृतलाई भित्र्याएपछि महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय रुष्ट देखिएको छ ।

सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत कारबाही हुने चेतावनी दिएकोे छ ।

‘भोली गुरागाईमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने आज गुरागाईंलाई स्वागत गर्न जो जो कर्मचारीहरु अघि सरेका छ्न उनीहरुलाई पनि गुरागाईलाई जतिकै कारबाही हुन्छ, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुई तिहाईको दम्भ हो,’ मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले भने, ‘हाम्रो माग भ्रष्टारचारमा संलग्न भएको व्यक्ति आउनु हुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई बिहीबार हाजिर हुन भनेको थियो । सोहि अनुसार उनी हाजिर हुन महानगर आइपुगेका थिए । उनलाई रोक्न नगर प्रहरी तैनाथ थिए । तर कर्मचारी, उपप्रमुख र वडाध्यक्षहरुले नगर प्रहरीको अवरोध तोड्दै गुरागार्इंलाई कार्यकक्षमा प्रवेश गराए ।

गुरागाईंको कार्यकक्षमा ताला लगाइएको भएपनि कर्मचारीहरुले ताला फुटाएर प्रवेश गरेका थिए । उगुरागाईले विद्युतीय र ढड्डामा हाजिर गरेर तीन बजे फर्किए ।

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से २.८१ अंकले बढेर २७०२.८६ विन्दुमा पुगेको छ । 

आज नेप्से झिनो अंकले बढ्दा करिब ८ अर्ब रुपैयाँको कारोबार भएको छ । 

आज दिनभरमा ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर कारोबार भएको छ । 

आज ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन । 

आज दिनभरमा ३२४ वटा कम्पनीको शेयर ६९ हजार ८९ पटक किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने बाँकी १० समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह १.२९ प्रतिशतले बढेर २४६८.५७ विन्दुमा पुगेको छ । 

 त्यस्तै वाणिज्य बैंक समूह १.१० प्रतिशतले बढेर १२७९.३४ विन्दुमा र निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले बढेर १२ हजार ३४९.१५ विन्दुमा पुगेको छ । 

 आज सबैभन्दा बढी ट्रेडिङ समूह १.९६ प्रतिशतले घटेर ४७८१.७९ विन्दुमा पुगेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह ०.२६ अंकले घटेर ६४४२३.२३ विन्दुमा पुगेको छ । 

 साथै, विकास बैंक समूह ०.२२ प्रतिशतले, फाइनान्स १.५७ प्रतिशतले, होटल तथा पर्यटन ०.१९ प्रतिशतले, लगानी ०.०५ प्रतिशतले, जीवन बीमा ०.७७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८७ प्रतिशतले, लघुवित्त ०.३७ प्रतिशतले र म्युचुअल फण्ड समूह ०.११ प्रतिशतले घटेको छ ।

सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।

हिजो बुधवार विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको अगुवाइमा र्‍याली निकालिएको थियो । उक्त र्यालीमा देशभरका ५० हजारभन्दा बढी शिक्षकहरू सहभागी थिए ।

हेर्नुहोस् शिक्षा मन्त्रालयको विज्ञप्ति 

काठमाडौं महानगरपालिकाका कर्मचारीहरू आन्दोलित बनेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई हाजिर गर्न दिनुपर्ने माग गर्दै उनीहरू आन्दोलित बनेका हुन्। महानगरले भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई रोक्न उनको कक्षमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ।

गुरागाई निलम्बनमा छन्। पुरानो बसपार्कमा काठमाडौं टावरको नक्सा नियमविरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई महानगरले जिम्मेवारीबाट हटाएको थियो।

उनलाई निलम्बन गरेपछि महानगरले आफूलाई नयाँ प्रशासकीय अधिकृत दिन बारम्बार संघीय सरकारसँग माग गर्दै आएको छ। महानगरका मेयर बालेन शाहले नयाँ प्रशासकीय अधिकृत चाहियो भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएका छन्।

आन्दोलित कर्मचारीले भने बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेको भरमा महानगर नचल्ने चेतावनी दिएका छन्। महानगरका कर्मचारी नरबहादुर साउदले मेयर शाह कर्मचारीका समस्या समाधान गर्नु्को सट्टा सामाजिक सञ्जालमा स्टाटस लेख्दै हिँडेको आरोप लगाए। उनले भने,’मेयरसावले स्टाटस लेख्दैमा महानगर चल्दैन। समस्या समाधानतिर लाग्नुहोस्।’

कर्मचारीहरूले कार्यपालिकाका वडा अध्यक्ष, सदस्य र उपमेयर आफ्नो पक्षमा रहेको दावी गरेका छन्। उनीहरूले प्रशासकीय अधिकृतलाई आजै हाजिर गराए रोकिएको सबै तलब निकासा हुने उल्लेख गरे। लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिनु आफूहरूको बाध्यता रहेको उनीहरूको भनाइ छ।

प्रशासकीय अधिकृत निलम्बनमा परेपछि महानगरको काम कारवाही ठप्प भएको छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार २ सयले बढेर १ लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो ।

उनीमाथि मदिरा खाएर मङ्गलबार कार्यालयमा नगर प्रमुख छविलाल थारु र उपप्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । नगर प्रमुख छविलाल थारुसहितको टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई अभद्र व्यवहारको मुद्दा गर्दा गर्न आवेदन दिएको कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले बताए ।

त्यधिक मदिरा सेवन गरेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले उपप्रमुख रत्नकुमारी पाण्डेलाई उपप्रमुखकै कार्यकक्षमा पुगेर गाली गर्दै हातपातको प्रयास गरेपछि इलाका प्रहरी कार्यालयले मंगलबार नै पक्राउ गरेर साँझ ‘जिम्मा जमानत’ मा छाडेको थियो । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दै मुद्दा दायर गरिएको बारबर्दिया नगर प्रमुख थारुले बताए। आचार्यले भने पावर टेलर खरिदमा नगर प्रमुखले पाँच लाख कमिसन नपाएको झोकमा प्रहरी बोलाएको आरोप लगाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।