पहिलो किस्ता लिने ५ लाखले घर बनाएनन्

0
427

काठमाडौं, २ बैशाख । भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका करिब ५ लाख ४५ हजार भूकम्पपीडितमध्ये अनुदान पाएर पनि पाँच लाखले घर बनाउन नै थालेका छैनन्। सरकारले निजी आवास निर्माणका लागि पहिलो किस्ताको रकम वितरण गरे पनि ४५ हजारले मात्र घर बनाउन सुरु गरेका छन्। बाँकी पाँच लाख लाभग्राहीले किन घर बनाउन नथालेका हुन् भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ।

सरकारी अनुदानबाट घर बनाउन सुरु गरेका ३१ हजार चार सय लाभग्राहीले दोस्रो किस्ताको रकमका लागि आवेदन दिए पनि ११ हजार ६ सय १३ घरमात्र सिफारिसमा परेका छन्। तीन हजार २ सय १ घर सरकारले तोकिदिएको मापदण्ड पूरा नभएकाले दोस्रो किस्ताका लागि सिफारिसमा पर्न नसकेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले जनाएको छ। यस्तै दोस्रो किस्ता पनि खर्चेर तेस्रो किस्ताका लागि आवेदन दिएका एक हजार ५ सय ८९ लाभग्राहीमध्ये पनि ३९ जनाको निवेदन सिफारिस हुन सकेको छैन।

कतिपय स्थानमा सरकारले खटाएको इन्जिनियर वा प्राविधिक समयमा नै नपुगेर सरसल्लाह दिन नसक्नु र गाउँमा उपलब्ध तालिम कम भएका डकर्मीको भनाइमा लागेर घर बनाउँदा पनि मापदण्ड पूरा हुन नसकेको एकाइका निर्देशक तपेन्द्रबहादुर खड्काले बताए। घर बनाउन थालिसकेका तर मापदण्ड पूरा गर्न नसकेका लाभग्राहीले बाँकी किस्ता कसरी पाउन सक्छन् भन्ने विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा छलफल भइरहेको खड्काले बताए। घर निर्माण अनुगमन निर्दे्शिका कडा भयो कि भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए।